ग्लोबल नेपाली
पर्वतका सुभास लामिछाने सन् २००७ मा जापान गए। उनले जापानमा होटल म्यानेजमेन्ट विषय पढेर आउने र पर्यटकीय क्षेत्रमा राम्रो होटल चलाउने सोचेका थिए।
उनी जापानको होटल व्यवसायबारे राम्रो जानकारी पनि लिन चाहन्थे। त्यसैअनुसार उनी विद्यार्थी भएर जापान गए।
जापानमा बस्दै जाँदा उनको सोचाइ बदलियो। जापान बसाइ लम्ब्याउने निष्कर्षमा पुगे।
त्यसैअनुसार उनले सन् २००९ मा एउटा रेस्टुरेन्ट सुरू गरे जतिबेला उनी २२ वर्ष उमेरका थिए। उनले एउटा रेस्टुरेन्ट किने।
व्यवसाय त सुरू भयो तर अपेक्षाअनुसार राम्रो भएन।
‘म जुन सोच लिएर पढ्न गएको थिएँ त्यस्तो हुन सकेन। मैले भिसा परिवर्तन गरेँ। भिसा परिवर्तनकै लागि रेस्टुरेन्ट किनेको थिएँ,’ उनले भने, ‘त्यो बेलामा ३० लाख रुपैयाँमा किनेको रेस्टुरेन्टको कमाइ राम्रो भएन।’
सन् २०११ मा आएको भूकम्पले व्यवसाय झन् चौपट बनाइदियो। घाटा लाग्यो। अन्ततः आफ्नो रेस्टुरेन्ट बेचेर अर्कैकोमा काम थाले।
उनी तीन वर्ष एउटा रेस्टुरेन्टको म्यानेजर भए। त्यो तीन वर्ष उनका लागि व्यावहारिक शिक्षाको समय भयो। रेस्टुरेन्ट व्यवस्थापनको र सफलताको सूत्र थाहा पाए।
उनले भने, ‘टेबलमा मासु पोलेर खाने याकिनिको रेस्टुरेन्टमा काम गरेँ। रामेनमा पनि काम गरेँ। तीन वर्षको कामले मलाई अनुभव र आत्मविश्वास दियो।’
उनका अनुसार नेपालमा नुडल्स भन्नु र जापानमा रामेन भन्नु एकै हो।
उनले सन् २०१५ मा रामेनको फ्रेन्चाइज सुरू गरे। त्यो व्यवसाय निकै राम्रो चल्यो। कमाइ राम्रो भयो। त्यसपछि रेस्टुरेन्ट व्यवसायमै अघि बढे।
रामेनबाट सुरू गरेर इटालियन रेस्टुरेन्ट खोले। हाल उनको स्वामित्वमा याकिनिको, कोरियन, इन्डियन, जापनिज र बार लगायत १७ वटा रेस्टुरेन्ट छन्।
‘सबै रेस्टुरेन्ट राम्रै तरिकाले चलेका छन्। उतै (जापानमा) रेस्टुरेन्ट व्यवसाय सुरू गरेर ठिक गरे भन्ने लागेको छ,’ उनी भन्छन्, ‘पहिलो रेस्टुरेन्टमा घाटा लागे पनि अहिले राम्रो भएको छ। मार्च, डिसेम्बर र गर्मी मौसममा रेस्टुरेन्टहरू राम्रो चल्छन्। कुनै सिजनमा घाटा भए पनि औसतमा सबै रेस्टुरेन्ट नाफामा हुन्छन्।’
उनी जसरी पनि रेस्टुरेन्ट व्यवसाय नै गर्छु भन्ने अठोटका साथ अघि बढे। एकपछि अर्को गर्दै रेस्टुरेन्ट थप्दै अघि बढे। कतिसम्म भने १७ वटा रेस्टुरेन्ट स्थापना भएको पनि पत्तै पाएनन्।
उनले भने, ‘इमानदारीपूर्वक काम गर्दै जाँदा १७ वटा रेस्टुरेन्ट भए। जापानमा व्यवसाय गर्ने ८० प्रतिशत व्यक्ति सफल हुन्छन्।’
उनका अनुसार जापानको नियमकानून मान्नुको ठूलो महत्त्व हुन्छ। नियमकानून पूर्ण पालनाका साथ काम गर्दा असफल हुने सम्भावना कम हुन्छ।
