नेपाली चेली आरती प्रधान काफ्लेको फेशन डिजाइनिङ युरोपमा उत्कृष्ट बनेको छ।
बेल्जियममा भएको मिस ग्राण्ड शोको फिनालेमा आरतीले सबै प्रतिष्पर्धीका लागि पोशाक डिजाइन गरेकी थिइन्। विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिएको यस प्रतियोगिताको बेल्जियम संस्करणमा आरतीले तयार पारेका पोशाक निकै आकर्षक बनेपछि अहिले उनको निकै चर्चा चुलिएको छ।
करिब तीस वर्षदेखि युरोपमा बस्दै आएकी आरतीको फेशन डिजाइनिङको सुरूवात नेपाल रहँदादेखिनै गरेकी हुन्।
युरोप पुगेपछि भने यसलाई निरन्तरता दिन सकेकी थिइनन्। दुई वर्ष अगाडि बेल्जियमकै अन्तोर्पेन शहरमा भएको इनास युरोपको युरोप महादेशस्तरीय प्रतियोगिताबाट उनले आफ्नो शिल्पी क्षमतालाई पून: निरन्तरता दिइन्।
नेपाली ढाका मिश्रित आकर्षक पोशाकमा कलाकारले स्टेज वाल्क गरेपछि निकै प्रशंसा पाएकी उनी यति बेला युरोपभरिनै चर्चाको शिखरमा पुगेकी छिन्।
यस प्रतियोगितामा आरतीले डिजाइन गरेका पोशाकसहित प्रतिष्पर्धामा उत्रिएकी तिबेतियन मूलकी २० वर्षीय जोम्की तेन्जिनले मिस ग्राण्ड इन्टरनेशनल बेल्जियमको उपाधि जित्न सफल भएकी छिन्।