मानिस जन्मिएपछि मर्नुपर्छ। सास्वत सत्य पनि यही हो। तर, जन्मेर बाँचुन्जेलसम्म अनेकन भाँती र ताँतीको सामना गर्नुपर्छ।
आरोह अवरोह, कर्म र धर्म अनि जीवन र मृत्युबीच मानिस एकबारको जुनिमा राजनीतिसँग जोडिन र तोडिन पुगेकै हुन्छ।
अझ हाम्रो जस्तो विकासोन्मुख देशका लागि राजनीति झन्डै झन्डै विचारको अचार सरह भएको छ।
यसलाई नचाट्ने मानिस पाइन मुश्किलै छ। जहाँ जाउँ जता जाउँ राजनीति र विचार बिनाको प्राणी भेट्न मुश्किल हुन्छ।
हुन पनि विवेकशील प्राणीका रूपमा रहेको मानिस विचार बिना बाच्न सक्तैन। यसै कारण नेपालमा त अझ बढी,पत्रकार, पुलिस र प्रशासनजस्ता साझा संस्थामासमेत राजनीतिक आस्थाको क्रियाशिलता प्रसस्तै देखिन्छ।
नेपालमा राजनीतिक झण्डा बोकेका हुन् या जागिर पाकेका अनि कमाइ थाकेका। बिदेशिने पहिलो पुस्तालाई संसारको जुनै कुनामा भए पनि राजनीतिले छोडन सक्तैन।
नेपालमा वर्षौसम्म लागेको यो दलको तलतलले छाडोस् पनि कसरी? बिदेशीएका पहिलो पुस्ताको राजनीतिको राप पनि निकै तापक्रममा चढेको हुन्छ।
यतिखेर नेपालीको बाक्लो बस्ती अनि उपस्थिति भएका सबै देशमा नेपालका राजनीतिक छापको पदचाप भेट्न सकिन्छ।
चाहे त्यो कांग्रेस, कम्युनिष्ट वा साना दलकै किन नहोस्, प्रवासमा शाखा प्रशाखा खुलेकै छन्।
मुलुककै महान राजनीतिक दलका रूपमा चिनिदै आएको नेपाली कांग्रेसको कथा पनि ‘आए नेता गए नेता, विचरा राजनीति यता न उता’ जस्तो भएको छ अस्ट्रेलियामा।
प्रजातन्त्रको प्रचण्ड रापमा रूमल्लिएको नेपाली कांग्रेसभित्र यति बढी स्वतन्त्रताको अभ्यास देखिन्छ कि जाबो दुई चार सय कार्यकर्ताबीच फैलिएको प्रवासी संगठन भित्र पनि यहाँ तीन, चार वटै स्वायत जनसम्पर्कहरू क्रियाशिल देखिन्छन्।
करिब चार वर्षको दौरान अस्ट्रेलियाको कांग्रेसी एकता र संगठन निमार्णका खातिर कयैन मुर्धन्य नेताहरु अस्ट्रेलिया नआएका होइनन्। नेता त आए, माला पनि लाए, भोज भतेर पनि खाए, सपिङ गर्दै एकताको गीत पनि गाए। तर, जाबो प्रवासको एउटा सानो संगठनको निर्णयमा ताला लाउन भने सकेनन्।
हुन पनि भन्नैपर्छ, नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालादेखि शेखर कोइरालासम्म रामशरण महतदेखि प्रकाश शरण महतसम्म अनि महेन्द्र यादवदेखि मीन बिश्वकर्मासम्मका नेता अस्ट्रेलिया आए।
नेताहरूले कयैन भेटघाट र छलफल चलाए। अनि विवादका आरोप प्रत्यारोप पनि सुने, पार्टीमा गएर तुरून्त हल गर्ने अनि एकताको जलप लगाउने पनि बताए। यो भनेको तीन चार वर्ष बितिसक्दा पनि जनसम्पर्क समितिहरू छताछुल्ल छन् अस्ट्रेलियामा।
