ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुन डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ।
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिता आयोजनाको तयारी र प्रतियोगीको सुझाव दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो।
‘ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको हो। साथै प्रतियोगिताका विजेताले प्राप्त गर्ने पुरस्कार रकम पनि वृद्धि गरिएको छ,’ रेग्मीले भने।
ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार रकम बढाएर ७ लाख रूपैयाँ तय गरिएको रेग्मीले बताए। यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र प्रथम पुरस्कार दुई लाख रूपैयाँ तोकिएको थियो।
त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रूपैयाँ, तेस्रो पुरस्कार दुई लाख रूपैयाँ, चौथो पुरस्कार एक लाख रूपैयाँ र पाँचौं पुरस्कार ५० हजार रूपैयाँ तोकिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ।
मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ। ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ। ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए।
ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिद्वारा गर्न लागिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुन इच्छुक प्रतियोगीले भिडियो पठाइरहेका छन्।
‘प्रतियोगितामा विश्वभरिबाट सहभागी गराउन समयावधि बढाउनु पर्ने अनुरोध आयो। सोही सुझावअनुसार समयावधिसहित कार्यक्रमको गरिमालाई थप वृद्धि गर्न मिति परिवर्तनसहित पुरस्कार रकम बढाइएको हो,’ रेग्मीले भने।
विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङ व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए।
गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले प्रवासमा रहेका नेपालीको उत्साहजनक सहभागिताका लागि समय थप गरिएको उल्लेख गरे।
गुरुङले प्रतियोगीहरूलाई थप गरिएको समयलाई अभ्यास गर्ने अवसरका रूपमा प्रयोग गरी तयारी तीव्र पार्न अनुरोध पनि गरेका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष एवं ग्लोबल सिंगिङ आइडलका प्रमुख सल्लाहकार कुमार पन्तले प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुन सक्ने विश्वास व्यक्त गरेका छन्।