अस्ट्रेलियाको अध्यागमन विभागले नयाँ नियम बनाउँदै भिसाका लागि नक्कली कागजात बनाइ झुठो विवरण पेश गर्नेलाई दस वर्ष भिसा प्रतिबन्ध लगाउने भएको छ।
यही नोभेम्बर १८ तारिखदेखि लागू हुने नियम कडाइका साथ पालना गरिने अध्यागमन बिभागले जनाएको छ। अध्यागमन नियमवालीको दफा ४ मा उल्लेख गरिएको यो कानुन अर्को सातादेखि सुरू हुन्छ।
पछिल्लो नीति अनुरूप झुठो विवरण पेश गर्नेहरू एक वर्षपछि नै अर्को आवेदन दिनसक्ने प्रावधान भए पनि यस पटक कडाइका साथ दश वर्षे प्रतिबन्ध लगाइएको हो।
बिभिन्न भिसा आवेदनमा थुप्रै झुठा बिवरण पेश गरेर अध्यागमन बिभागलाई छानबिनमा समेत ढिलाइ पुर्याएकोले कठोर निर्णय गर्नु परेको अध्यागमन बिभागले जनाएको छ।
विद्यार्थी भिसा आवेदनमा पनि नक्कली बिवाह, नकली बैंक डकुमेन्ट, जाली कागजात पेश गर्ने जस्ता काम भएको र भ्रमण भिसामासमेत नक्कली निम्ताजस्ता झुठा कागजात भेटिने गरेको कारण पनि यस्तो कडाइ गरिएको हुनसक्ने एक शैक्षिक एजेन्टले सेतोपाटीलाई बताए।