ग्लोबल नेपाली
नेपालको गलैंचाले बजार नपाएपछि सोनाम लामा सन् १९९४ मा अमेरिका गए। खस्किँदै गरेको गलैंचा व्यापारका लागि मार्केटिङ गर्ने उनको उद्देश्य थियो। तर त्यहाँ पनि उनले बजार भेटेनन्।
अनि एक दशकदेखि चलाएको गलैंचा व्यवसाय छोडेर अमेरिकमै बस्ने निधो गरे।
सन् १९९५ मा न्यूयोर्कमा उनले 'अर्गानिक सुपर मार्केट' खोले। श्रीमती, दुई छोरी र एक छोरासहित अमेरिका पुगेका उनले सुपर मार्केट विस्तार गर्दै सात वटा पुर्याए।
'मैले न्यूयोर्कमा व्यवसाय सुरू गर्दा कोही नेपालीको व्यवसाय थिएन। केही कानुन व्यवसायी मात्र थिए। सम्भवतः न्यूयोर्कमा व्यवसाय गर्ने पहिलो नेपाली मै हुँ।'
सोनामका अनुसार सन् २००० पछि धेरै व्यवसाय थपिए। अहिले नेपालीले सुपर मार्केट, ग्रोसरी, होटल, ग्यास स्टेसन, रेस्टुरेन्ट लगायत धेरै जसो क्षेत्रमा लगानी गरेका छन्।
उनले त्यहाँको सिटी काउन्सिलबाट 'साउथ एसियन अवार्ड' पनि पाएका छन्।
सोनामले न्यूयोर्कमा 'हिमालयन याक' नामको नेपाली रेस्टुरेन्ट समेत चलाएका थिए। रेस्टुरेन्टमा मःम, थुक्पासँगै थकाली र नेवारी खाना लगायत परिकार पाइन्थ्यो।
'नेपाली खानाको स्वाद मैले नै पहिलोपटक अमेरिका पुर्याएको हुँ,' उनले दाबी गर्दै भने।
उनका अनुसार अमेरिकामा व्यवसाय गर्ने वातावरण निकै राम्रो छ।
अमेरिकामै उनी 'मुस्ताङ समाज' र 'हिमाली कम्युनिटी' नामका संस्थामा आबद्ध भए। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा जोडिएर उपाध्यक्ष समेत भए। एनआरएनएमा जोडिएपछि अमेरिकामा व्यवसाय घटाउँदै नेपालमा सुरू गरेको उनले बताए।
हाल उनको स्वामित्वमा अमेरिकामा दुइटा सुपर मार्केट छन् जुन उनकी श्रीमतीले सम्हालेकी छन्। रेस्टुरेन्ट बहालमा दिएका छन्। दुवै छोरी मेडिकल फार्मेसीमा छन्। छोरा कम्प्युटर इन्जिनियर हुन्।
सोनामले काठमाडौंको ठमेलमा 'होटल लो मुस्ताङ' र मुस्ताङमा 'लो मुस्ताङ हिमालयन रिसोर्ट' चलाएका छन्। मुस्ताङमा उनको स्याउ फार्म पनि छ। अब ठूलो क्षेत्रमा कृषि फार्म सञ्चालन गर्ने योजना रहेको र मुस्ताङमै जग्गा खोजिरहेको उनको भनाइ छ।
व्यवसायसँगै उनी 'युनाइटेड नेपाली डायस्परा अर्गनाइजेसन (युएनडिओ) को नेतृत्वमा छन्। हाल अध्यक्ष पदको जिम्मेवारीमा छन्।
एनआरएनएमा आबद्ध भएदेखि अहिलेसम्म गैरआवासीय नेपालीका एजेन्डा निरन्तर उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।
'संविधान जारी गर्ने समयमा शेष दाइ (एनआरएनएका तत्कालीन अध्यक्ष शेष घले) को नेतृत्वमा हामीले धेरै लबिङ गर्यौं। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङसँग पटकपटक छलफल गरेर संविधानमा एनआरएन नागरिकता लेख्न सफल भयौं,' सोनामले भने, 'अहिले म युनएडिओको नेतृत्वमा छु। संस्था जुन भए पनि हामीले उठाउने एजेन्डा एनआरएनकै हो।'
