सिड्नीको किङ्सफोर्डमा रहेको निजी सुसी बारले सन् २०१७ को लागि ‘आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर’ एवार्ड पाएको छ।
सिड्नीमा रहेका नेपाली युवा व्यवसायी राज खनालले सञ्चालन गरेको रेष्टुरेन्टलाई त्यहाँको स्थानीय काउन्सिलले बिजनेस एक्सिलेन्स एवार्ड प्रदान गरेको हो।
हरेक दुई वर्षमा प्रदान गरिने यो एवार्डसँगै निजी सुसी बारले आउटस्ट्यान्डिङ विजनेस अफ द ईयर २०१७ उपाधि पनि पाएको छ। यसअघि सन् २०१३ र सन् २०१५ मा पनि निजी सुसी बारले आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर उपाधि जितेको थियो ।
यस क्षेत्रमा सञ्चालित विभिन्न २७ व्यवसायहरुलाई पछि पार्दै खनालले सञ्चालन गरेको जापानी रेष्टुरेन्ट निजी सुसी बारले उपाधि जित्न सफल भएको हो । गत बुधबार रेन्डविक रेसकोर्समा आयोजना गरिएको एक विशेष कार्यक्रममा रेन्डविक सिटी काउन्सिलकी मेयर लिन्डसे सौरीले खनाललाई अवार्ड हन्तान्तरण गरिन् ।
विगत आठ वर्षदेखि सञ्चालित रेष्टुरेन्टका सञ्चालक राज खनालले अवार्ड पाएपछि आफूलाई खुसी लागेको प्रतिक्रिया दिए। ‘हाम्रो विजनेसलाई अष्ट्रेलियाको सरकारी निकायको तर्फबाट नै सर्वोत्कृष्ट भएको मूल्यांकन गर्नु गर्वका कुरा हो। एउटा नेपाली हुनुको नाताले मलाई गर्व पनि लागेको छ। साथै, जिम्मेवारी पनि बढेको महसूस गरेको छु,’खनालले सेतोपाटीसँग भने।