ग्लोबल नेपाली
लमजुङका शिवहरि पौडेल १४ वर्षअघि पर्यटक भिसामा जापान गएका थिए।
जापानको राजधानी टोकियो एक महिना घुम्दा उनलाई त्यतै व्यापार-व्यवसाय गर्ने सोच आयो।
नेपालमा गरिएको लगानी के होला भन्ने डरले राम्ररी सुत्न नसकेका पौडेललाई टोकियोमा लगानी गरे डुब्दैन भन्ने पक्का थियो।
'नेपालमा व्यवसाय गरेको अनुभवले मलाई टोकियोमा लगानी गर्न प्रेरित गरेको हो,' उनले भने।
पौडेलले नेपालमा २०५५ सालदेखि नै व्यवसाय सुरू गरेका थिए। काठमाडौंका तीन ठाउँमा टेलिभिजन शोरूम खोलेका थिए। यसबाहेक कार्गो सेवा र ट्राभल क्षेत्रमा पनि लगानी गरेका थिए।
जापान गएपछि उनले पर्यटक भिसालाई बिजनेस भिसामा परिवर्तन गरे।
'अनि पचास लाख नेपाली रूपैयाँ लगानी गरेर रेस्टुरेन्ट खोलेँ,' उनले भने।
अहिले जापानमा पौडेलका तीनवटा नेपाली र तीनवटा जापानी गरी ६ वटा रेस्टुरेन्ट छन्। उनले सुपरमार्केट, ट्राभल एजेन्सी र रियल-इस्टेट (घरजग्गा) मा पनि लगानी गरेका छन्।
उनले एभरेस्ट ट्रेड लिंक कम्पनी कडा गरेर सुपरमार्केट, रेस्टुरेन्ट र अष्टलक्ष्मी नामक ट्राभल एजेन्सी सञ्चालन गरिरहेका छन्। रियल-इस्टेट मार्फत घरजग्गा खोजिदिने, कोठा भाडामा मिलाइदिने, रेस्टुरेन्ट किनबेच गरिदिने काम गर्छन्।
छोटो समयमै जापानमा जमेका पौडेलले तीन वर्षअघि टोकियोमा खोलेको 'रातोमाटो रेस्टुरेन्ट' निकै प्रसिद्ध छ।
टोकियोको शिन ओकुवो र ओकुवो क्षेत्रमा मात्रै नेपालीहरूका ४५ वटा रेस्टुरेन्ट छन्। तीमध्ये फरक शैलीको रातोमाटोले नेपालीको मात्र होइन, जापानीहरूको पनि मन तानेको उनी बताउँछन्।
यो रेस्टुरेन्टको विशेषता भनेको माटोको भाँडामा पकाउने र खुवाउने हो।
'चियादेखि सबै खानेकुरामा माटोकै भाँडामा पकाएर खान दिइन्छ। ग्राहकलाई नयाँ स्वाद दिन रातोमाटो रेस्टुरेन्ट खोलेको हुँ,' पौडेलले भने, 'सय वर्षअघि हामी कस्ता भाँडामा पकाउँथ्यौ, खान्थ्यौं भनेर झल्किने गरी रेस्टुरेन्ट बनाइएको छ। यसको डिजाइन पनि पूरै नेपाली कला र संस्कृतिको झल्को दिने खालको छ।'
यहाँ थकाली सेट खानाका लागि नेपालीहरूको भिड हुन्छ। सँगै जापानीहरूको पनि भिड देखेर खुसी लाग्ने उनले बताए।
उनको रेस्टुरेन्टको अर्को मनपराइएको परिकार मट्का चिया पनि हो। रेस्टुरेन्टमा मट्का स्टेसन नै छ जहाँ चिया खाएर कपमा नाम वा मनलागेको कुरा लेखेर त्यहीँ सजाएर राख्न पाइन्छ।
पौडेलले अब टोकियोका अरू ठाउँमा पनि नयाँ रेस्टुरेन्ट खोल्ने योजना बनाएका छन्। उनले जापानीहरूसँग मिलेर पनि व्यवसाय थपिरहेका छन्।उनका व्यवसायमा धेरै नेपालीले रोजगारी पनि पाएका छन्।
'टोकियो जस्तो ठाउँमा बसेर, व्यापार नेपालीहरूलाई नै रोजगारी दिन पाउँदा निकै खुसी लाग्छ,' पौडेलले भने।