हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इसराइली सेना बुधबार गजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
इसराइली र प्यालेस्टिनी अधिकारीहरूले गजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्। इसराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारवाही गरिरहेको बताएको छ ।
अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्याङ्क तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौं सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् ।
अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इसराइलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ।
स्थानीय अधिकारीहरूका अनुसार हजारौं बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन्।
प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन्। एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन्। अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन।’
कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इसराइलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ। सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ।
प्यालेस्टिनी लडाकू समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–शिफा अस्पतालमा इसराइली आक्रमणका लागि ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ। गजामा कुनै अधिकार नभएको तर ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ।