देश तथा विदेशका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने उद्धेश्यका साथ जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली समाजको गठन भएको छ।
बुधबार भएको भर्चुअल कार्यक्रममार्फत विगत ८ वर्षदेखि जर्मनीमा बस्दै आएका सुमन बस्नेतको नेतृत्वमा जर्मनीको राष्ट्रिय कार्यसमिति गठन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा विनोद ढकाल र उपाध्यक्षमा मुना कार्की र राधा गौतम चयन भए।
त्यसैगरी महासचिवमा विकास सुवेदी, सचिवमा प्रदीप परियार र अमृत लामिछाने चयन भएका छन्।
यस्तै समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह-कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन भने सदस्यमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरूङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी, कमल अधिकारी, मुना पौडेल, उज्वल भण्डारी, कृष्ण ओली, सुवास पौडेल र सञ्जु तामाङ छन्।
त्यसैगरी नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकार चयन गरेको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उद्धेश्य तथा औचित्यबारे प्रस्ट्याउँदै सबैसँग सहकार्य गरि संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए।
त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहीँबाट योगदान गरौं भन्दै समाजले सही बाटो समातेर अघि बढेकोमा खुसी ब्यक्त गरिन्।
कार्यक्रमका विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) ले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रमा नेतृत्व आफैं 'रोल मोडल' भएर उत्रदा मात्र अपेक्षित नजिता हाँशिल हुने बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष हरि न्यौपानेले अन्तर्राष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफूले सक्दो सहयोग गर्ने बताए।
कार्यक्रममा विभिन्न देश तथा पेसामा जोडिएरका, प्रा.डा. टंकनाथ शर्मा (पूर्व डिन काठमाडौं विश्वविद्यालय ), करूणा तुलाधार राई (संयोजक, गैरआवसीय नेपाली महिला फोरम ,जर्मनी) डा. नारायण गैरे, डा. पुष्पा शर्मा घिमिर, विक्रम श्री, गोवर्धन पूजा, डा.भुपाल पाण्डेलगायतले संसारभरबाट नेपाली युवाहरु जोडिएर नेपाल र नेपालीको हित र विकासमा काम गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए।
नवगठित समितिका अध्यक्ष सुमन बस्नेत, उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार ग्रहण पश्चात बोल्दै पूर्ण सेवाभावका साथ सामाजिक संस्थाको मूल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागिपर्ने प्रतिबद्धता जाहेर गरे। साथै स्पष्टता, ईमानदारिता, नैतिकता, पारदर्शिकता, गैर राजनीतिकताजस्ता विषयमा पूर्ण रूपले जोड दिँदै संस्थाका सम्पूर्ण सदस्यले यी कुराको आत्मसाथ गर्न अध्यक्ष सुमन बस्नेतले अनुरोध गरे।
कार्यक्रममा जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायललगायत विभिन्न देशबाट बाक्लो उपस्थिति थियो।