ग्लोबल नेपाली
बागलुङका गोविन्दप्रसाद श्रेष्ठ सन् १९९८ मा पर्यटक भिसामा जापान गए। केही महिनामा विद्यार्थी भिसा लिएर करिब दुई वर्ष पढे।
त्यसयता उनी जापानमै छन्। पर्यटक, विद्यार्थी र कामदार हुँदै उनी व्यवसायी भए। आफ्नै व्यवसाय गरेको पनि २५ वर्ष भयो। हाल जापानकै स्थायी बसोबासी भएका छन्।
जापानमा उनले रेस्टुरेन्ट, अनलाइन खाना सेवा, खाना बेच्ने भेन्डर, रियल स्टेट, पार्किङ इत्यादिमा लगानी गरेका छन्।
‘दाल रोटी पेटभरी खान पाइयोस् भनेर विदेशिएको थिएँ, धेरै ठूलो सपना थिएन। काम गर्दै जाँदा त्यहाँ (जापानमा) व्यवसाय गर्न सकियो,’ उनले भने, ‘सन् २००० मा आफैले रेस्टुरेन्ट सुरू गरेँ। अहिले २१ वटा रेस्टुरेन्ट छन्। अन्य क्षेत्रमा पनि लगानी छ, मुख्य व्यवसाय रेस्टुरेन्ट नै हो।’
बागलुङमा पारिवारिक होटल थियो। उनका बाआमाले ‘शुभकामना’ नामको होटल चलाएका थिए। गोविन्दले जापानमा शुभकामना नाममै रेस्टुरेन्ट चलाएका छन्।
उनका अनुसार एउटा ‘इन्डियन–भियतनामी’ रेस्टुरेन्ट छ जसमा इन्डियन, भियतनामी र नेपाली खाना पाइन्छ।
एउटै रेस्टुरेन्टमा इन्डियन, भियतनामी र नेपाली खानाको तालमेल कसरी?
गोविन्द भन्छन्, ‘इन्डियन खाना धेरै मसलेदार हुन्छ, भियतनामी खाना हल्का हुन्छ। धेरैजसो पुरूषहरू इन्डियन खाना मन पराउँछन्, महिलाहरू भियतनामी मन पराउँछन्। नेपाली त आफ्नै भइहाल्यो।’
उनका सबै रेस्टुरेन्ट नागोया सहर आसपासमा छन्। आधा घण्टाको यात्रामा २१ वटै रेस्टुरेन्टमा पुग्न सकिन्छ।
रेस्टुरेन्टसँगै उनी भेन्डर मेसिनबाट पनि खाना बेच्छन्। भेन्डर मेसिनमा चौबिसै घण्टा खाना किन्ने सुविधा उपलब्ध छ। एउटा सिक्का छिराएपछि मेसिनले खाना दिन्छ। यो भेन्डर मेसिन ओकाजाकीको पार्किङ स्थलमा छ।

उनले ‘शुभकामना अनलाइन सप’ पनि चलाएका छन्। यो सेवामा ग्राहकले भनेको ठाउँमा खाना उपलब्ध हुन्छ।
व्यवसायसँगै रोजगारी सिर्जना पनि गोविन्दको उद्देश्य हो। उनका सबै व्यवसायमा गरी करिब चार सय जनाले रोजगारी पाएका छन्।
भन्छन्, ‘आफू चल्न त दुईचार ओटा रेस्टुरेन्टले पनि हुन्थ्यो। रोजगारी पनि सिर्जना गरूँ भनेर व्यवसाय बढाएको हुँ।’
उनी आफू पनि रेस्टुरेन्टको काम व्यस्त रहन्छन्। कतिपय मान्छे त उनलाई यति धेरै किन खटेको पनि भन्छन्।
उनी केही फरक तरिकाले सोच्छन्। आफू जति खट्न सक्यो उति नै व्यवसाय चल्ने हुन्छ। यही सिद्धान्तअनुसार उनी काममा लागिरहन्छन्।
गोविन्द जापानमा मात्र सीमित छैनन्। उनले मातृभूमि नेपालमा शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रमा लगानी गरेका छन्। हाइड्रो पावरमा पनि केही लगानी छ।
उनी नेपालमा लगानी बढाउँदै जाने विचारमा छन् तर नेपाली कार्यशैलीबाट निराश देखिन्छन्। उनलाई सबभन्दा बढी निराशा सरकारी निकायमा नियमअनुसार सोझो ढंगले काम नहुनुमा छ।
