नेपालको वेसबल खेल विकास गर्न २० वर्षदेखि सहयोग गर्दै आएको जापानी संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन्।
जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो। यसअघि क्लवका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन्।
यस्तै, क्लबको साधारणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ।
नेपालको तर्फबाट सञ्चालक समितिमा रहेकामा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल, जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल हुन्। थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन् भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन्। क्लबको सल्लाकारमा २० वर्ष देखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन्।
२१ वर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए। हाल संस्थाले जापानमा बसी नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउँदै आएको छ भने संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालिम उपलब्ध गराउन सहयोग गर्दै आएको छ।