इसराइलले २२० जनाभन्दा धेरै प्यालेस्टिनी मारेर आतंककारी समूह हमासको कैदमा रहेका आफ्ना चार नागरिकलाई शनिबार रिहा गराएको छ।
हमासले मध्य गजास्थित नुसेरत शरणार्थी शिविरमा आफ्ना नागरिकलाई कैदमा राखेको सूचना पाएपछि इसराइलले ध्वंसात्मक सैनिक कारबाही गरेर रिहा गराएको हो।
इसराइलले सुरूमा आफ्नो एक जना नागरिक उक्त शिविरमा राखिएको थाहा पाएको थियो। उनलाई छुटाउने तयारीका क्रममा अरू पनि त्यहीँ छन् भन्ने थाहा भएको 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ।
रिहा गरिएका चारमध्ये एक जना एउटा भवनबाट र बाँकी तीन जना करिब दुई सय मिटर परको अर्को भवनबाट उद्धार गरिएका हुन्।
आफ्ना नागरिक रिहा गराउन इसराइलले अन्धाधुन्ध आक्रमण गरेर कल्पनै गर्न नसकिने क्षति पुर्याएको 'द वासिङ्टन पोस्ट' ले लेखेको छ।
उक्त कारबाहीमा कैयौँ आवासीय भवन ध्वस्त पारिएका थिए। ट्यांकहरूले सडकमा आतंक मच्चाएका थिए। अस्पतालका एम्बुलेन्ससमेत चल्न नदिइएको दाबी प्यालेस्टिनीले गरेका छन्।
एउटा अस्पतालमा त अलिकति हल्लिएको जोसुकैलाई हेलिकप्टरबाट हमला गरिएको दाबी त्यहाँ काम गर्ने एक चिकित्सकले गरेको भनेर वासिङ्टन पोस्टले लेखेको छ।
इसराइलले यस्ता कारबाही प्राय: राति गर्थ्यो। यसपालि हमासलाई झुक्याउन दिउँसै कारबाही गरेको हो। 'अल जजिरा' का अनुसार एउटा भवनमा गरिएको कारबाही सजिलै सफल भएको थियो भने अर्को भवनमा भीषण गोली हानाहान भएको थियो।
यो कारबाही गर्न हप्तौंदेखि योजना बनाएको इसराइलले खुलाएको छ। कारबाहीका लागि अमेरिकाले समेत जासुसीमा सहयोग गरेको खुलेको छ।
अहिलेसम्म हमास र इसराइल कसैले पनि मारिएकामध्ये कति जना हमासका लडाकु र कति सर्वसाधारण थिए भनेर खुलाएका छैनन्। हमासले भने इसराइली सैन्य कारबाहीमा अरू केही बन्धकसमेत मारिएको दाबी गरेको छ।
हमासले गत अक्टोबर ७ को आतंककारी हमलामा बन्धक बनाइएका १०० जनाभन्दा बढीलाई वार्तापछि गत नोभेम्बरमा विभिन्न चरणमा छाडेको थियो।
बन्धक छुटाउने इसराइली सैनिक कारबाही खासै सफल भएका छैनन्। एकैचोटि चार जना बन्धक छुटाउन सफल भएपछि इसराइलभरि हर्षोल्लास छाएको छ। तर ती चार जना छुटाउन २२० भन्दा बढी प्यालेस्टिनी मारेपछि र त्यत्रो विध्वंश गरेपछि फेरि पनि इसराइलमाथि गैरसैनिक क्षति कम गर्न पर्याप्त सावधानी नअपनाएको आरोप लाग्नेछ। उसले गजामा कारबाही गर्दा सर्वसाधारणलाई जोगाउन कत्तिको ध्यान दिन्छ भन्ने प्रश्न पनि उठेको छ।
हमासले सदाझैं सर्वसाधारणका बीचमा बन्धकहरूलाई राखेको र यो कारबाही क्रममा पनि गैरसैनिकहरूको पछाडि बसेर आफ्ना सैनिकमाथि हमला गरेको दाबी इसराइलले गरेको छ।
गत अक्टोबर ७ मा हमासले गरेको आतंककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर विध्वंश मच्चाएको छ।
इसराइली कारबाहीमा हमासका लडाकु मात्र नभएर महिला र बालबालिकासहित दसौं हजार गैरसैनिक प्यालेस्टिनीको मृत्यु भइसकेको छ। विस्थापित भएकाहरूले खानसमेत पाइरहेका छैनन्। त्यही कारणले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)