अमेरिकाको कोरोना भाइरस महामारी विरूद्धको लडाईंको शीर्ष मोर्चामा खटिएका महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले केही अमेरिकी राज्यहरूमा कोरोनाको संक्रमणमा तीब्र वृद्धि हुन थालेको आशंका व्यक्त गरेका छन्।
फाउचीको नेतृत्वमा रहेको स्वास्थ्य विज्ञहरूको समूहले अमेरिकी सरकारलाई भाइरसको नयाँ लहर आउन लागेको चेतावनी दिएको बिबिसीले जनाएको छ।
अमेरिकाका केही राज्यहरूमा पछिल्लो समय भाइरसको संक्रमणमा लगातार वृद्धि देखिएको छ।
अमेरिकाका शीर्ष चार स्वास्थ्य विज्ञहरूले संक्रमण बढ्ने आशंका गरेको भएपनि उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना परीक्षण कम गर्ने सल्लाह नदिएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले अक्लोहमा राज्यमा यसै सप्ताहन्त गरेको एक र्यालीमा आफूलाई परीक्षण कम गर्ने सल्लाह दिइएको बताएका थिए।
फाउचीले अमेरिकामा धेरै मात्रामा परीक्षण गरिएको स्वीकार गरेका छन्।
अमेरिका हाल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको मुलुक हो। त्यहाँ हालसम्म २३ लाख बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने एक लाख २० हजार मानिसको मृत्यु भइसकेको छ।