गैरआवासीय नेपालीका संघसंस्था स्थापना हुनु र तिनकै हितमा काम गर्नुलाई उनी स्वाभाविक मान्छन्।
'युएनडिओले उठाउने एजेन्डाले एनआरएनको हित हुन्छ। युएनडिओले विदेशमै हुर्केको दोस्रो पुस्तालाई नेपालसँग नेपालसँग जोड्ने कामलाई प्राथमिकतामा राखेको छ,' उनले भने, 'हामी त नेपाल नआउनू भने पनि आउछौं। हामीपछिको पुस्ताको अवस्था के हुन्छ भन्ने कुरा मुख्य हो। युएनडिओ दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियान हो।'
एनआरएनसँग सम्बन्धित कति संस्था खुले भन्ने भन्दा पनि तिनले केकस्ता एजेन्डा उठाए, के काम गरे भन्ने कुरा महत्त्वपूर्ण हुने उनी मान्छन्।
'हामीले नेपालबाट लैजाने केही पनि होइन। जति सकिन्छ दिने हो। जति धेरै संस्था भए उति नै धेरै प्रतिस्पर्धा हुन्छ,' उनी भन्छन्, 'जसले राम्रो काम गर्छ उसकै पछाडि मान्छे हुन्छन्। एउटा संस्थाको मात्र सिन्डिकेट रहनु हुँदैन।'
एनआरएन नागरिकता प्राप्तिका लागि आफूहरूले निरन्तर आवाज उठाएको उनको भनाइ छ।
'सरकारले गैरआवासीय नेपाली नागरिकता भनेर दियो तर त्यसले काम गरेन। अध्यागमन, मालपोत, बैंकले नचिन्ने खालको नागरिकताले काम गरेन,' उनले भने, 'हामीले नागरिकताको आवाज उठाइरहेका बेला सरकारले एनआरएन परिचयपत्रकै झल्को दिने खालको कानुन ल्याइदियो। यसले हामीलाई निराश बनाएको छ।'
संविधान अनुसारको नागरिकता अभियानमा लागेको भए पनि १० वर्षे भिसा प्रावधान मात्रै राखेर राज्य अनुदार बनेको उनको आरोप छ।
एनआरएनका बारेमा पनि उनको आफ्नो अलग मत छ। विद्यार्थी र छोटो समयका लागि रोजगारीमा विदेश गएका व्यक्तिला एनआरएन मान्नु नहुने उनको धारणा छ।
अहिलेका लागि राजनीतिक बाहेकका अधिकार पाउने गरी नागरिकताको कुरा गरे पनि मूल माग नेपाली नागरिकताको निरन्तरता नै भएको उनी बताउँछन्। आफूले पाएको वंशजको नागरिकताकै आधारमा आफ्ना सन्तान र तिनका सन्तानले पनि नागरिकता पाउनुपर्ने उनको भनाइ छ।
उनले नेपालमा पर्यटन, जलविद्युत र कृषिमा निकै फराकिलो सम्भावना देखेका छन्। गैरआवासीय नेपालीहरूले पनि यी क्षेत्रमा लगानी गर्न चाहेको उनले बताए। यसका लागि उचित नीति र लगानीको वातावरण बनाउनुपर्ने उनको धारणा छ।
'मैले सन् १९९५ मा व्यवसाय सुरू गरेर केहीलाई रोजगारी दिएकाले अमेरिकाले मेरो परिवारका पाँचै जनालाई सन् १९९६ मै ग्रीनकार्ड दियो। नेपालमा भने मेरो नागरिकताको समेत निरन्तरता हुँदैन,' उनले भने, 'हामीले विदेशबाट ल्याएको ज्ञान, सीप र पुँजी नेपालमा लगानी गरेका छौं तर राज्यको व्यवहार सहज छैन।'
उनले थपे, 'न्यूयोर्कमा सय जनालाई रोजगारी दिने लगानीले नेपालमा हजार जनालाई दिन सकिन्छ। यसकारण पनि नेपालमा लगानी बढाउन चाहन्छु।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]