त्यस बाहेक पनि छोटा मोटा कयैन नेता आए, गुनगान पनि गाए, समाधानको पहल गर्ने बचनबद्धता पनि दिए। तर, समस्या ज्यूँ का त्यूँ।
अस्ट्रेलियाका ठूला शहरहरू सिडनी, ब्रिसबेन, मेलवर्न र पर्थमासमेत जनसम्पर्क समिति खोलिएका छन्। सबै स्वतन्त्र र प्रजातन्त्रिक देखिन्छन्। कसैले कसैको अस्तित्व स्वीकार्न तयार छैनन्।
जसलाई सोधे पनि हामी नै हौ जनसम्पर्क भन्ने गर्छन्। केही क्रियाशील पनि देखिन्छन् भने कोही सुसुप्त। तर, विवादको जड भने ठूलो पटक्कै छैनन्। भेट्दा सबै बोलचाल गर्छन्, एक आपसमा अंकमालमै बाँधिन्छन्। तर, संस्था भने फरक फरकमा बाढिन्छन्।
सिड्नीमा रहेका दुई वटा जनसम्पर्क समितीहरू आ-आफ्ना स्वरुपमा आफूलाई आधिकारीक मान्छन्। एउटा पार्टीको आधिकारीक प्रतिनिधिले गरेको चुनावका आधारमा अर्को महाधिवेशनमा प्रतिनिधित्व गरेको नाममा।
दुबैको एउटै नाम एउटै काम अनि साझा विचार। देशको प्रतिपक्षका रुपमा रहेको नेपाली कांग्रेसजस्तो पार्टीले एउटा जाबो प्रवासमा संगठनमा निर्णय लिन चार पाँच वर्ष कुर्नुपर्छ भने आफ्नै देश भित्र हुने ठूला निर्णय गर्नुपर्दा कति समय लाग्ला?
जाबो दुई चार सय बिदेशमा छरिएका विचारका हितैषीको पीडामासमेत मलम लगाउन नसक्ने दलका नेता र नेतृत्वगण बिदेशमा पनि छिछि दुरदुर हुन थालिसकेका छन्।
निर्णय जे गरे पनि त्यो दलको लागि र त्यसका प्रशंसकका लागि फरक पर्दैन। तर, जाबो अस्ट्रेलियामा चार पाँच वर्षदेखि विवादमा रहेको एउटा प्रवासी संगठनमा समेत मेरो र तेरो अनि फलाना अनि ढिस्कानाको नाममा राजनीति गर्ने परिपाटीले कांग्रेसलाई नराम्ररी गाँजेको छ।
पार्टीले सोच्नुपर्छ जनसम्पर्कमा जो आए पनि कांग्रेसनै आउने हो अनि जसलाई ल्याए पनि हाम्रै आउने हो भनेर। कसैका नाममा खोल ओडेर वा कसैका नाममा टिका लगाएर पार्टी बलियो हुँदैन।
बीपी पढेर होस या गणेशमान बुझेर, कीशुनजी देखेर होस वा गिरिजाबाबुको गर्जन हेरेर, गगन र विश्वप्रकाशको भाषण सुनेरै आस्था भित्र बाँधिएका कयैनथरी कांग्रेसलाई एउटै मालामा उन्ने साहस र प्रतिबद्धता नेतृत्वमा हुनुपर्छ।
यसरी एउटा सानो प्रवासी आस्थाको पुन्ज भित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शंशाक कोइराला अनि कृष्ण सिटौलाका नाममा कुदखेल भइरहँदा कांग्रेशका कयैन कटिबद्ध कार्यकर्ता मौनता साध्न बाध्य छन्।
यस्तो परिस्थितिमा पार्टी सभापति शेर बहादुर देउवाले सोच्ने बेला आएको छ, नेतृत्व नेपालको सीमाना भित्र मात्र होइन, कांग्रेसको मूल्य र मान्यताका आधारमा संसारभर छरिएर बसेका यसका सुभेच्छुकलाई पनि एकताको सुत्रमा बाधेर पार्टीको हितमा अगाडि लान सक्नुपर्छ भनेर।