फेवा एफसीलाई हराउँदै माछापुच्छ्रे कप फुटबलको उपाधि गोर्खा क्लबले जितेको छ। फाइनलमा सिडनीको फेवा एफसीलाई टाइब्रेकरमा हराउँदै ब्रिसबेनको गोर्खाले पहिलो सहभागतामै उपाधि हात पारेको हो।
निर्धारित समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा फेवाका खेलाडीको फितलो प्रहारलाई गोर्खाका गोलरक्षकले निकै फूर्तिलो ढंगले बचाउ गरेपछि उपाधि ब्रिसबेनको पक्षमा गएको थियो।
फाइनल खेल अपेक्षित भने हुन सकेन। केही राम्रा टोलीहरू सेमिफाइनलमै अभागी साबित हुँदै बाहिरिएपछि फाइनल सोचेअनुरूप रोचक बन्न सकेन। मेलवर्नबाट आएको यति एफसीले क्वार्टरफाइनलमा केही राम्रा मौका गुमाउँदा माथि जाने अवसर गुमाएका थिए।
अनिल ओझा र सुलभ मास्केजस्ता राम्रा फरवार्डका साथ उत्रिएको यती एफसीको रक्षापंक्ती र गोलरक्षकको कमजोरी हारको कारक बन्यो।
तेस्रो स्थानमा चित्त बुझाएको सेन्ट जोर्ज सेमिफाइनलमा गोर्खासँग हारेको थियो भने आयोजक माछापुच्छेलाई हराउँदै फेवाले फाइनलमा स्थान पक्का गरेको थियो।
फाइनल खेलको पहिलो हाफ निराशाजनक रह्यो। दोस्रो हाफमा ब्रिसबेनको गार्खाले केही राम्रा मौका प्राप्त गरे पनि गोल गर्न सकेन । प्रतिउत्तरमा फेवाको आक्रमण फीतलो देखियो।
प्रतियोगिताका विजेता खेलाडीलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले पदक तथा प्रमाणपत्र बितरण गरे।
प्रमुख अतिथि शेर्पाले अस्ट्रेलियामा पनि खेलकुदको माध्यमबाट नेपालीबिचको एकता र भाइचारा बढोत्तरी भएकोमा खुसी ब्यक्त गरिन्।
यता मेलवर्नबाट फुटबल हेर्न सिड्नी आइपुगेका एनआरएनका अध्यक्ष टोनुले खेलकुदले आपसी एकता र भाइचारासँगै मुलुकको नामसमेत अगाडि बढाउने काम गरेको बताए।
कार्यक्रममा क्लबका अध्यक्ष बिजेन बटाजुले प्रायोजक जी फाइभ, सहयोगी र अतिथिहरूलाई क्लबको मायाको चिनो प्रदान गरेका थिए। प्रायोजक जी फाइभकोतर्फबाट राम श्रेष्ठ, राजमान थकाली र कृतु केसीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
प्रतियोगिताको प्रथम स्थान हात पार्ने गोर्खाले नगद तीन हजार डलरसहित ट्रफी हात पारेको छ भने दोस्रो हुने फेवाले एक हजार र तेस्रो हुने सेन्ट जोर्जले पाँच सय नगद प्राप्त गरेको छ। यस्तै भेट्रानतर्फको खेलमा आयोजक माछापुच्छ्रेले लगातार दोस्रो वर्ष पनि उपाधि हात पारेको छ। फाइनलमा उसले सेन्ट जोर्ज फ्रेन्ड्स फुटबल क्लबलाई हराएको थियो।