अमेरिकाको फ्लोरिडा राज्यमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको रोयटर्सले जनाएको छ।
आइतबार २४ घण्टाको अवधिमा त्यहाँ १५ हजार बढी नयाँ संक्रमित फेला परेका छन्।
यो संख्या अमेरिकाको एक चौथाई हुन आउँछ।
समाचारका अनुसार फ्लोरिडालाई देश मान्दा त्यहाँ एकै दिनको अवधिमा थपिएको संक्रमित संख्या विश्वको चौथो धेरै हुन आउँछ।
हाल अमेरिका, ब्राजिल र भारतमा प्रत्येक दिन विश्वका अन्य मुलुकको तुलनामा धेरै संक्रमित फेला परिरहेका छन्।
फ्लोरिडामा देखिएको यो वृद्धि महामारीको बेलामा आफ्नो उच्चतम विन्दुमा पुगेका जुनकुनै युरोपेली मुलुकको दैनिक वृद्धिभन्दा बढी हो।
फ्लोरिडाले सुरूमा महामारीबाट सर्वाधिक प्रभावित बनेको न्यू योर्क राज्यको रेकर्डलाई समेत पछि पारेको छ।
महामारी सुरू भएपछि न्यू योर्कमा अप्रिल १० मा एकैदिन परेका १२ हजार ८ सय ४७ जनाको संख्यामा संक्रमित फेला परेका थिए।
फ्लोरिडामा संक्रमित थपिएसँगै कयौं अस्पतालहरूले आफ्ना भेन्टिलेटर सुविधायूक्त वेडहरू भरिएको बताएका छन्।
त्यसैगरी रोयटर्सको विश्लेषण अनुसार अमेरिकाका ४० राज्यमा बितेका २ सातामा त्यसअघिका दुई साताको दाँजोमा संक्रमित संख्या बढेको छ।
संक्रमित संख्या बढिरहेका अन्य राज्यमा ऐरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन्।
हाल अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख २ हजार ८ सय ७० पुगेको छ।
यस्तै कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ३७ हजार नाघिसकेको छ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्नुमा सामाजिक दुरी नमान्नु र मास्क नलगाउनुले ठूलो भूमिका खेलेको बताइन्छ।
पछिल्लो समय अमेरिकामा मास्कको प्रयोग धेरै अमेरिकी राज्यमा अनिवार्य गरिएपनि मानिसहरूले त्यसको पालना गरिरहेका छैनन् भने कयौं ठाउँमा स्वतन्त्रताको हनन भएको भन्दै मास्क लगाउनुपर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शन गरिएका छन्।