आफ्नो एक बयानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशस्तै आलोचना खेप्न थालेका छन्।
युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई 'हरूवा' र 'बुद्धु' भनेकोमा उनको आलोचना भएको हो।
ट्रम्पको यो बयान सबैभन्दा पहिला 'द एट्लान्टिस' पत्रिकामा छापिएको बिबिसीले जनाएको छ। त्यसपछि यसको अंशलाई एसोसिएटेड प्रेस(एपी) र फक्स न्यूजले प्रकाशित गरेको बिबिसीको समाचारमा उल्लेख छ।
यध्यपी ट्रम्प र उनका सहयोगीले यसलाई अस्वीकार गरेका छन्।
बयान सार्वजनिक भएपछि पूर्व अमेरिकी सैनिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।
यसबारेमा प्रगतिशील समूह वोटवेट्स एक भिडिओ पोस्ट गरेको छ। भिडिओमा युद्धमा मारिएका सैनिक परिवारका बालबालिकालाई देखाइएको छ।
भिडिओमा एक जनाले 'तपाईंलाई थाहा छैन बलिदान के हो' लेखेका छन्।
इराक र अफगानिस्तानमा सैन्य सेवा गरेका पल रेचफ नाम गरेका एक पूर्व अमेरिकी सैनिकले ट्वीट गर्दै 'यसबाट वास्तवमा कसलाई आश्चर्य भएको छ' भनेका छन्।
विश्लेषकहरूले ट्रम्पको यस बयानले उनको राष्ट्रपतिमा पुनः निर्वाचित हुने चाहानामा झट्का लाग्नसक्ने बताएका छन्।
'द एटलान्टिसका अनुसार' सन् २०१८ मा 'हारेका मानिसले भरिएको स्थान' भन्दै पेरिसमा रहेको अमेरिकी सैनिकहरूको स्मारक स्थलको भ्रमण गर्ने कार्यक्रम रद्ध गरेको समाचार प्रकाशित गरेको थियो।
पत्रिकाले चार वटा श्रोतको हवाला दिदैं त्यतिबेला पानी परिरहेको र त्यसले ट्रम्पमा आफ्नो कपाल बिगर्ने डर रहेको र युद्धमा मारिएका सैनिकलाई सम्मान गर्नु उनका लागि महत्वपूर्ण नभएको लेखेको छ।
यही भ्रमणका बेलामा ट्रम्पले बेलेयूवुडमा मारिएका १८ सय अमेरिकी सैनिक बुद्धु भएको बताएका थिए।
यिनै सैनिकहरूका कारण पहिलो विश्वयुद्धमा जर्मन सेना पेरिससम्म पुग्न असफल भएका थिए।
'द एट्लान्टिसले' आफ्नो रिपोर्टमा गोपनिय सूत्रको हवाला दिएको छ भने एपीले भने आफूले यसलाई स्वतन्त्ररूपमा पुष्टि गरेको जनाएको छ। यस्तै फक्स न्यूजका संवादाताले केही बयानहरूको पुष्टि गरेको बताएका छन्।
ह्वाइट हाउसले समाचारलाई 'झूटो समाचार' भनेर प्रतिवाद गरेको छ।
उसले खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि कार्यक्रम रद्ध गर्नुपरेको बताएको छ। यसको पुष्टि ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै लेखेको किताबमा गरेका छन्। यध्यपी उनी ट्रम्पका प्रखर आलोचक हुन्।
ट्रम्पको भनाइको आलोचना गर्दै आसन्न राष्ट्रपति चुनावमा उनलाई सो पदमा चुनौती दिइरहेका जो बाइडनले ट्रम्प देशको नेतृत्व गर्न असक्षम रहेको बताएका छन्।