अमेरिकाका संक्रामक रोगका प्रमुख विज्ञ डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाको 'गम्भीर समस्या' रहेको बताएका छन्।
कोरोना भाइरसविरूद्धको लडाईंका लागि गठित अमेरिकी टास्क फोर्सले दुई महिनापछि गरेको ब्रिफिङमा बोल्दै डा. फाउचीले भने, 'यसलाई हामीले खत्तम गर्ने एउटै तरिका भनेको सबै एकसाथ मिलेर हो।'
पछिल्लो समय अमेरिकाका १६ राज्यमा कोरोना संक्रमित उच्च संख्यामा बढेका छन्।
स्वास्थ्य विज्ञहरूले संक्रमण रोकथामका लागि अझ धेरै काम गर्नुपर्ने बताएको भएपनि उपराष्ट्रपति माइक पेन्सले भने भाइरस रोकथाममा अमेरिकी प्रगतिको प्रशंसा गरेका छन्।
बिहीबारमात्र अमेरिकामा एकैदिन आजसम्मकै धेरै संक्रमित फेला परेका थिए। बिहीबार एकैदिन ४० हजार नयाँ संक्रमण फेला परेको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।
हालसम्म अमेरिकामा २४ लाख बढी संक्रमित प्रमाणित भइसकेका छन् भने १ लाख २४ हजार ७ सय ४९ जनाको मृत्यु भइसकेको छ।
शुक्रबारको ब्रिफिङमा ह्वाइट हाउस टास्क फोर्सले लक्षण नदेखिएकाहरूलाई पनि परीक्षण गर्न भनेको छ।
संक्रमित संख्या बढ्न थालेपछि टेक्सस, फ्लोरिडा र एरिजोना राज्यले लकडाउन खोल्ने योजनालाई रोकेका छन्।
पछिल्लो दिनमा बढेको संक्रमणदरमध्ये केहीलाई परीक्षण दायरा बढाइएकोसँग जोड्न सकिने बताइएको छ।
स्वास्थ्य अधिकारीले अमेरिकाको कोरोना संक्रमितहरूको वास्तविक संख्या हाल बताइएको भन्दा १० गुना बढी हुनसक्ने बताइसकेका छन्।
त्यहाँको केन्द्रीय रोग नियन्त्रण केन्द्रले करिब २ करोड अमेरिकी मानिस कोरोनाबाट संक्रमित भएको हुनसक्ने अनुमान आफ्नो अध्ययनले देखाएको बताइसकेका छन्।
'तपाईहरू देख्न सक्नुहन्छ केही क्षेत्रमा हामीले गम्भीर समस्याको सामना गरिरहेका छौं', डा. फाउचीले भने, 'त्यसकारण देशको एउटा क्षेत्रमा भइरहेको कुराले अन्ततः अर्को क्षेत्रमा असर पार्न सक्छ।'
फाउचीले हाल देखिएको वृद्धि लकडाउन चाँडो खोल्नाले भएको हुनसक्ने धारणामा ब्रिफिङ्मा व्यक्त गरे।
उनले संक्रमण बढ्नुमा लकडाउन खोल्न क्रमवद्ध तरिका पालना नगरिनु र नागरिकहरूले पनि निर्देशनहरूको पालना नगर्नु भएको बताएका छन्।
'मानिसहरूले अरूलाई संक्रमण गराइरहेका छन् र यसका कारण तपाईंले अन्ततः संक्रमणको खतरामा रहेकालाई सार्नुहुनेछ', उनले भने।
'यसमा तपाईंको तपाईंका लागि व्यक्तिगत जिम्मेवारी छ। तर योसँगै तपाईंको सामाजिक जिम्मेवारी पनि छ किनकी तपाईं यस महामारीलाई साँच्चै अन्त्य गर्न चाहनुहुन्छ भने हामीले हामी पनि यस प्रक्रियाको हिस्सा हौं भन्ने मान्नुपर्छ', ब्रिफिङमा फाउचीले भने।
उनले संक्रमण फैलिनेक्रमलाई नरोके यसले कोरोना रोकथाममा राम्रो काम गरिरहेका क्षेत्रमा पनि असर गर्नसक्ने बताए।