अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका छन्।
ट्रम्पको यो बयान अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी राज्य र स्थानिय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गराउनका लागि हरसम्भव प्रयास गरिदिन आग्रह गरेको समयमा आएको हो।
फाउचीले कोरोना रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा जोड दिदैं आएका छन्।
अमेरिकामा मास्क प्रयोग हाल एउटा राजनीतिक मुद्दा बनेको छ। मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिदैं आएको छ।
ट्रम्प स्वयं मास्क प्रयोगबाट लामो समय टाढा बसेका थिए। गत साता भने उनी मास्कमा देखापरेका थिए।
बिबिसीमा प्रकाशित समाचारका अनुसार अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अनिवार्य मास्कको प्रयोगमा आफ्नो सहमति नरहेको बताएका हुन्। कुराकानीमा उनले मानिसहरूलाई यसमा स्वतन्त्रता दिइनुपर्ने धारणा राखेका थिए।
अमेरिकामा मास्क प्रयोगमा विभाजन देखिए पनि विश्वका अधिकाशं स्वास्थ्य विज्ञहरूको भने कोरोना रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुनेमा एकमत छन्।
अमेरिका हाल कोरोनाबाट विश्वको सर्वाधिक प्रभावित मुलुक हो। पछिल्ला सातामा त्यहाँ कोरोना भाइरसको कीर्तिमानी वृद्धि देखिएको छ।
हालसम्म त्यहाँ ३६ लाख मानिसमा संक्रमण पुष्टि भएको छ बने १ लाख ३९ हजार बढी मानिसको मृत्यु भइसकेको छ।
बिहीबारमात्र अमेरिकामा ७७ हजार बढीमा संक्रमण पुष्टि भएको थियो जुन संक्रमण सुरू भएयताकै उच्च संख्या हो।
यो महिना अमेरिका ५० मध्ये ३० राज्यमा दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको छ।