ग्लोबल नेपाली
संसारको विकसित मुलुक अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा आतंककारी हमला भयो। त्यो घटना हेलिकप्टर चालक अनिल थापाका लागि व्यक्तिगतरूपमा निकै ठूलो 'दुर्भाग्य' भइदियो।
अनिल नेपालमा हेलिकप्टर उडाउँथे। उडान सम्बन्धी थप अध्ययन र अभ्यासका लागि सन् २००१ को सुरूतिरै अमेरिका गएका थिए।
अमेरिकामै हेलिकप्टर उडाउने उनको लक्ष्य नजिक आउँदै थियो। तर सेप्टेम्बर ११ मा भएको हमलाले लक्ष्य पूरा हुन पाएन। हमलापछि अमेरिकाले विदेशी पाइलटलाई जागिर नदिने निर्णय गर्यो।
'अमेरिकाले विदेशी पाइलटलाई उडान गर्न नदिने नियम ल्याएपछि मैले त पाइसकेको जागिर पनि छाड्नुपर्ने भयो,' उनले भने।
उडान गर्न नपाउने भएपछि उनले अमेरिकामै व्यापार सुरू गरे। ठिकै चल्दै थियो।
सन् २००५ को सुरूआतमा उनी क्यानडातिर गए।
उनका अनुसार त्यस बेला क्यानडामा नेपाली समुदाय निकै सानो थियो। धेरै क्यानेडियनलाई नेपालबारे थाहा थिए। थाहा पाएका पनि धेरैलाई स्वतन्त्र देश हो भन्ने जानकारी थिएन, भारतको एउटा राज्य ठान्थे।
अनिलले क्यानडामा नेपाल चिनाउने कार्यक्रम बनाए। त्यसैअनुसार 'नमस्ते रेडियो' नामको रेडियो स्टेसन सुरू गरे।
यो बीस वर्षअगाडिको कुरा हो। क्यानडामा नमस्ते रेडियो बीस वर्षदेखि निरन्तर चलिरहेको छ। यो रेडियोमा हरेक शनिबार नेपाली भाषामा कार्यक्रम चल्छ।
'नेपाललाई एउटा देशको प्रान्तजस्तो ठानेको थाहा पाएपछि नेपाल चिनाउन र नेपालीको पहिचान जोगाउन रेडियो सुरू गरेँ,' अनिलले भने, 'नेपालीको रेडियोमा हरेक शनिबार नेपाली भाषामा नेपालीको आवाज गुन्जिन्छ। यसको एक मात्र उद्देश्य नेपाल चिनाउनु र नेपालीको पहिचान जोगाउनु हो।'
रेडियोसँगै उनले 'इभेन्ट म्यानेजमेन्ट' (कार्यक्रम व्यवस्थापन) कम्पनी चलाएर नेपाली सांस्कृतिक कार्यक्रम र कन्सर्ट गराए। एउटा 'कन्सल्टिङ फर्म' पनि चलाए।
'सूचना र मनोरञ्जनको दुनियाँमा लागेँ। कन्सर्टहरू आयोजना गरेँ। नेपाली फिल्म देखाएँ,' अनिलले भने, 'कोही क्यानडा आएर व्यापार गर्न चाहन्छ भने यहाँको नियम के छ, कसरी काम भन्नेबारे जानकारी चाहिँदा हाम्रो कन्सल्टिङ फर्मले सहयोग गर्थ्यो।'
अनिल सन् २०१३ देखि २०१५ सम्म गैरआवासीय नेपाली संघ, क्यानडाको अध्यक्ष पनि भए।
आफू नेपाललाई गौतम बुद्ध र सगरमाथाको देशका रूपमा चिनाउन सक्रिय रहेको उनी बताउँछन्। विदेशी भूमिमा आफ्नो समुदायको पहिचानको महत्त्व धेरै हुने उनले बताए।
'आफ्नो (नेपाली) समाज बलियो नहुँदासम्म व्यक्तित्व विकास गर्न र राष्ट्रको पहिचान बनाउन गाह्रो हुँदो रहेछ,' उनले भने।
हाल अनिल 'द एभरेस्ट ग्रुप' नामको कम्पनी चलाउँछन्। यस अन्तर्गत हाल तीन वटा परियोजना छन् — घरजग्गा कारोबार सम्बन्धी, रेस्टुरेन्ट, बैंक्वेट तथा मःम कारखाना र सूचना-प्रविधि सम्बन्धी कम्पनी।
