जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दूतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिभल- २०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए।
नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रितिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस नामक बहुसांस्कृतिक केन्द्र निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले विगतदेखि गरिँदै आएको नेपाल फेस्टिभल यस वर्ष पनि गरिन लागेको अध्यक्ष निउरेको भनाइ छ।
‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरूको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रूपमा हुनेछ भन्ने विश्वास हामीले लिएका छौं,’ अध्यक्ष निउरेले भने, ‘यस वर्षको नेपाल फेस्टिभललाई मिनी नेपालका रूपमा परिचित गराउने गरी महोत्सव हुनेछ।’
विगतका नेपाल फेस्टिभल भन्दा केही फरक र नयाँपन दिने गरी १४ औं नेपाल फेस्टिभल- २०२४ को तयारीमा जुटेको १४ औं नेपाल फेस्टिभल- २०२४ का उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले बताए।
‘पूर्व-मेचीदेखि पश्चिम महाकालीमा रहेका कुमारी, भाक्पा, कौरा, तामाङ सेलो, थारू लगायतका हाम्रा साँस्कृतिक नाचहरू मञ्चबाट प्रस्तुत गर्ने नेपाली कला संस्कृति, वेशभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउने गरी तयारी थालेका छौं,’ उपसंयोजक लामिछानेले भने, ‘यो फेस्टिभलमा साँच्चिकै नेपालको हरेक मौलिक संस्कृतिलाई विश्वसमक्ष पुर्याएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न फलदायी हुनेछ।’