यतिबेला नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया पहिलो नम्बरमा रहेको छ। अध्ययनका लागि अन्य देशको तुलनामा पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली विद्यार्थी पढ्नको लागि अस्ट्रेलिया आएको सरकारी तथ्यांकले प्रष्ट पारेको छ।
कंगारुको देश अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा परे पनि यहाँका केही तीता/मीठा सत्यका बारेमा उनीहरूले जान्नैपर्ने हुन्छ।
व्यावसायिक विषयको रोजाइ र पढाइ अनि मिहिनेत गरे आर्थिक रूपमा पनि व्यवस्थापन गर्न सकिने कारण पनि अस्ट्रेलिया धेरैको रोजाइमा परेको हो। केही वर्ष अघिसम्म अमेरिका र बेलायत अध्ययनको आकर्षण हुने गरेता पनि पछिल्लो समय विद्यार्थीको लक्ष्य फेरिएको देखिन्छ, जुन कुरा शिक्षा मन्त्रालयको पछिल्लो आकँडाले देखाएको छ।
अधिकांश नेपाली विद्यार्थीहरू अस्ट्रेलिया गएर अध्ययन गर्ने र भविष्य निर्माण गर्ने सोचमा अगाडि बढेका देखिन्छन्। यतिखेर अस्ट्रेलियामा करिब २० हजार नेपाली यहाँका विभिन्न कलेज, प्राविधिक शिक्षालय र विश्वविद्यालयमा अध्ययन गरिरहेको संख्याले पनि यहाँको लोकप्रियताको मापन सहजै गर्न सकिन्छ।
पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अस्ट्रेलियातर्फ मोडिएको हो भन्ने तर्क गर्छन् शिक्षाका जानकारहरू।
विदेश पढ्न जानेको लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिनेमध्ये झण्डै आधाभन्दा बढीले अस्ट्रेलियाका लागि मात्र रहेका छन्। अस्ट्रेलियामा राम्रा विश्वविद्यालय मात्र हैन टेफजस्ता उपयोगी प्राविधिक शिक्षालयसँगै निजी कलेजहरूको पनि बिगबिगी छन्।
बेलायतमा यस्तै निजी कलेजहरूको बिगबिगीका कारण शैक्षिक बजारनै उथुलुपुथुल भएपछि सरकारले प्रतिबन्ध समेत लाउनु परेको थियो। यहाँ पढ्न आउँदा कस्तो शैक्षिक संस्था रोज्ने अनि कस्तो खोज्ने भन्ने विषय भने आउने विद्यार्थी र पठाउने अभिभावकहरूकै हातमा रहेको छ।
अस्ट्रेलियाका विश्वविद्यालयका विभिन्न संगठन रहेका छन्। आफू जाने विश्वविद्यालय कुन नेटवर्कसँग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको कार्य र उद्देश्यको बारेमा जान्न सकिन्छ। ग्रुप अफ एट, द अस्ट्रेलियन टेक्नोलोजी अफ युनिभर्सिटिज, द रिजनल युनिभर्सिटिज नेटवर्क र द इनोभेटिभ रिसर्च युनिभर्सिटिज नेटवर्क अस्ट्रेलियामा रहेका विश्वविद्यालयका नेटवर्क हुन्।
विश्वविद्यालयमा व्यवसायिक दक्षताको लागि दिइने सीप र ज्ञान, अध्यापनका बारेमा पर्याप्त जानकारी लिनुपर्छ । त्यस्तै, विश्वविद्यालयले दिने छात्रवृत्ति र सेवा सुविधाका बारेमा विद्यार्थी जानकार हुनुपर्दछ।
विश्वविद्यालय र यीसँग आबद्ध उच्च शिक्षाका निकायसँगै यतिखेर अस्ट्रेलियाको उदाउँदा व्यवसाय बनेको निजी कलेजका विषयमा पनि यहाँ आउने विद्यार्थीले बुझ्न जरुरी छ। अस्ट्रेलिया सरकारले कडाइ गर्दै जाँदा नेपालबाट राम्रो डिभिजनमा प्लस टु सकेर आउने विद्यार्थीले आफ्नो भविष्यको बारेमा निर्णय लिँदा कस्तो शिक्षा उपयुक्त हुन्छ त्यो सबैभन्दा महत्वपूर्ण विषय बन्न जान्छ।
पछिल्ला दिनहरूमा अधिकांश विद्यार्थीहरू सूचना प्रविधि, नर्सिङ, इञ्जिनियरिङ, स्वास्थ्य विज्ञान, एमबिए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अस्ट्रेलिया आउने गरेको देखिन्छ।
विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुने गर्छ।
आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रष्ट हुन जरुरी छ। यहाँका कतिपय ब्याचलर डिग्री पढाउने कलेजहरूको सर्टिफिकेट नेपालमा समेत मान्यता नपाएको देखिएको छ । डिप्लोमा, एडभान्स डिप्लोमाजस्ता भोकेसनल कोर्सहरू आधारभूत ज्ञानका रूपमा मात्र प्रचलित छन् भने यस्ता भोकसनल कोर्सहरू अस्ट्रेलियामा मात्र उपयोगी मानिन्छन्।
विद्यार्थी भिसामा अस्ट्रेलिया जान चाहनेले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ। कक्षा ११ र १२ को मिलाएर कुल अंक ६० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले भिसाका लागि सहजै आवेदन दिन सक्छन्। यसका साथै कक्षा दसको परीक्षाफल पनि समावेश गर्नुपर्छ। शैक्षिक योग्यतासँगै आइएलटिएसमा ६ अंक ल्याउने विद्यार्थीका लागि प्रकृया सहज हुने गर्दछ।
शैक्षिक योग्यता पुगेपछि परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तीय मूल्यांकन सबै गरेर ४० लाख बराबरको सम्पत्ति देखाएपछि भिसा प्रकृया अगाडि बढ्छ।
कलेजमा कागजात पेश गर्दा एक वर्षको पढाइ शुल्क, स्वास्थ्य बीमा, एक वर्षको बसाइ खर्च, आउ–जाउका लागि हवाइ टिकट बराबरको रकम प्रमाणित गरेपछि भिसा पाइन सक्छ।
नेपालबाट पठाएको डकुमेन्ट बमोजिम कलेजले ६ महिना वा एक वर्षसम्मका शुल्क तिर्नका लागि प्रस्ताव गरेपछि सिओइ पत्र दिन्छ। यी सबै कागजातलाई विद्यार्थीले दिल्लीस्थित अस्ट्रेलियन दूतावासको हाइकमिशनमा पठाउनुपर्छ। यिनै कागजातका आधारमा भिसा अधिकारीले परीक्षण गरेपछि पन्ध्रदेखि तीस दिनभित्र भिसा प्राप्त गर्न सकिन्छ।
अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले ‘क’ वर्गको इजाजतप्राप्त सबै कमर्सियल बैंकबाट बैंकिङ डकुमेन्टेसन गर्न पाउने भएका छन्। अस्ट्रेलिया सरकारले आफ्नो भूमिमा पढ्न आउने विदेशी विद्यार्थीका लागि यस्तो नीति बनाएको हो। अस्ट्रेलियन हाइकमिशनले नेपाल राष्ट्र बैंकको नियन्त्रण र अनुगमनमा रहेका ‘क’ वर्गका सबै बैंकलाई मान्यता दिएको हो।
अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये करिब २५ प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ।
‘डिपेन्डेन्ट भिसा’ अर्थात् अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन्। अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधाका रूपमा यो भिसालाई लिइन्छ।
एक वर्षभन्दा बढी समयका शैक्षिक योग्यताका कोर्सहरू, ब्याचलर डिग्री, मास्टर्स, मास्टर्स रिसर्च , पिएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन्।
‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा बस्न नपरोस् भनेर दिइएको सहुलियत पनि हो। अर्कोतिर एक जनाको पढाइका निम्ति आर्थिक रूपमा अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो।
यस भिसाका लागि केही कानुनी प्रक्रियाहरू आवश्यक रहन्छन्। जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सिडी, भिसिडी, फोटो आदि पर्छन्। त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक छन्। यी सबै प्रमाण पुगेपछि कम्तीमा दुइ महिनादेखि तीन महिनाभित्र यस्तो भिसा प्राप्त गर्न सकिन्छ।
मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया रहेका परिवारका सदस्यले फुलटाइम काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउने कानुनी प्रावधान रहेको छ।
अस्ट्रेलियामा विद्यार्थीले भने सातामा २० घन्टा काम गर्न पाउँछन्। छुट्टीको समयमा भने पूरा समय काम गर्न पाउँछन्। श्रम कानुनअनुसार प्रत्येक कामदारले अस्ट्रेलियन कम्तीमा १६ डलर पारिश्रमिक पाउनुपर्छ। कामको प्रकृतिअनुसार २० देखि २५ डलर घन्टाको कमाइलाई यहाँ सामान्य मानिन्छ ।