उनले क्यानडामै दुई ठाउँमा १०२ एकड (करिब ६१ बिघा) र ७४ एकड (४४ बिघा) खेत पनि किनेका छन्। यी खेत स्थानीय किसानलाई कमाउन दिएका छन्। १०२ एकडको खेतमा भने बस्ती बसाल्ने योजनामा लागेका छन्।
अनिल क्यानडामा राजनीतिमा समेत सक्रिय छन्। अब हुने संसदीय निर्वाचनमा उम्मेदवार बन्ने उनको महत्त्वाकांक्षा छ।
हाल उनी क्यानडाको विपक्षी कन्जरभेटिभ पार्टीमा आबद्ध छन्। विन्डसर सहर क्षेत्रमा प्राइमरी इलेक्सन (पार्टीमा हुने आन्तरिक निर्वाचन) को उम्मेदवार हुने उनको तयारी छ।
'म जुन क्षेत्रको चुनाव लड्ने तयारी गर्दैछु, त्यहाँ कन्जरभेटिभ पार्टीका तर्फबाट अरू आठ जनाले पनि उम्मेदवारी दिएका छन्। त्यहाँ गोरा समुदायको बाहुल्य छ,' उनी भन्छन्, 'म आप्रवासी हुँ। आप्रवासीप्रतिको दृष्टिकोण केही फरक पर्छ तर पार्टीले विभेद गर्दैन। म प्राइमरी इलेक्सन (निर्वाचन) जित्छु भन्ने आशा छ।'
अनिलका अनुसार प्राइमरी इलेक्सनमा उम्मेदवार हुन पार्टीले तोकेको मापदण्ड पूरा गर्नुपर्छ। आकांक्षीले आवेदन गरेपछि उसको व्यक्तिगत गतिविधि र पृष्ठभूमि सबै छानबिन गरेर पार्टीले निर्णय दिन्छ।
'मैले पार्टीले तोकेका सबै मापदण्ड पूरा गरेको छु। आन्तरिक प्रतिस्पर्धामा छानिएर संसदको उम्मेदवार बन्छु र जित्छु भन्ने आशा छ,' उनले भने।
अनिलले ताकेको क्षेत्रमा हालसम्म न्यू डेमोक्र्याटिक पार्टी (एनडिपी) ले निर्वाचन जितेको छ। पार्टीको नेतृत्व भारतीय मूलका पञ्जावी जगवीर सिंहले गरेका छन्। एनडिपी मजदुर र किसानको आवाज उठाउने पार्टीका रूपमा चिनिन्छ। अमेरिकी सिमाना नजिकै पर्ने यो क्षेत्रमा उद्योगको संख्या निकै ठूलो छ। बस्तीमा मजदुरको जनसंख्या धेरै छ।
क्यानडामा लिबरल पार्टीको सरकार छ। यही वर्षको अक्टोबर २५ मा निर्वाचन गर्ने भनिएको छ। अनिलका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएकाले निर्वाचन अगाडि सर्ने सम्भावना छ। यसो भयो भने आगामी मेमा चुनाव हुन सक्ने उनले बताए। अहिले क्यानडाको आर्थिक अवस्था बिग्रिँदै गएकाले आगामी निर्वाचमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने सम्भावना उनले देखेका छन्।
विदेशी भूमिमा आफूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दा मात्र सफलता मिल्ने उनको निष्कर्ष छ।
'दुइटा डुंगामा खुट्टा राख्नु हुँदैन। विदेशमा बलियो भएर काम गर्नुपर्छ भन्ने सोचेर अघि बढ्दा मात्र सफल हुन सकिन्छ,' उनी भन्छन्, 'केही नभए नेपालमा बुबाआमाको सम्पत्ति छँदैछ भनेर सोच्ने हो भने विदेशमा सफल भइँदैन। नेपालमा झन् गाह्रो हुन्छ।'
यही सिद्धान्त अनुसार अनिलले आफ्नो ध्यान व्यवसाय र राजनीतिमा केन्द्रित गरेका छन्।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]