ग्लोबल नेपाली
सत्र वर्षको उमेरमा अमेरिका गएका राजन थपलिया सुरूमा डाक्टर बन्न चाहन्थे। यसमा उनको भन्दा पनि परिवार र आफन्तको चाहना धेरै थियो।
यसका लागि आधार पनि बनाउँदै थिए। तर आर्थिक भार धेरै पर्ने देखेपछि उनले डेटा साइन्स विषय पढ्न थाले। त्यही पढाइले आज उनलाई अमेरिकाका विश्वविद्यालयहरूमा प्राध्यापक बनाएको छ। अनि यसकै निरन्तरताले उनी आइटी विज्ञ भएका छन्।
'एक जना दाइले मलाई डेटा साइन्स पढ्न सुझाव दिनुभयो। त्यो बेला उहाँ यही विषषमा मास्टर्स गर्दै हुनुहुन्थ्यो,' ३४ वर्षीय राजनले भने, 'यसको माग झनझन बढ्दै जाने कुरामा मलाई विश्वास लाग्यो। अनि मैले पनि यहो बाटो रोजेँ।'
उनका अनुसार आइटी क्षेत्रमा डेटा साइन्सको महत्व पहिलो नम्बरमा छ। अहिले संसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सक्रिय भएसँगै आफ्नो रोजाइ उपयुक्त लाग्न थालेको उनले बताए।
अहिले राजन अमेरिकाको मेरिल्यान्डस्थित प्रो-म्याट्रिक कम्पनीमा इन्जिनियरिङ विभागमा विषयविज्ञका रूपमा कार्यरत छन्। त्यसबाहेक उनी सिटी युनिभर्सिटी अफ न्यूयोर्क र क्यालिफोर्नियाको नेसनल युनिभर्सिटीमा मास्टर्स तथा पिएचडी तहमा कम्प्युटर साइन्स र डेटा साइन्स पढाउँछन्।
राजनलाई कम्प्युटर र गणितमा पहिल्यैदेखि रूचि थियो। ठूलाठूला कम्पनीमा काम गर्न पाइन्छ, नयाँ कुरा सिक्न पाइन्छ भनेर पनि उनलाई डेटा साइन्सले तानेको थियो।
'डेटा भनेको आधुनिक युगमा सुन बराबर हो। धनाढ्य भारतीय मुकेश अम्बानीले त डेटालाई तेल (जैविक इन्धन) भनेका छन्,' उनले भने, 'डेटाबाट धेरै कुरा निकाल्न सकिन्छ भन्ने मैले राम्रोसँग बुझेको छु।'
नेपालमा पनि डेटा र आइटी इन्जिनियरहरू बढिरहेका छन्। तर उनीहरू 'लो प्रोफाइल' मै बसेर काम बेवसाइटदेखि कम्प्युटरका प्रोग्राम बनाउन र बनाउन सिकाउनेसम्मका काम गरिरहेका छन्।
उनीहरूलाई अवसर दिन सरकाले यसै क्षेत्रमा काम गरेका स्टार्ट-अप कम्पनीहरूमा लगानी गर्नुपर्ने उनी बताउँछन्। त्यस्तै यस क्षेत्रका अन्तर्राष्ट्रिय प्रतियोगिता र सम्मेलनहरूमा सहभागी हुँदा, विदेशी ठूला कम्पनीका इन्जिनियरहरूसँग अन्तर्क्रिया गर्दा, प्रोजेक्टमा आधारित भएर काम गर्दा पनि नेपाली इन्जिनियरहरूको दायरा फराकिलो हुन्छ।
'नेपालले आइटी व्यापार गर्न सक्ने सम्भावना प्रशस्त छ,' राजनले भने, 'काठमाडौंमा बसेर विदेशको काम गरेर मेरा केही साथीले महिनामै दुई/तीन लाख रूपैयाँ कमाइरहेका छन्।'
नेपाललाई आइटी हब बनाउने हो भने सरकारले यसमा लगानी गर्नुपर्ने, नीतिहरू परिवर्तन गर्नुपर्ने, अन्तर्राष्ट्रिय जर्नल प्रकाशन गर्नुपर्ने, एआईसँग सम्बन्धित कम्पनी खोल्नेलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन्।
राजनले नेपालको आइटी क्षेत्रमा काम गर्न डेटा जुपिटर नामक कम्पनी खोलेका छन्। यसकै माध्यमबाट रूकुम, रोल्पा, जाजरकोट र डडेल्धुरा लगायत जिल्लामा कम्प्युटर र बिजनेस शिक्षा दिने तयारी छ।
'हामीले पढाउने मात्र होइन, नेटवर्किङ बढाउन पनि प्रयास गर्ने हो। हामीसँग ज्ञान र क्षमताको कमी छैन। हाम्रो लागि बोल्दिने मान्छे नभएकाले नेटवर्किङ नै ठूलो कुरा हो,' उनले भने।