मकवानपुरका कुमार दाहाल सन् २००८ मा पहिलोपटक इसराइल गए। नेपालमा स्नातक तहसम्म पढेर चिनियाँ लुगाको होलसेल व्यापार गरे। तर नाफा कमाउन सकेनन्। अन्ततः उनी वैदेशिक रोजगारीका लागि इसराइल पुगे।
'त्यो बेला मैले खासाबाट कपडा ल्याउने र होलसेलमा बेच्ने व्यवसाय सुरू गरेको थिएँ। त्यसमा घाटा लागेपछि इसराइल गएँ,' उनले भने, 'इसराइलमा केयरगिभर भएर काम गरेँ। त्यसपछि नेपाल आएँ अनि सन् २०१३ मा क्यानडा गएँ।'
नेपाल र क्यानडा आउजाउ भइरहे पनि विकसित मुलुक क्यानडातिरै मन बस्यो। उनी कामदार भिसामा गएका थिए, विभिन्न कम्पनीमा काम गरे। थोरैतिनो कमाइ गरे। आत्मबल बढ्दै गयो। विगत चार वर्षदेखि उनी आफ्नै व्यवसायमा सक्रिय छन्।
'विदेशमा सबै कुरा आफूले सोचजस्तो हुँदैन। केही वर्ष जे काम पाइयो, त्यही गर्नुपर्ने बाध्यता हुन्छ,' उनले भने, 'विभिन्न ठाउँमा काम गरेपछि आफ्नै व्यवसाय सुरू गर्ने साहस पलायो। त्यसपछि रियल-इस्टेटमा हात हालेँ। अहिले क्यानडाको ओन्टारियोमा घरजग्गाको कारोबार गर्छु।'
क्यानडामा घरजग्गा किनबेचका लागि 'रियल-इस्टेट ब्रोकर' अनिवार्य हुन्छ। अधिकांश विकसित मुलुकमा रियल-इस्टेट ब्रोकरले मात्र घरजग्गा किनबेचको कारोबार गर्न पाउने प्रावधान छ।
यस्तो कारोबार गर्न निर्धारित मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्छ। सरकारले तोकेको नियम र परिधिमा रहेर कारोबार गर्नुपर्छ।
'हामी (ब्रोकर) ले घरजग्गा किनबेचमा सहयोग गर्ने हो। हामी त्यहाँको लाइसेन्स होल्डर रियल-इस्टेट एजेन्ट हौं,' उनी भन्छन्, 'भाडामा बस्नेहरूलाई समेत घर खोजिदिने काम गर्छौं तर मुख्य कारोबार घरजग्गा किनबेच नै हो।'
कुमारका अनुसार क्यानडामा घर किन्ने चाहने व्यक्ति क्रेता हुन योग्य हुनुपर्छ। आफूसँग पैसा भएको भरमा मात्र घर किन्न पाइँदैन। आफूसँग पैसा कम छ भने पनि घर किन्न रोकिँदैन।
घर किन्न चाहने व्यक्तिको आम्दानी कति छ भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण हुन्छ। बैंकले ९५ प्रतिशतसम्म ऋण दिने भएकाले व्यक्तिले आफ्नो क्षमताका आधारमा घर किन्न सक्छ।
कुमारका ७० प्रतिशत ग्राहक नेपाली समुदायका हुन्छन्। उनले घर किन्ने क्रममा नेपालीले गर्ने गल्ती समेत औंल्याएका छन्।
उनका अनुसार आफ्नो क्षमताले भन्दा पनि देखासिकीमा घर किन्न खोज्ने प्रवृत्ति छ। तँभन्दा म के कम भनेर घर किन्न खोज्दा केही वर्षमा जसोतसो लोन (ऋण) तिर्न सके पनि त्यसपछि कतिपयलाई अप्ठ्यारो पर्ने गरेको छ।
उनी भन्छन्, 'घर किन्ने भनेको लामो प्रक्रिया हो, २५ देखि ३० वर्षसम्मको योजना हुन्छ। त्यति समयसम्म घरको किस्ता तिर्न सक्ने-नसक्ने हेरिन्छ। आम्दानी र खर्चको मूल्यांकन गरेर किन्न सक्ने वा नसक्ने कुरा हामी बताइदिन्छौं।'
कुमारले घरजग्गाको कारोबारसँगै नेपाली स्वादको होटल 'मुस्ताङ थकाली एन्ड बार' पनि चलाएका छन् जहाँ नेपाली स्वादका परिकार पाइन्छन्।
उनी सामुदायिक काममा समेत सक्रिय छन्। उनले ओन्टारियो सहरको लन्डनमा 'क्रिकेट क्लब' स्थापना गरेका छन्। यो क्लबले नेपाली युवाहरूलाई घुलमिल गराउने प्रयास गरेको उनको भनाइ छ।
'म समूहमा रमाउने मान्छे हुँ। तीन वर्षदेखि लन्डनमा एउटा क्रिकेट क्लब स्थापना भएको छ,' उनी भन्छन्, 'नेपालबाट गएका भाइबहिनीहरूलाई नेपाली समुदायसँग रमाउन सजिलो होस् भनेर काम गरिरहेको छु।'
नेपालमा घरजग्गा कारोबार गर्ने मान्छेप्रतिको नजर राम्रो नरहेको उनको ठहर छ।
'क्यानडामा यस्तो (नेपालमा जस्तो) हुँदैन। नेपालमा घरजग्गा कारोबार गर्नेलाई किन राम्रो दृष्टिले हेरिँदैन भन्ने मलाई थाहा छैन तर नजर राम्रो नरहेको देखेको छु,' उनी भन्छन्, 'क्यानडामा लाइसेन्स लिएर सरकारको निती नियममा रहेर काम गर्नुपर्छ। म त गर्वका साथ म रियल-इस्टेट एजेन्ट हुँ भन्न सक्छु।'