ग्लोबल नेपाली
डिभी (डाइभर्सिटी भिसा) मा छानिएर सन् २००३ मा अमेरिका गएका बुद्धिसागर सुवेदीका ४२ वटा ग्यास स्टेसन (पेट्रोल पम्प) र ६ वटा होटल छन्। रियल-इस्टेट (घरजग्गा) मा पनि लगानी छ।
कतै उनको एकल लगानी छ त संयुक्त। उनी अमेरिकाको नेपाली समुदायमा औंलामा गन्न सकिनेमध्येका सफल व्यवसायी हुन्। उनीसहितको एउटा टिमले भैरहवामा पाँच तारे होटलमा समेत लगानी गरेको छ।
उनले दुई दशकमा यति उच्चस्तरको आर्थिक हैसियत कसरी बनाए?
उनको सिधा जबाफ छ, 'इमानदारीका साथ मेहनत गरेँ, भाग्यले पनि साथ दियो।'
नेपालमा उनी त्रिभुवन विश्वविद्यालयमा पढाउँथे। अमेरिका पुगेपछि उनीसँग कमाउने वा पढ्ने दुई विकल्प भए। उनले कमाइको बाटो रोजे।
कमाइका लागि उनले ग्यास स्टेसनमा काम थाले। त्यहाँ दुई वर्ष जति काम गरेपछि आफ्नै काम सुरू गर्नुपर्छ भन्ने सोचेर अघि बढे।
'हामी नेपालबाट विदेश जाँदा लगभग शून्यमा हुन्छौं। खाली हात लिएर गएका हुन्छौं। दिमाग पनि खाली नै हुन्छ,' उनले भने, 'सुरुमा मैले शिकागो नजिकै विस्कन्सिन राज्यमा ग्यास स्टेसनभित्र कन्भिनेन्स स्टोर सुरू गरेँ। पेट्रोल बेचेर त्यसको सबै कमाइ साहुलाई दिन्थेँ। अरू सामान बेचेको कमाइ मेरो हुन्थ्यो।'
यो सन् २००५ अन्त्यतिरको कुरा हो।
नेपालको डिपार्टमेन्ट स्टोर जस्तै कन्भिनेन्स स्टोरमा उनले विभिन्न पेय पदार्थ र धेरै खालका फास्टफुड (तयारी खाना) राखेका थिए। त्यसको सबै कमाइ उनकै हुन्थ्यो। स्टोर राख्न पाएको सुविधाबापत उनले पेट्रोल बेचिदिनुपर्थ्यो। उनलाई भाडा र क्रेडिट कार्ड शुल्कको भार थिएन।
करिब तीन वर्ष त्यसरी काम गरेपछि उनले सन् २००८ मा आफ्नै लगानीमा ग्यास स्टेसन सुरु गरे। कमाइ बढ्न थाल्यो। ग्यास स्टेसन थप्दै हालसम्ममा ४२ वटा पुर्याएका छन्।
ग्यास स्टेसनको संख्या बढ्दै जाँदा लगानी अझै फराकिलो पार्न उनले होटल र रियल-इस्टेट क्षेत्र रोजे।
'मलाई एउटै व्यवसायमा मात्र भर पर्नु हुँदैन भन्ने लाग्थ्यो। त्यही सोचअनुसार होटल र रियल-इस्टेटमा लगानी गरेँ,' उनले भने, 'अहिले हामीसँग तीन तारेदेखि पाँच तारेसम्म गरी ६ वटा होटल छन्। ती होटल ह्यात प्यालेस, हिल्टन, होलिडे इन ब्रान्डमा चलेका छन्।'
उनी हाल रियल-इस्टेटमै बढी केन्द्रित छन्। यसअन्तर्गत एकल स्वामित्वमा रहने घर, अपार्टमेन्ट र हाउजिङका घर बनाएर बेच्ने काम गर्छन्।
उनका दुई छोरा पनि यो काममा सक्रिय छन्। सबै खालका गरेर अहिलेसम्म पाँच सयवटा घर बेचेको उनले बताए।
विस्कन्सिन राज्यमा सुवेदीले घर बनाउँदै गरेको बस्ती 'माडीकोट' नामले चिनिएको छ। मार्गको नाम पनि 'माडी मार्ग' राखिएको छ।
नेपालमा उनको घर चितवनको माडीमा छ। यसैकारण अमेरिकामा 'माडीकोट' नाम रहेको हो।
'अहिले माडीकोटमा ३२ वटा घर बन्दै छन्। हामी १६० वटा हाउजिङ तयार गर्दै छौं,' उनी भन्छन्, 'दुई सय परिवार बस्न मिल्ने गरी अपार्टमेन्ट पनि बन्दै छ। मेरा छोराले स्थानीय अमेरिकीहरूसँग मिलेर चलाएको यो प्रोजेक्ट १ करोड ८० लाख डलर (करिब दुई अर्ब ४५ करोड रूपैयाँ) को हो।'
