४१ डिग्रीको तापक्रम। सिड्नीबाट करिब तीन सय किलोमिटरको दुरीमा रहेको पर्यटकीय नगरी हन्टरभ्याली।
ढाका टोपी र सारीमा सजिएका सयौं नेपाली अभिभावक अस्ट्रेलियाको उखरमाउलो गर्मीको परवाह नगरी दोहोरी र लोकलयमा नाचगानमा ब्यस्त देखिन्थे।
एनआरएन अस्ट्रेलियाले पछिल्लो कार्यकालदेखि प्रारम्भ गरेको अभिभावक पिकनिक यसपटक पनि साच्चिकै उत्साहजनक र गर्विलो सावित भएको थियो। नेपालबाट छोरा छोरी भेटनदेखि नातिनातिनी हेर्नसमेत ओइरहेको नेपाली अभिभावकलाई खुला बातावरणमा एक आपसमा आत्मीयता साटने यो मेला साच्चीकै अपूर्व देखिन्थ्यो ।
एनआरएनले अवलम्बन गरेका धेरै कार्यक्रममध्ये लोकप्रिय बनेको यो कार्यक्रममा यस पटक सिड्नीबाट मात्र करिब सात सय अभिभावकले सहभागिता जनाएका थिए। देशका कुना काप्चावाट सात समुन्द्रपारी अस्ट्रेलिया आइपुगेका अभिभावकबिचको मेलमिलाप साच्चिक्कै हेर्न लायक थियो।
कतै पूर्वेलीभाका त कतै देउडा अनि कही भोजपुरीका भाकाहरु एकैस्थानमा घन्कदा अभिभावकहरुलाई स्वदेशमै घुमेजस्तो महशुस गरिरहेका देखिन्थे। सिड्नीबाट करिब तीन सय किलोमिटरमा रहेको पर्यटकीय नगरी हन्टरभ्याली शनिबार नेपालमय बनेको थियो।
एनआरएनको न्यु साउथवेल्स शाखाले आयोजना गरेको अभिभावक पिकनिक साच्चीकै उत्साहप्रद रह्यो । हामीले यसलाई निरन्तरता दिने मात्र होइन ,अन्य थप कार्यक्रमपनि आयोजना गर्नुपर्छ भन्ने सोच बनाएका छौं, एनआरएनएका उपाध्यक्ष नन्द गुरूङले बताए ।
साडी चोलो र ढाकाटोपीमान होइन मधेशको कुर्ता पाइजामा अनि आ-आफ्नै भेषभुषामा सजिएका करिब सात सय अभिभावकहरुले बिदेशमा पनि एउटै थलोमा आपसी सदभाव साटदै गर्दा मुलुक प्रतिबिम्बित भएको एनआरएनका पूर्वउपाध्यक्ष तथा यस कार्यक्रमका अभियन्ता दिनेश पोखरेलले बताए ।
साच्चीक्कै एक दिन भए पनि बिदेशमा यत्रो नेपाली अभिभावक भेला भएर रमाइलो गर्न पाउनु साच्चीकै महत्वपूर्ण र गर्वको विषय भएको नेपाली अभिभावक शम्भु पोखरेल बताउँछन्।
पोखरेलले एनआरएनले अबका दिनहरुमा बढ्दै गएको नेपाली समाजसँगै अभिभावक र बाल बालिका अनि परिवारलाई समेटने कार्यक्रम अगाडि ल्याए सुनमा सुगन्ध हुने बताए।
एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेल नेपाली समाज बाक्लीदै गर्दा यतिखेर हजारौ अभिभावक अस्ट्रेलियामा रहेको अवस्थामा उहाँहरूलाई मध्यनजर गरेर एनआरएनले यो कार्यक्रम ल्याएको बताउँछन्।