ग्लोबल नेपाली
केशव दाहाल नेपालमा कानुन व्यवसायी थिए।
उनका दाजु हरिहर दाहाल पनि वरिष्ठ अधिवक्ता हुन्। दाइकै प्रभावले केशवले कानुन पढे। त्यसपछि विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरे, अदालतमा बहस पनि गरे।
वकालतमा व्यस्त भइरहेकै बेला उनलाई क्यानडा जाने रहर चल्यो। सन् २०१२ डिसेम्बरमा उनी गए पनि।
'सामाजिक संस्थामा सक्रिय रहेको र कानुन व्यवसायी समेत भएकाले स्थायी आवास अनुमतिपत्र (पिआर) लिन सजिलो भयो,' उनले भने।
सुरूआती दिनमा उनलाई त्यहाँ कसरी काम गर्ने भन्ने अलमल भयो।
नेपालमा लाइसेन्स लिएर कानुन व्यवसायीका रूपमा काम गरिरहेका उनलाई त्यहाँ पनि यही काम अगाडि बढाउनुपर्छ भन्ने लाग्यो। त्यसपछि उनले युनिभर्सिटी अफ टोरन्टोमा एउटा कोर्स गरे।
'त्यहाँ गएर मैले १० वटा परीक्षा दिएँ। तोकिएको समयमा सबै पास गरेँ,' केशवले भने।
परीक्षा पास गरेपछि उनी एक ल फर्ममा आबद्ध भए। त्यहाँ झन्डै साढे तीन वर्ष काम गरे र सन् २०१६ मा अधिवक्ताको लाइसेन्स पाए।
त्यसयता उनी क्यानडामा पूर्णकालीन अधिवक्ता भएर काम गरिरहेका छन्।
'केही समय क्यानडाका वकिलहरूको संस्थामा समेत काम गरेँ,' केशवले सुनाए।
सन् २०२० मा उनले टोरन्टोमा आफ्नै ल फर्म सुरू गरे।
ब्यारिस्टर तथा सोलिसिटर भएकाले उनले परिवार, अपराध, अध्यागमन, घरजग्गा लगायत सबै विषयमा मुद्दा हेर्न पाउँछन्। यसमा पनि विशेष गरेर अध्यागमनकै मुद्दा उनीकहाँ धेरै आउँछ।
नेपालीको संख्या बढ्दो क्रममा रहेकाले पनि अध्यागमनकै मुद्दा धेरै आउने उनले बताए।
'जस्तो कसैको भिसा रद्द भयो, पुनरवलोकनमा जान पर्यो भने हामीले काम गर्छौं। पिआरदेखि अरू विषय त छँदैछन्,' उनले भने, 'शरणार्थीका मुद्दा पनि हामी हेर्छौं। सुरूदेखि अन्तिमसम्मको कानुनी लडाइँमा हामी हुन्छौं।'
उनले आप्रवासनका मुद्दा धेरै हेर्ने भए पनि अन्य समस्या लिएर आउने नेपाली समुदायका लागि पनि कानुनी परामर्श दिन्छन्।
'पारिवारिक हिंसा, ड्राइभिङ, ठगी लगायत धेरै विषय लिएर नेपालीहरू आउँछन्। सबै विषयमा त म कानुनी लडाइँ लड्न सक्दिनँ। सुझावसम्म दिन्छु,' उनले भने।
सात समुद्रपारिको देशमा भाषा, संस्कृति अर्कै अनि अर्कै देशका कानुन व्यवसायीसँग भन्दा नेपाली समुदायकै वकिलको खोजी हुनु स्वाभाविक हो।
'हामीसँग कुरा गर्न सहज हुने भएर नेपालीहरू ठोक्किन आउँछन्। समाजप्रतिको दायित्व सम्झेर हाम्रो तर्फबाट सक्दो सहयोग हुन्छ,' केशवले भने।
भारत, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तान लगायत देशका व्यक्ति पनि उनको ल फर्ममा आइपुग्छन्। तर नेपालीकै संख्या ठूलो भएकाले अन्य समुदायसम्म चाहेर पनि पुग्न नसकिएको उनी बताउँछन्।
