यतिखेर नेपाली कला र गलाको मान र सम्मान गर्ने थलो बनेको छ प्रवास। नेपालमा चलेका र जमेकाहरुको लागि त कमाउको मेलो पनि बनेको छ विदेश।
नेपाली समाज बाक्लिदै गर्दा अस्ट्रेलियामा पनि महिनामा कम्तीमा दुई वटा सांगीतिक माहोल जमेकै छ। पछिल्लो साता नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले तहल्का मच्चाइरहँदा जनबरी १९ तारिख शुक्रबार नयाँ वर्षको अवसरमा वेलकम २०१८ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
यस कार्यक्रममा नेपाल आइडलमा चिनिएका सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठको सहभागिता रहने आयोजक रोशन भट्टराईले सेतोपाटीलाई बताए।
डीजे प्रबिन, शुसील र बी रकको सहभागिता हुने सांगीतिक कार्यक्रम होटल शार्कमा आयोजना गरिने छ।
चर्चित रियालीटी शो नेपाल आइडल मार्फत जनमानसमा चर्चा कमाएका सागर, सुरज र केन्जलको निकै आकर्षक गीत संगीतले दर्शकलाई अलग स्वाद पस्कने आयोजक भट्टराईको दाबी छ।
प्रोफेसनल भिसा एन्ड एजुकेशन सेन्टरको प्रस्तुति रहने कार्यक्रमको तयारी पुरा भइसकेको आयोजक रोशनले बताए।
यस्तै नयाँ वर्ष पारेरै डिसेम्बर ३० तारिखका दिन इन्द्रेणी फङ्सन सेन्टरमा प्रमोद खरेलले सिडनीवासीलाई आफ्नो गीत संगीत पस्कने भएका छन्। सम्झना लामिछाने मगर, समिर आचार्य र प्रकाश सपुतलगायतका कलाकारको सहभागिता रहने आयोजक बिष्णु सापकोटाले बताए।
बिजे एजुकेशनको प्रस्तुती रहेको यो कार्यक्रममा लोकप्रिय गायक खरेलले सिड्नीबासीको मन जित्ने कुरा आयोजक सापकोटाले सुनाए। यस्तै यसै महिना सिड्नीको हंन्सबीमा डिसेम्बर १५ तारिख नै अर्का गायक कालप्रसाद बाँस्कोटाको गीत/संगीतको कार्यक्रम रहेको छ। कार्यक्रममा रिजालबाहेक हामी ब्यान्डको गीत संगीत रहने छ।