एघार वर्षे छोरीले सोधेकी थिइन्, 'घुस भन्या के हो?' उनको प्रश्नले म एकछिन स्तब्ध भएको थिएँ। प्रश्न गाह्रो भएर हैन, उनको कलिलो मस्तिष्कले 'घुस' भन्ने शब्द उच्चाहरण गरेकाले मैले असहज महसुस गरेको थिएँ।
अमेरिकामा छौं हामी। परिश्रम गरी खाइरहेका छौं। घरबाहिर, अफिस, स्कुललगायत जताततै दिनभरी नै अङ्ग्रेजी नै बोल्नु बाध्यता भए पनि घरभित्र पसेपछि आपसमा नेपालीमै बोलीचाली गर्दछौं। मेरा छोराछोरी दुवै नेपाली बोल्दछन् र अरुले बोलेको पनि बुझ्दछन्।
हाम्रो घरमा घुस भन्ने शब्द यसअघि कसैको मुखबाट कहिले पनि उच्चाहरण भएको थिएन। तर छोरीले घुसको कुरा कहाँबाट सुनेर आइन्, मलाई अचम्म लागेर आयो। मैले जिज्ञासा राख्दा उनले हामी नेपाली बीचको कुनै एउटा कार्यक्रममा कुनै प्रसंगमा नेपालको प्रगतिमा अवरोध हुनुमा घुस नै प्रमुख कारण भन्ने उनले सुनेकी रहिछन्।
घुसको अर्थ लगाउन मलाई नै लाज लाग्यो। किनकी उनलाई घुस भनेको महाअपराधका रुपमा आफ्नो स्कुलले शिक्षा दिएको छ। नेपालमा घुस शब्द अत्याधिक प्रयोग हुने मध्यको भएकाले छोरीलाई कसरी यसका बारेमा स्पष्ट पारौं भनेर म सोचमा परे।
आउने वर्ष नेपाल जाने छोरीको योजना छ। नेपालमा गएर अनाथ केटाकेटीलाई भेट्ने र तिनीहरुको सहयोगका लागि दुई महिना भोलेन्टियर काम गरेर फर्कने योजना बुनेकी छोरीलाई घुस भन्ने शब्दले पिरोलेको रहेछ।
मैले उनलाई घुसका बारेमा सबै बताएँ। एकछिन जिब्रो टोकिन् र सोधिन्- जनताले विरोध गर्दैनन्? अदालतले न्याय दिंदैन? घुस नियन्त्रण गर्ने संस्था छैन? आदि। उनका लागि घुसको परिभाषा मात्र पर्याप्त थिएन, उनको कलिलो मस्तिष्कले सरल भाषामा जान्न खोजेको थियो घुस खानुको कारण, नियत र यसको नियन्त्रण।
माथिको प्रसंग दोस्रो पुस्ताका हाम्रा अधिकांश छोराछोरीले सोध्ने, बुझ्ने र घृणा गर्ने एउटा तीतो सत्य हो।
हाम्रा सन्तानले यस्तै जिज्ञासा राख्दछन् तर हाम्रो समाज र त्यसभित्र मौलाएको संस्कार नै यति दुषित भएको छ कि घुस, भ्रष्टाचार, अनैतिक आय आर्जनलाई निरुत्साहित गर्नुभन्दा त्यसलाई बढावा दिन्छ। यस प्रकारको कमाइबाट ठड्याइएका महल तथा अप्रत्यासित रुपले परिवर्तन भएको रहनसहनलाई फलानोले क्या प्रगति गरेछ भनेर ज्यु ज्यु गर्ने त यही समाज हो नि।
लामो समयसम्म मुलुकको प्रमुख राजनीति हाँकेका नेता र तिनका वरिपरी बस्नेहरुको जीवनशैलीमा आएको परिवर्तन नै भष्ट्राचारको हेर्नलायक नमुना मान्न सकिन्छ। भ्रष्टाचारले मानिस, परिवार, समाज र राष्ट्रलाई नकारात्मक असर पारेको हुन्छ। यसैको नकारात्मक प्रभावले नेपालका सत्ताधारी र श्रमजीवी जनताबीच आज ठूलो खाडल देखिन्छ।
