जापानको टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल २०२४ को तयारी पूरा भएको छ।
एनआरएनए जापानले आइतबार पत्रकार सम्मेलन गरेर फेस्टिबलको सबै तयारी सकिएको जानकारी दिएको हो।
नेपाली कला र संस्कृति झल्काउनका लागि फेस्टिबल आयोजना गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिबलमार्फत् नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिबल हुन लागेको छ।
गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिबल हुन लागेको हो।
यस पटकको फेस्टिबल ऐतिहासिक हुने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले दाबी गरे।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य भइरहेको प्रवक्ता खगराज गौतम बताए।
स्टलहरूलाई व्यवस्थित,छरितो र व्यवसायीमैत्री बनाउन यस पटक रेष्टुरेन्ट अर्थात् फुड स्टल प्रयोजनका लागि ३४ भन्दा बढी स्टल रहने स्टल ब्यवस्थापन समितिका संयोजक सचिन श्रेष्ठले जानकारी दिए।