नेपालीहरूले आफ्नै समुदायको वकिल खोज्नुको एउटा प्रसंग उनले सुनाए।
'दुई–तीन वर्षअघि एक जना अभिभावकले सानो बच्चालाई नांगो पारेर तेल लगाएको फोटो खिचेका रहेछन्। त्यो फोटो कतै पोस्ट गरेका थिएनन्। गुगल ड्राइभमा गएको रहेछ। गुगलले स्थानीय प्रहरीलाई चाइल्ड पोर्नोग्राफीमा मुद्दा चलाउन उजुरी दिएछ। प्रहरीले अभिभावकलाई नियन्त्रणमा लियो,' उनले भने, 'ती अभिभावकले केही गरी अरू वकिललाई यो कुरा बुझाउन सकेनन्। अनि मेरो पहलमा हाम्रा स्थानीय साथीहरू राखेर नेपालको परम्परा यस्तो छ भनेर सम्झायौं। अर्को पटक गल्ती नगर्ने सर्तमा मुद्दा फिर्ता भएको थियो।'
अस्थायी भिसामा क्यानडा गएकाहरू उतै बस्न चाहे भने उनीहरूलाई पनि केशवले कानुनी प्रक्रियामा सहजीकरण गरिदिन्छन्।
नेपालबाट विद्यार्थी भिसामा गएकामध्ये अधिकांशले उतै स्थायी बसोबासको योजना बनाएका हुन्छन्। उनीहरूका लागि कस्ता प्रावधान जरूरी पर्छ भनेर परामर्श दिने र प्रक्रिया सुरू गरिदिने काम पनि केशवले गर्छन्।
एक दशकभन्दा लामो समयदेखि क्यानडामा वकालत गर्दै आएका उनले त्यहाँ बस्ने नेपालीहरूले गर्ने गल्ती नियालेका छन्। ती गल्ती उनीहरूले जानेर या नजानेर वा लापरबाही गरेर दोहोर्याइरहेका हुन्छन्। अनि समस्यामा पर्छन्।
उनका अनुसार परम्परा र संस्कृति नमिल्दा भएका गल्तीको कतिपय अवस्थामा माफी पाइन्छ। अरू घटनामा माफी हुँदैन।
उदाहरणका लागि, हामीले सामान्य ठानेर बच्चालाई गरेका कतिपय व्यवहार त्यहाँ हिंसा मानिन्छ। बच्चामाथि दुर्व्यवहार भएको देखे छिमेकीले पनि उजुरी गरिदिन्छन्। मदिरा सेवन गरी गाडी चलाएर पक्राउ पर्नेहरू पनि धेरै हुन्छन्।
'यी कुरा नेपालमा सामान्य लागे पनि क्यानडामा गैरकानुनी हुन सक्छ। यसको रेकर्डले पिआर लिनै समस्या हुन्छ। कतिपय अवस्थामा डिपोर्ट नै हुनुपर्छ,' केशवले भने।
कोरोना महामारीपछि नेपाली विद्यार्थी बढेसँगै मानसिक समस्या र अरू दुर्घटना पनि बढेको उनको अनुभव छ।
खासगरी कक्षा १२ पास गरेर जानेहरूमा मानसिक समस्या अलि धेरै देखिएको छ। कति विद्यार्थी त क्यानडामा नसकिने रहेछ भनेर फर्किन खोज्छन्। तर नेपालबाट अभिभावकहरूले फर्किन नदिँदा झन् दबाबमा पर्छन्।
'३५/४० लाख रूपैयाँ खर्च गरेर गएका हुन्छन्, उता सोचेजस्तो हुँदैन र निराश हुन्छन्,' उनले भने, 'त्यस्तो बेला कतिपय विद्यार्थी उतै हराउने, मानसिक समस्यामा पर्ने र आत्महत्या गर्नेसम्म हुन्छ। यस्ता कुरामा अभिभावक पनि गम्भीर हुनुपर्छ।'
जेनजी आन्दोलनपछि नेपालीका लागि क्यानडा थप कडा भएको दाहालले बताए। भिसा अस्वीकृत हुने दर केही बढेको र त्यही घटना उल्लेख गरिएको जानकारी आफूले पाएको उनको दाबी छ।