त्यस्तै, मुलुकको बागडोर सम्हालेका राजनीतिक व्यक्तिहरु दिन प्रतिदिन मोटाउँदै जाने र राष्ट्र खोक्रो हुँदै जाने भइरहेको छ। फलस्वरुप, जनताले थाम्नै नसक्ने गरी विदेशी ऋणको भारी बोक्नु परको छ।
भ्रष्टाचारलाई हामी कुनै अमुक व्यक्तिले अनैतिक रुपमा कमाएको पैसा, नियत र आचरणसँग मात्र जोडेर हेर्दछौं। तर, यसलाई गहिराइमा गएर बिश्लेषण गर्ने हो भने भ्रष्टाचारको ठाडो असर मुलुकको विकासक्रममा परेको हुन्छ। त्यसैले त आज नेपाली जनताको टाउकोमा विदेशी ॠणको ठुलो भारी छ।
उर्जाशील युवाहरु खाडी लगायतका मुलुकहरुमा श्रम गर्न बाध्य भएका छन्। देशमा रोजगारी छैन, घर परिवार पाल्ने कुनै आधार छैन। अड्डा अदालत, शान्ति सुरक्षादेखि स्वास्थ्य सेवा समेत राजनीतिक हस्तक्षेपका कारण प्यारालाइज बनाइएका छन्। पेट पाल्नका लागि कि त नेताहरुको शरण पर्नु पर्दछ कि अनैतिक काममा संलग्न हुनु पर्दछ। तर, नेपाली युवाहरुले त्यस्तो बिसंगतीलाई चुनौती दिंदै इमान्दारिताको परिचय दिएका छन्। खाडीलगायत अन्य मुलुकमा गएर श्रम गरेर देशलाई पालेका छन्।
भ्रष्टाचार समाजको र देशको शत्रु हो। भ्रष्टाचार भनेको महाअपराध हो। यसलाई तत्काल नियन्त्रण गर्न सकिएन भने हामीले हाम्रो जीवनकालमा नेपालको विकास भोग्न पाउने छैनौं। हामीले विश्व सामुन्ने नेपाली भनेर गर्व गर्ने बाटो बन्द हुनेछ। हाम्रा सन्ततीले हामीलाई धिक्कार्ने छन्। त्यसैले मातृभूमीभित्रै रहेका तथा विश्वभरी छरिएका असल नागरिक, राष्ट्रवादी व्यक्तिहरू एक ढिक्का भएर यसका विरुद्ध लाग्दै नेपाल बनाउने अब बाटो खुलेको छ।
अपराधको कुनै जात, धर्म, देश, भाषा हुँदैन। यदी तपाईंको आफ्नो गाउँठाउँमा विकासका लागि कुनै कार्यक्रम सञ्चालन हुँदैछ भने सहयोग गर्नुस्। अनुगमन गर्नुस्। तर, सेवाग्राहीलाई ढिलासुस्ती हुँदैछ वा कुनै अवरोध हुँदैछ, भष्ट्राचार हुँदैछ भने त्यसकाविरुद्द शान्तिपूर्ण रुपले प्रतिकार गर्नुस्, साथीभाइ र मिडियालाई सुचित गर्नुस्। आफ्नो गाउँठाउँ वा शहरमा विकासका बजेट आउछन्। कार्यालय, स्कुल, अस्पताल लगायतका सेवामूलक निकायहरुलाई सहयोग गर्नुस्। ढिलासुस्ती र भष्ट्राचारमा सचेत हुँदै आफ्ना वरिपरिको समाजलाई पनि सचेत बनाउनुस्। त्यस्तै, गाउँठाउँमा बाटोघाटो, धारा, बिजुली, भवन आदिका लागि बजेट विनियोजन भएकोमा सचेत हुनुस्। यही नै देश विकासका लागि एउटा सचेत नागरिकको कर्तव्य हो।