अमेरिकामा मंगलबार एकैदिन एक हजार बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
रोयटर्सका अनुसार मंगलबारको यो संख्या जुन महिनाको सुरूमा भएको संख्या भन्दा धेरै हो।
हालसम्म अमेरिकामा करिब १ लाख ४२ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
विज्ञहरूले आगामी दिनमा संक्रमितहरू अस्पताल भर्ना हुने संख्यामा अझ वृद्धि देखिने चेतावनी दिएका छन्।
अमेरिकामा अप्रिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको थियो।
त्यतिबेला प्रतिदिन औषतमा २ हजार जनाले कोरोनाका कारण मृत्युवरण गर्नुपरेको थियो। त्यसपछि मे महिनामा मृतक संख्या प्रतिदिन १३ सयको औषतमा पुगेको थियो भने जुनमा ८ सयमा झरेको थियो।
अमेरिकी राज्यहरूले सुरक्षा बिन्दुमा नपुगी लकडाउन खोलेपछि अमेरिकामा संक्रमण पुनः बढ्न सुरू भएको थियो। पछिल्लो समय एरिजोना, फ्लोरिडा र टेक्सस लगायतका राज्यहरूमा संक्रमित संख्यामा दैनिक वृद्धि भइरहेको छ।