अस्ट्रेलियाको मेलवर्नमा नेपालीहरुको आफ्नै सामुदायिक भवन बनाउन पण्डित दिनबन्धु पोखरेलबाट पुराण वाचनसहित सप्ताह सुरु भएको छ।
अस्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टर(एएनएमसी)को आयोजनामा सेन्ट अल्बन्सस्थित चिन्तापुरण मन्दिरमा यही सोमबारदेखि पारम्भ भएको पुराण आगामी आइतबारसम्म चल्ने छ।
हरेक दिन दिउँसो ३ देखि राति ९ बजेसम्म जारी रहने यस सप्ताहको पहिलो दिन करिब दुई सयभन्दा बढी नेपालीहरुको उपस्थिति थियो।
पशुपतिनाथको मन्दिर र स्वयम्भूनाथको गुम्बासमेत बनाउने उद्धेश्यका साथ पहिलो चरणमा जग्गा किन्नको लागि रकम संकलन भइरहेको छ । सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ तर गर्न चाँहि केही गरौँ भन्ने नारा रहेको यस सप्ताहमा हजारौं नेपालीको उपस्थिति रहने विश्वास लिइएको छ ।
यस सप्ताहको नेपाली मुलका अस्ट्रेलियन धनाड्य शेष घलेले पानसमा बत्ती बालेर औपचारिक सुरूवात गरेका थिए । घलेले यो पवित्र कार्यलाई सबैजना मिलेर पुरा गर्नुपर्ने बताए ।
भिक्टोरीयाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले बषौँदेखि देखेको नेपालीहरुको साझा घरको अवधारणा अब छिट्टै यथार्थमा रुपान्तरण हुने बताउदै सबै नेपालीहरुलाई सहयोगको आह्वान गरेका थिए।
एएनएमसी तथा यस सप्ताह कमिटिका अध्यक्ष डा चन्द्र दिपक पोखरेलले कार्यक्रममा यो सबै नेपालीको साझा अभियान भएकोले मेलवर्नमा रहेका नेपालीले आआफ्नो गच्छे अनुरुप सहयोगको आशा लिएको सुनाए।
त्यसैगरी कार्यक्रममा एएनएमसीका पूर्वअध्यक्ष रन्जन वैध, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरीयाका संयोजक केशव कडेलले यो सबैको साझा अभियान भएकोले यसलाई पुरा गरि छाड्ने अठोट ब्यक्त गरे ।