खाडीको कहानी नै बेग्लै छ। अमेरिका र अस्ट्रेलिया अनि युरोपतिर बस्नेहरूको सोचनै बेग्लै देखिन्छ कमाउ धन्दामा। करिब दश लाख युवाहरूको रोजगारीको थलो बनेको खाडी साच्चीकै मुलुकमा रेमिट्यान्स भित्र्याउने भने पहिलो कडी हो।
चार हजार चार सय स्क्वायर मिटर क्षेत्रफल र २६ लाख जनसंख्या भएको देश कतारमा चार लाख नेपाली काम गर्छन्। यो आफैँमा उदेकलाग्दो कथा हो तर बेरोजगार र गरिबीको रेखा तोड्न पनि नेपालीको कतार हानिने क्रम रोकिएको छैन।
एनआरएन ओसेनियाले यस्तै यस्तै विषयमा सिड्नीमा अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गरेर खाडीको अवस्था जान्ने प्रयास गरेको छ। एनआरएन मध्यपूर्वका क्षेत्रीय संयोजक राजेन्द्र कुमार(आरके)शर्मा सिड्नी आएको मौका पारेर एनआरएन अोसेनियाले आपसी सद्भाव र समस्याको पहिचानका विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ।
खाडीमा नेपाली कामदारको पीडा र त्यसमा एनआरएले गर्न सक्ने सहयोगका बारेमा बोल्दै मध्यपूर्वका संयोजक आरके शर्माले जेलमा रहेका नेपालीको उद्धार, काममा सुरक्षाको अनुभूति, शैक्षिक जागरण जस्ता विषयमा टडकारो रूपमा काम गर्नुपर्ने बताए । ‘जानी नजानी अनि भाषिक समस्या र अज्ञानताका कारण कयैँन नेपाली बिना कसुर जेल सजाय भोगिरहेका छन्। जुन विषयमा राज्यसँग मिलेर एनआरएनले उनीहरूको रिहाइका लागि कानूनी उपचारको बाटो रोज्नु पर्दछ’,संयोजक आरकेले भने, ‘नेपालले रेमिट्यान्स’ भित्रिने मुलुकमा काम गर्ने नेपाली कामदारको बारेमा खोजी गर्न सक्नुपर्छ, अरब पर्यटनको आधारस्थल बनाउन पनि सकिन्छ। पैसा छ, धनी छन अरुभन्दा बढी खर्च गर्छन्, उनीहरूलाई ‘टार्गेट’ गर्न सकिएको छैन।’
कार्यक्रममा एनआरएन अोसेनिया संयोजक धर्म अधिकारीले एनआरएनको सौन्दर्य भनेको प्रवासी नेपाली बीचको एकता भएको बताए। अधिकारीले विदेशमा छरिएर रहेका नेपालीबीचको एकता र आपसी सद्भावनै यसको लक्ष्य भएकोले अरबका समस्यामा अस्ट्रेलिया सहयोगी बन्ने बचनबद्धता प्रकट गरे।
अधिकारीले अस्ट्रेलियामा रहेका नेपालीहरूबीचको एकता र आपसी सद्भाव अरुले पनि शीरोधार्य गर्नुपर्ने बताए। उनले अन्य देशमा भन्दा शैक्षिक जागरण र परिश्रमका हिसाबले अस्ट्रेलियामा नेपालीहरूको जिवनस्तर उच्च रहेको बताउँदै एनआरएनले विश्वभर छरिएर रहेको नेपालीलाई एउटै मालामा जोडने कार्यमा सफलता प्राप्त गरेको बताए।
एनआरएन ओसेनियाका उप संयोजक ईश्वर कुइँकेलले मध्यपूर्वका समस्यामा थोरै पनि सहयोग गर्न पाउनु आफूहरूको लागि महत्वको विषय बन्ने बताए।
कार्यक्रममा आइसीसी सदस्य जानकी पौडेल, होम पाण्डे, ओसेनिया युवा संयोजक ऋषी आचार्य, एनआरएनका पूर्व उपाध्यक्ष दिनेश पोखरेल, पूर्व युवा संयोजक विजय पोखरेल, एनआरएनका प्रवक्ता डिला खरेल, सदस्य अजय राजवंशी, ओएनएफका अध्यक्ष रमेश पाण्डे लगायतले आआफना मन्तव्य राखेका थिए। कार्यक्रममा एनआरएन कतारका सचिव युवराज शर्मापनि सहभागिता रहेका थियो।