अमेरिकामा कोरोनाबाट हुने मृत्यु यस वर्षको अन्त्यसम्ममा ४ लाख १० हुने भएको छ। युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार यस्तो पूर्वानुमान गरेको हो।
यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो। उसले यो संख्या ३ हजार प्रतिदिनसम्म पुग्नसक्ने जनाएको छ।
यसैगरी अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसले जनाएको छ। यध्यपी अमेरिकामा मास्क लगाउने क्रम भने घटिरहेको विश्वविद्यालयको स्वास्थ्य मेट्रिक्स तथा मूल्यांकनले जनाएको छ।
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले समेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ।
हाल यो संख्या प्रतिदिन ८ सय ५० छ।
संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ। उसले मौसम र आममानिसमा घट्दै गइरहेको सतर्कताले यो अवस्था आउने जनाएको छ।
'जनवरी १ सम्म ४ लाख १० हजार मानिसको मृत्यु हुने अपेक्षा गरिएको छ। यो भनेको आज उपरान्त थप २ लाख २५ हजार मृत्यु हुनेछ भन्ने हो', संस्थाले भनेको छ।
यसअघि यो भने यो संख्या ३ लाख १७ हजार ६ सय ९७ हुने पूर्वानुमान गरिएको थियो।
मोडलले संक्रमणका कारण विश्वमा हुने मृत्यु सन् २०२१ को जनवरी १ सम्म अझ डरलाग्दो हुने अनुमान गरेको छ।
त्यतिबेलासम्म विश्वमा हाल अनुमान गरिएभन्दा झण्डै तेब्बर मानिसहरूको मृत्यु हुने उसको भनाइ छ। जनवरी एकसम्म २८ लाख मानिसहरूको मृत्यु हुने अनुमान उसले गरेको छ।
विश्वको तेश्रो ठूलो जनसंख्या रहेको अमेरिकामा हालसम्म भाइरसका कारण १ लाख ८६ हजार बढी मानिसहरूको ज्यान गइसकेको छ भने ६१ लाख मानिस संक्रमित भइसकेका छन्। यो संख्या विश्वमा सबैभन्दा धेरै हो।
संस्थाले यसअघि गरेको अनुमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस हराउने छ भनेर पटकपटक दिएको बयानसँग बाझिएको भएपनि हाल त्यो अनुमान गरेभन्दा डरलाग्दो निस्किएको छ।
संस्थाले आफले गर्दै आएको पूर्वानुमानलाई नियमित आवधिक गर्दै सोमा सुधार गर्दै संक्रमणको सम्भावित तस्विर प्रस्तुत गर्दै आइरहेको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने केबल चार हप्तासम्मको पूर्वानुमान गर्ने गरेको छ। उसले पछिल्लो समय कोरोनाका कारण हुने मृत्यु सेप्टेम्बर २६ सम्म १ लाख देखि २ लाख ११ हजारसम्म हुने प्रक्षेपण गरेको छ।
संस्थाले अमेरिकीहरूले मास्क लगाउन अस्वीकार गर्दै आएको भएपनि सम्भावित मृत्युलाई रोक्न अझैपनि असाधारण अवसर रहेको बताएको छ।
'मास्क प्रयोग सिगांपुरको तहमा भएमा कुल मृत्युलाई २ लाख ८८ हजार वा १ लाख २२ हजारमा सिमित गर्नसकिन्छ' उसले भनेको छ।
'मास्कको प्रयोग अगस्टमा भाइरस उच्चतम बिन्दुमा पुगेयता घट्ने क्रम जारी रहेको छ। इलिनोइस र आयोवामा सहितका राज्यहरूमा संक्रमण बढिरहेको भएपनि मध्यपश्चिमभर मास्कको प्रयोग उल्लेख्यरूपमा घटेको छ', रिपोर्टमा भनिएको छ।
हाल अमेरिकामा संक्रमण जुलाईमा देखिएको ७० हजार प्रतिदिनबाट घटेर ४५ हजार प्रतिदिनमा झरेको छ।
कोरोनाको संक्रमणबाट हुने मृत्यु अमेरिकामा मुटुजन्य रोगका कारण हुने मृत्यु संख्यापछि धेरै हो भने क्यान्सरका कारण हुने मृत्यु भन्दा बढी हो।
टेक्सस, फ्लोरिडा र क्यालिफोर्निया जस्ता ठूला अमेरिकी राज्यहरूमा संक्रमण दर घटेको छ। यसले राष्ट्रिय संक्रमण दरलाई समेत घटाइदिएको छ।
तर १० राज्यहरू, जसमा धेरैजसो मध्यपश्चिमका राज्यहरू छन्, त्यहाँ संक्रमणको औषतदर एक भन्दा माथि छ जसले संक्रमण अझै तीव्र गतिमा फैलिरहेको संकेत गरिरहेको रिपोर्टले भनेको छ।