अमेरिकाको दुई साता लामो भ्रमण सकेर बेलायत आइपुगेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राम्रो राजनीतिक नेतृत्व जन्माउन उज्यालो नेपाल अभियान सुरू गरेको जनाएका छन्।
तमु धिं युकेद्वारा सोमबार बेलुका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा समृद्धिको खाका कोर्न, प्रवासमा रहेका नेपालीहरूको समस्या सम्बोधन गर्न र नेपालमा राम्रो 'पोलिटिकल लिडरसिप टिम' जन्माउन यो अभियान सुरू गरिएको बताए।
चार महिना कार्यकाल बाँकी छँदै कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएर सरकारले बर्खास्त गरे पनि देशविदेशबाट पाएको सम्मान, माया र सद्भाव नै आफ्नो सम्पत्ति भएको बताए।
उनले अहिले उज्यालो नेपाल अभियान लिएर प्रवासमा रहेका नेपालीलाई पनि जोड्न भ्रमणमा निस्किएको बताए।
घिसिङले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको उल्लेख गरे।
कार्यकारी निर्देशकको रूपमा आफ्नो झन्डै आठ वर्ष लामो कार्यकालमा लोडसेडिङ अन्त्यका साथै झन्डै शतप्रतिशत जनतामा बत्तीको पहुँच पुग्नु ठूलो उपलिब्ध ठानेको उनले बताए।
राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर पनि नतिजा दिन सकिएको उनले बताए।
बेलायतमा पनि व्यस्तता
बेलायतमा एनआरएनए युकेका दुवै समूहले घिसिङसँग छुट्टाछुट्टै अन्तर्क्रिया गर्न लागेका छन्।
प्रेम गाहा मगरले नेतृत्व गरेको एनआरएनए युकेले उनीसँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रम राख्नुका साथै नागरिक अभिनन्दन पनि गर्न लागेको छ।
उनी २४ अगष्टमा तमु धिं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रूपमा सहभागी हुनेछन्।
त्यस्तै उनले स्कटल्याण्डको भ्रमण गर्नुका साथै विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
उनले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।
उनलाई सोमबार हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
युरोप र अमेरिकाको झन्डै एक महिना लामो भ्रमण पछि उनी अगष्ट महिनाको अन्तिम साता नेपाल फर्कने छन्।