अमेरिकामा बस्दै आएका कराँतेका खेलाडी कीर्तिमानधारी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड’प्राप्त भएको छ। एकपछि अर्को गर्दै उनले सातौं पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन्।
त्यति मात्र हैन ३ वर्ष अगाडि उनी अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए। आधा दर्जन भन्दा बढी कीर्तिमान राख्न सफल ठकुरीले नेपालको नाम विश्वमाझ राख्न पाउँदा गर्व लागेको बताए।
उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो। उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाँचौ, फेब्रुअरी २०२० मा छैठौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्।
उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौं गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो।
तर महामारीका कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए। ठकुरीले दशैंको भोलिपल्ट आफूले सातौ गिनिज वर्ल्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए।
काठमाडौंको बानेश्वरमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडि अमेरिका आएका हुन्। उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन्।