लन्डन नजिकै केम्प्टन पार्कमा आइतबार १६ औं नेपाली मेला भव्य रूपमा मनाइएको छ।
तमु धिं युकेद्वारा आयोजित मेलामा समग्र नेपालकै झल्को दिने गरी नेपाली मेलाको आयोजना गरिएको छ।
मेलामा झन्डै १३ हजार भन्दा बढी गोर्खाज तथा नेपाली समुदायका सदस्यहरू सहभागी भएको अनुमान गरिएको छ।
अहिलेसम्मकै सबभन्दा ठूलो मानिएको उक्त मेलामा ४२ वटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० वटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।
नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न साँस्कृतिक झाँकीहरू, नौमती बाजा लगायतका नाचगान, नेपाली खानाका परिकारहरू साथै नेपालका कलात्मक नेपाली सामानहरूको प्रदर्शनी र बिक्री वितरणमा झुमेका नेपालीहरूले मेलाले नेपालकै झल्को मेटाएको प्रतिक्रिया दिएका छन्।
मेलामा तमुहरूको ट्होटे, नेवार जातिको सापारु (गाईजात्रा) अनि खिं, धिमे र धाः बाजामा घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच), लिम्बूहरूको हाक्पारे, धान नाच र च्याब्रुङदेखि किरात राईहरूको साकेला प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो। डोको, नाम्लो, स्याखु, हलो जुवा, सोली बोकेर आएका मगर जातिले कौरा, सारंगा, थाली, टप्पा र मारूनी नाचहरू प्रस्तुत गरेका थिए।
पासा पुचः गुथिले मौलिक धिमे नाचको उत्कृष्ट प्रस्तुति देखाएको थियो।
विगतका वर्षहरू जस्तै अत्यन्तै व्यवस्थित ढंगले आयोजित मेलाको उद्घाटन तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरूले मैनबत्ती बालेर संयुक्त रूपमा गरेका थिए।