उनका अनुसार ग्यास स्टेसन, रियल-इस्टेट र होटलमा गरी करिब एक हजार जनाले रोजगारी पाएका छन्।
विश्वकै ठूलो अर्थतन्त्र रहेको मुलुक अमेरिकाका लागि सुवेदीको व्यवसाय गणनामा नआउन सक्छ। तर नेपालबाट गएर उनले मारेको फड्को चानचुने छैन।
सबै व्यवसायमा गरी आफ्नो कुल लगानी ९ करोड अमेरिकी डलर (१२ अर्ब रूपैयाँभन्दा बढी) भएको उनी बताउँछन्।
'अमेरिकामा ८० प्रतिशत बैंकको र २० प्रतिशत मात्र आफ्नो लगानी हुन्छ। व्यवसाय गर्ने क्रममा त्यसको मूल्य भन्न गाह्रो हुन्छ,' उनले भने, 'व्यवसायमा बैंककै लगानी धेरै हुने भएकाले वास्तविक साहु बैंक नै हुन्छ। यसरी भन्दा मेरो लगानी ९० मिलियन (९ करोड) डलर जतिको होला।'
उनी संलग्न टिमले नेपाल र अमेरिका जोड्ने गरी भैरहवामा 'टाइगर प्यालेस' होटल जिम्मा लिएको छ। सुवेदी नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा छन् तर उनको मनमा थोरै भय पनि छ।
उनका अनुसार अमेरिका र नेपालमा व्यवसायको वातावरण धेरै फरक छ। अमेरिकामा काम गर्ने आँट भएपछि लगानी गर्न डर हुँदैन। नेपालमा पैसा र आँट भएर मात्र हुँदैन, काम गर्ने वातावरण सहज छैन।
'अमेरिकामा व्यवसाय गर्नेलाई राज्यले संरक्षण गर्छ। सरकारले व्यवसायबाट नै देशको अर्थतन्त्र चलेको हुन्छ भन्ने विश्वास गरेको हुन्छ,' उनी भन्छन्, 'कुनै मेयरले चुनाव हार्ने र जित्ने कुरा कति नयाँ व्यवसाय सुरु भयो, कतिले रोजगारी पाए भन्ने तथ्यले निर्धारण गर्छ।'
अमेरिकी सरकारले कोभिडको समयमा व्यवसायीको यसरी संरक्षण गर्यो कि, त्यसले नयाँ व्यवसायीहरू थपिए। त्यहाँ रहेका नेपालीहरू पनि व्यवसायमा आकर्षित भए।
सुवेदी गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष समेत रहिसकेका छन्।
नेपालमा व्यवसायीलाई हेर्ने आममानिसको नजर पनि उति सकारात्मक नरहेको उनको अनुभव छ। सरकार र कर्मचारीको तहमा पनि व्यवसायीप्रतिको नजर अनुकूल छैन। अमेरिकामा व्यवसायीले जोखिम उठाउने आँट जसरी गर्न सक्छ, त्यसरी नेपालमा नसक्ने उनी बताउँछन्।
'व्यवसायीकै कारणले सुविधा पाएका छौं भन्ने सोच जनतामा नआउँदासम्म व्यवसायीमा त्रास रहिरहन्छ,' उनले भने, 'व्यवसायीहरू बेइमान हुन् भन्ने मान्दासम्म नयाँ लगानी आउँदैन। लगानी सम्मेलन गरेर मात्र हुँदैन, अनुकूल कानुन र वातावरण पनि बनाउनुपर्छ।'
उनले नेपालको कानुनमा कमजोरी र प्रक्रियामा धेरै झन्झट देखेका छन्।
भन्छन्, 'नेपालमा दुई अर्थ लाग्ने कानुन छन्। अमेरिकामा सरकारी निकायले नै काम सहज बनाइदिन्छ। नेपालमा सकेसम्म दुःख दिने चलन छ। ग्रीन सिग्नल कतै छैन, जतासुकै रेड मात्र छ।'
भैरहवामा तारे होटलमा गर्ने लगानी सिंगापुर, दुबई वा अमेरिकामै किन नगरेको भनेर आफूलाई साथीहरूले प्रश्न गर्ने गरेको उनले बताए।
आफ्नो मातृभूमिप्रति जिम्मेवारी छ, यहाँ लागनी बढाउनुपर्छ भन्ने सोचले नेपालमा लगानी गरेको उनको भनाइ छ।
उनले आफ्नो निर्णय सुनाए, 'अर्कालाई दोष दिएर मात्र हुँदैन, हामीले पनि केही जिम्मेवारी लिनुपर्छ भनेर नेपाल आएको हुँ।'