रियालीटी शो मार्फत नेपाल र नेपालीको ढुकढुकी बन्न सफल नेपाल आइडल यतिखेर अस्ट्रेलियाका शहरहरुमा पनि चर्चाको शिखरमा छन्।
नेपालसँगै विश्वमा छरिएर रहेका नेपाली माझ निकै लोकप्रिय कार्यक्रमका विजेताहरूको उपस्थितिको चर्चाले सिड्नी शहरलाई पनि छपक्कै छोएको छ। यतिखेर नेपाल आइडलका उत्कृष्ट तीन गायकहरू सिड्नीमा ट्रेनमा पनि झुल्केका छन्।
सिड्नी ट्रेनमा जो कोहीले पनि उनीहरूलाई सहजै नियाल्न पाउने भएका छन। सिड्नीको महत्वपूर्ण शहरमा चल्ने सिड्नी ट्रेनमा पहिलो पटक आयोजकले नेपाली आइडलको फूल पोष्टर लगाएका छन्। यसले सिडनी ट्रेन चढ्ने जो कोहीले पनि नेपाल आइडललाई नजिकबाट नियाल्ने मौका पाएका छन्।
‘हामीले प्रचार प्रसारको क्रममा सबैले थाहा पाउन भन्ने उद्धेश्यका साथ सबै नेपालीको भरपर्दो साधनका रूपमा रहेको सिडनी ट्रेनमा पोष्टर टास्ने निर्णय लिएका हौं’, आयोजक नेपाली टचका राज कुमार गोश्वामीले सेतोपाटीसँग भने, ‘निकै महंगो भए पनि नेपाल आइडलको महत्व र यसको लोकप्रियताका कारण हामीले सिड्नी ट्रेन रोजेका हौ।’
यही आउँदो नोभेम्बरको पहिलो तारिख शुक्रबार सिड्नीको ओलम्पिक पार्कमा नेपाल आइडलका विजेताहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दासको लाइभ कार्यक्रम छ।
नेपाली टचको आयोजनामा हुन लागेको कार्यक्रमको तयारी लगभग पुरा भइसकेको आयोजकले जनाएको छ। पहिलो पटक नेपाली डायस्पोराको यति ठूलो कार्यक्रम सिड्नीको ओलम्पीक पार्कमा आयोजना हुँदैछ।
‘सन् २०००को सिड्नी ओलम्पिक आयोजनास्थल आफैंमा महत्वपूर्ण आयोजनास्थल भएकोले पनि कार्यक्रम भब्य हुने कुरामा कुनै शंका छैन,’ नेपाली टचका राजकुमार गोश्वामीले भने।
हालसम्म करिब पचास प्रतिशत टिकट बिक्री भइसकेको र टिकटको माग दिनहुँ बढिरहेको आयोजक संस्थाका दिपेश पुनले बताए। ‘ओलम्पिक पार्कमा पहिलो, सिडनी ट्रेनमा विज्ञापन र दर्शकको पनि पहिलो रोजाइ हो भन्ने शन्देश दिने तयारीमा जुटेका छौ,’ पुनले सुनाए।
कार्यक्रमलाई भोडाफोन, राइट एन्ड एशोसियट एजुकेशन एन्ड माइग्रेशन, इसीए लगायतका संस्थाले प्रायोजन गरेका छन्।