लेबनानमा इसराइली आक्रमणमा परी हमासका सिनियर कमाण्डरमध्येका एक जना मारिएका छन्।
समाचार संस्था सिएनएनका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भूभागमा इसराइलले गरेको ड्रोन हमलामा हमासका राजनीतिक ब्युरोका उपप्रमुख तथा कमाण्डर सलेह अल अरूरी मारिएका हुन्।
हमासले आफ्नो मिडिया अल-अक्सा टेलिभिजनमार्फत अरूरी मारिएको पुष्टि गरेको छ। यसमा इसराइली अधिकारीहरूले भने अहिलेसम्म कुनै टिप्पणी नगरेको सिएनएनले उल्लेख गरेको छ।
५७ वर्षीय अरूरी हमासको सैनिक विङ्ग इज एड-डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन्। अक्टोबरमा इसराइलले वेस्ट ब्यांकस्थित अरूरीको निवास ध्वस्त गरेको थियो।
अक्टोबरको इसराइल आक्रमण अघि नै इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अरूरीलाई मार्ने धम्की दिएको समाचार संस्था एशोशियट प्रेसले उल्लेख गरेको छ।
अमेरिकाले सन् २०१५ मा अरोरीलाई विश्वकै आतंककारी घोषणा गर्दै उनको बारेमा जानकारी दिनेलाई ५ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको थियो।
अरूरी मारिएपछि संयुक्त राष्ट्रसंघका लागि इसराइलका पूर्व राजदूत ड्यानी डेननले इसराइललाई बधाई दिँदै त्यहाँको सैनिक र गुप्तचर विभागको प्रशंसा गरेका छन्।
लेबनानमा इसराइली आक्रमण र अरूरीको हत्याबारे लेबनानका प्रधानमन्त्री नाजिक मिकटीले कडा निन्दा गरेका छन्। उनले लेबनानमा आक्रमण गरी इसराइलले नयाँ चरणको द्वन्द्वको सुरूवात गरेको बताएका छन्।