‘आफ्नो देश हो, माया लाग्छ। यहीँ लगानी गरेर रोजगारी सिर्जना गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर यहाँ सिधा तरिकाले काम हुँदैन,’ उनी भन्छन्, ‘जापानमा सिधा बाटो हिँड्ने मान्छे मात्र छिटो गन्तव्यमा पुग्छ भन्ने मानिन्छ। नेपालमा सिधा बाटो हिँडेर कहिल्यै पुगिँदैन, घुमाउरो हिँड्नुपर्छ।’
उनका अनुसार सिधा बाटो भन्नु कानुन र नियमसंगत काम फटाफट पूरा हुनु हो। घुमाउरो बाटो भन्नु ढिलासुस्ती, भनसुन र लेनदेन हो।
उनी भन्छन्, ‘नेपालमा लगानी गर्छु, कर तिर्छुभन्दा समेत धेरैतिर मिलाउनुपर्ने खालको संयन्त्र छ। सहज तरिकाले कुनै केही काम हुँदैन। समयमा काम सकिँदैन।’
अनेक असहजताका बीचमा पनि आफ्नो देशमा लगानी गर्न आफू अघि बढेको उनको भनाइ छ।
गोविन्द २७ वर्षअघि जापान पुग्दा त्यहाँ नेपालीहरू थोरै थिए। करिब तीन दशकमा ठूलो बदलाब आएको छ। नेपालीहरू जापान जाने क्रममा बढेको छ। जापानमा नेपालीको जनसंख्या बढेको छ।
उनले एसियाको विकसित मुलुक जापानमा आफ्नो व्यवसाय चलाएको साढे दुई दशकमा जापानी जीवनशैली, व्यवसाय, समाज र संस्कृतिको अनुभव हासिल गरेका छन्।
उनका अनुसार जापानमा इमानदारीको ठूलो महत्त्व छ। पढ्न वा अन्य प्रयोजनमा जापान जानेलाई नियम पालनामा इमानदार बन्न उनको सुझाव छ।
उनले इमानको एउटा उदाहरण दिए। जस्तो कि, जापानमा तरकारी पसलमा बिक्रेता बसेको हुँदैन। आफूलाई चाहिने तरकारी लिएर पैसा तिर्ने व्यवस्था हुन्छ।
पसलमा बिक्रेता नभए पनि त्यहाँको सिस्टमले अनुगमन गरिरहेको हुन्छ। यस्तोमा इमानदारीको ठूलो महत्त्व हुन्छ।
जापान जानुअघि त्यहाँको भाषा सिक्नु राम्रो हुने पनि उनको सुझाव छ।
‘नियममा रहेर इमानदारीपूर्वक काम गर्छु, कमाउँछु भन्ने हो भने नेपालीका लागि जापान धेरै सहज छ। कतिपय भाइबहिनीले त्यहाँको अनुशासित जीवनशैली अपनाउन सकेका छैनन्,’ उनी भन्छन्, ‘जापानमा कामदारको खाँचो छ। हामी (नेपाली) लाई काम चाहिएको छ। जापानमा काम गर्न इमानदारी र मेहनत अनिवार्य शर्त हो भन्ने भुल्नु हुँदैन।’
गोविन्द सामाजिक गतिविधिमा पनि संलग्न छन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत् समाज सेवामा सक्रिय छन्। उनले जापानमै एनआरएनएको सदस्यता लिए। संगठनको सदस्य हुँदै उपाध्यक्ष भए।
एनआरएनएमा हाल देखिएको विवादले गोविन्दलाई केही खिन्न बनाएको छ।
‘एनआरएनएमा लाग्नुको उद्देश्य विदेशमा रहेका नेपालीहरू एकजुट हुनु हो, विदेशमा कमाएको पैसा आफ्नो देशमा लगानी गर्नु हो,’ उनी भन्छन्, ‘हाम्रो देश गरिब भयो भने विदेशमा हाम्रो महत्त्व हुँदैन। हामीले बुद्धिविवेक पुर्याउन सक्यौं भने नेपाली भनेर शिर ठाडो पार्न सक्छौं।’
दुईतिर फर्किएका एनआरएनए सदस्यहरू एक ठाउँमा आउनुको विकल्प नरहेको उनको ठहर छ। एकजुट हुन आआफ्ना हठ त्याग्न उनको सुझाव छ।
सर्वोच्च अदालतले पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा अधिवेशन सम्पन्न गराउने निर्णय दिएकाले त्यसैअनुसार अघि बढ्नु उत्तम विकल्प हुने उनले ठानेका छन्।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]