जन्मेको ठाउँ र हुर्केको गाउँ कसलाई प्यारो हुदैन र? विदेशमा बसे पनि मुलुक भनेपछि जुरूक्कै जाग्ने नेपाली समाजको विशेषता बेग्लै छ। त्यसैले पनि एनआरएन अभियान र यसको महत्वले प्रवासी नेपालीलाई एकाकार बनाएर राख्न सफल भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यतिखेर अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वासिलो साझेदार संस्थाको रूपमा अगाडि बढ्दै गरेको तथ्य कसैबाट लुकेको छैन। ८० भन्दा बढी देशमा संरचना र सद्भावलाई अगाडि बढाएको एनआरएनए यतिखेर आफ्नो मुल मुद्दा छाडेर बहकिएको हो कि भन्ने लाग्न थालेको छ।
संसारभर फैलिएका नेपालीलाई मुलुकसँग प्रत्यक्ष जोड्ने यस संस्थामा यतिखेर केही राजनीति र केही बेथितिले प्रवेश पाउँदै गर्दा आम सदस्यमा निराशा र चिन्ता थपिएको छ।
घरको झगडा लगेर छिमेकीलाई मिलाउन आग्रह गरेझैं आफू भित्रका झिना मसिना कुरालाई परराष्ट्र मन्त्रालय पुर्याएर विवादको बखेडा झिक्नु संस्थागत तबरमा अशोभनीय कार्य थियो। निश्चयनै कुनै पनि संघ संस्थाले आकार फैलाउँदै त्यसमा झिना मसिना समस्या देखिनु स्वभाविक पनि हो। तर समस्याको समाधान खोज्न बाहिर जानु भने गलत र न्यायसंगत थिएन र हुँदैन पनि।
यतिखेर विश्व मानचित्रमा परक र अलग पहिचान बनाउन सफल हुँदाहुँदै आम मानिसलाई भने एनआरएन अभियानले औंला ठडाउने मौका दिइएको छ।
मुलुक दुख्दा होस् या आपत विपतमा जुरुक्कै एक भएर उठ्ने प्रवासी नेपाली समाजका लागि यस्ता प्रवृत्तिले अन्योल र अविश्वास बढाउने निश्चित छ।
प्रवासी नेपाली समाजको हक र अधिकार अनि मुलुकको हितका खातिर जोडिने मन र तनको यो समूह यतिखेर कता कता कता कांग्रेस र कम्युनिष्टका नाममा दिगभ्रमित हुन थालेको त हैन भनेर प्रश्न गरिन थालिएको छ।
यदाकदा आम मानिसले यस्तो प्रश्न उठाइरहँदा हामी परोपकारी भावमा एनआरएन अभियानका लागि होमिएका हजारौं मानिको मनमा कता कता चिसो पसेको अनुभव हुन्छ।
राजनीति र लोकतन्त्रमा विश्वास गर्ने जो कोही नेपालीले पनि फरक र अलग विचार बोक्न सक्छन्। तर कहाँ के गर्ने र के का लागि भन्ने विषय महत्वपूर्ण हुन्छ। हामी लोकतन्त्रमा विश्वास राख्ने ब्यक्तिले पनि सोच्ने कुरो भनेको त्यही हो।
राजनीति गर्ने ठाँउ फरक हुन्छ। तर परोपकारी र सेवाभावको संस्थामा यसको पहिरन आवश्यक छैन। एनआरएन अभियान सेवाभाव बोकेको र आम नेपालीसँग जोडिएको संस्था भएकोले यसमा राजनीतिक जुत्ता चप्पल ढोका बाहिर राख्नु जरुरी हुन्छ।
दुर्भाग्य, यतिखेर केही ठूला राष्ट्रहरू अमेरिका र अस्ट्रेलियामै राजनीतिका बाछिटा मडारिँदै गरेको देखिन्छ। बिधि विधान र संस्थाको सर्वोच्चतालाई लात मारेर आफूखुसी निर्णय गर्दै अगाडि बढ्ने अभिष्ट राजनीतिक चाहना नै एनआरएनमा यतिखेर विवादको चुरो कुरो हो।
समाजसेवा र परोपकारी भावमा जित र हार स्वभाविक रहन्छ। मानिसको निरन्तरता महत्वपूर्ण रहन्छ तर केही साथीहरु आफ्नो चाहना पुरा नभएपछि अड्डा अदालत र परराष्ट्रसम्म पुग्नु आफैंमा दुःखदायी विषय हो।
संस्थागत विकासको मुद्दा बोक्ने साथीहरू विधि विधानको खिल्ली उडाएर अगाडि बढ्ने कुरा गर्नुहुन्छ। अनि संस्थालाई हाँक्ने जमर्को गर्ने मित्रहरू राजनीतिको भर्याङ चढेर कुर्सीको प्राप्तीको चाहना राख्नुहुन्छ।
संस्थाको सर्वोच्चताका कुरा गर्ने बहुमतको निर्णय अस्वीकार गर्नुहुन्छ। गुनासा र उजुरीका चाङहरू भित्र षडयन्त्र देख्नुहुन्छ अनि संस्थाको विवाद मिलाउन परराष्ट्र गुहार्नुहुन्छ। यो भन्दा लाजमर्दो कुरा के हुनसक्छ।
मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका गैर आवासीय नेपालीको साझा संगठन एनआरएनमा यतिखेर परराष्ट्रको पत्र आंतकमा रूमल्लीएको छ। आम सञ्चार र सामाजिक सञ्जालमा इतर र भितरका नचाहिँदा बहस र पैरवीको नचाहिँदो बहस चुलिएको छ।
साच्चीकै भन्नुपर्दा यस संस्थाको आस्था र प्रतिष्ठा धुमलिदै गएको छ। कुरोको चुरो कुरो यति मात्रै हो कि- स्वार्थले भरिएको समाजसेवा र राजनीतिक दाउपेचको मेवा खान पल्केकाले यसलाई विवादको आहालमा मुछेर आफू पदमा बहाल हुने षडयन्त्र रच्दैछन्।
यसलाई बेलैमा पहिचान गरेर हामीले फाल्न सकेनौं भने यो संस्थाको लागि ‘बुढी मरी भन्ने हैन, काल पल्क्यो ’भनेझै सदा सदाको लागि एउटा अभिषाप हुनेछ। अनि आउँदा दिनमा एनआरएन राजनीतिक दलको भातृ संस्थाझै विवादको आहालमा फसेर बेहाल हुने पक्का छ।
लेखक जोशी गैर आवासीय नेपाली संघका सचिव हुन्। यो उनको निजी विचार हो।