जापानमा धेरैजसो नेपालीले रेस्टुरेन्ट व्यवसाय नै गरेका छन्। टोकियो सहर एक्लैको जनसंख्या नेपालको कुल जनसंख्याको हाराहारी छ। जापानीका घरमा खाना पकाउने चलन निकै कम छ। सबैजसो मानिस दिनमा तीनपटक बाहिर खान्छन्।
जापानमा रेस्टुरेन्ट व्यवसाय सफल हुनुको एउटा मुख्य कारण यही हो।
करिब १८ वर्षअघि सुभास जापान जाँदा १५ हजार जति नेपाली थिए। अहिले दुई लाख हाराहारी छन्। उनी हाल एनआरएनए (गैरआवासीय नेपाली संघ), जापानको उपाध्यक्ष रहेका छन्।
उनका अनुसार जापानमा नेपालीको संख्या बढ्दै जाँदा समस्या पनि पनि बढ्दै गएको छ।
‘नेपालीहरूको धेरै गुनासो आइरहेको हुन्छ। रोजगारीदाताले कबोल अनुसारको काम दिएन, पारिश्रमिक दिएन भन्ने गुनासो आउँछ,’ उनी भन्छन्, ‘सबै कुरा राम्ररी नबुझी जाँदा समस्या पर्छ।’
जापान जानुअघि त्यहाँको कानूनी व्यवस्था, रोजगारी, विद्यार्थीले पाउने सुविधा र अधिकार लगायतका विषयमा राम्ररी जानकारी लिन उनको सुझाब छ।
जापानी भाषा सामान्य लेखपढ गर्न र बोल्न सक्ने भएर जानु राम्रो हुन्छ। भाषा नजानेर पनि कतिपय व्यक्ति समस्यामा परेका हुन्छन्।
आफूले प्राप्त गरेको जानकारी सही हो कि होइन भन्ने पनि थाहा पाउनुपर्छ।
उनी भन्छन्, ‘व्यक्तिको भर पर्दा उल्टो कुरा पनि पर्न सक्छ। विश्वसनीय स्रोतबाट जानकारी लिनुपर्छ।’
उनका अनुसार जापानमा पढ्ने विदेशी विद्यार्थीले हप्तामा २८ घण्टा काम गर्न पाउँछ। त्यति कामले ठूलो कमाइ हुँदैन। पढ्ने उद्देश्यले जानेले पढ्दै पैसा कमाउने अपेक्षा गर्नु हुँदैन।
‘नेपालबाट पठाउनेले अनेक प्रलोभन देखाउन सक्छन्। प्रलोभनमा पर्नु हुँदैन। जापानमा राम्ररी पढेर त्यहीं काम गर्छु भन्नेका लागि राम्रो अवसर हुन्छ,’ उनी भन्छन्, ‘पढुन्जेल बस्नखान पुग्नेबाहेक बढी कमाइको अपेक्षा गर्नु हुँदैन।’
कामदार भिसामा जानेले कम्पनीको पृष्ठभूमि, एउटा कम्पनी छाडेर अर्कोमा जान पाउने–नपाउने सम्बन्धी प्रावधान सबै थाहा पाउनु राम्रो हुन्छ।
‘जुन भिसामा गए पनि जापानी भाषाको थोरै ज्ञान हुनपर्छ। त्यहाँको नेपाली समुदाय र जापानी संस्कृतिबारे पनि जानकारी हुनुपर्छ,’ उनी भन्छन्, ‘जापानमा पढेर मासिक १०–१५ लाख रुपैयाँ कमाउने नेपाली धेरै छन् तर सबैको कमाइ यस्तै हुन्छ भन्ने पनि सोच्नु हुँदैन। मिहिनेत गर्दा असम्भव छैन।’
जापानमा आप्रवासीलाई सहयोग गर्ने संस्थाहरू पनि छन्। नेपालीका लागि एनआरएनए र अन्य केही सामाजिक संघसंस्था छन्। कुनै समस्यामा परेकालाई यस्ता संस्थाहरूले सक्दो मद्दत गर्छन्।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]