रोयटर्सले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणले अधिकाशं अमेरिकी मुलुकमा जर्ज फ्लोइडको हत्यालाई लिएर भइरहेको राष्ट्रव्यापी प्रदर्शनको समर्थनमा रहेको देखाएको छ।
उक्त सर्वेक्षणले उनीहरू जारी प्रदर्शनमा राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको विपक्षमा रहेको पनि देखाएको छ।
गत सोमबार मिनिसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अस्वेत पुरूषको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएको विरोधमा हाल अमेरिकाभर विरोध प्रदर्शन भइरहेको छ।
घटनामा मारिएका जर्जलाई एक प्रहरी अधिकारीले नियन्त्रणमा लिने नाममा लामोसमयसम्म आफ्नो घुँडाले घाँटी थिचेका थिए। झण्डै ९ मिनेटसम्म घाँटी थिचिएको उनको मृत्यु भएको थियो।
घटनाको भिडिओ सामाजिक संजालमा पोस्ट भएपछि प्रहरीले निहत्था मानिसको हत्या गरेको भन्दै विरोध प्रदर्शन सुरू भएको थियो।
यसरी भएका केही प्रदर्शनहरूले हिसांत्मक रूप लिनुकासाथै कयौं ठाउँहरूमा लुटपाटमा समेत भएको छ।
स्थितिलाई नियन्त्रणमा लिन अमेरिका थुप्रै शहरमा हाल कर्फ्यू लगाइएको छ।
घटनामा संलग्न प्रहरी हत्या आरोपमा पक्राउ परिसकेका छन्।
घटना रंगभेदी कदम भएको त्यसमा राज्यको अश्वेत नागरिकप्रतिको हेराइ छताछुल्ल भएको प्रदर्शनकारीको भनाइ रहेको छ।
सोमबार र मंगलबार गरी रोयटर्सले गरेको दुई दिने सर्वेक्षणले ६४ प्रतिशत अमेरिकीले प्रदर्शनकारीहरूप्रति आफूहरूको सहानुभूति रहेको बताएका छन्।
यस्तै २७ प्रतिशतले भने आफूहरू विपक्षमा रहेको बताएका छन् भने ९ प्रतिशतले भने आफूहरू के हो भन्नेमा निश्चिन्त नभएको जनाएका छन्।
सर्वेक्षणले दोश्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचिन हुन खोजिरहेका ट्रम्पका लागि एउटा राम्रो सूचक नभएको देखाएको छ।
प्रदर्शनकारीविरूद्ध ट्रम्प प्रशासनले कडा रवैया देखाउँदै आएको छ।
ट्रम्पले हिंसात्मक प्रदर्शन नरोकिए सेना प्रयोग गर्ने चेतावनी दिसकेका छन्।
नोभेम्बरमा हुन लागेको नयाँ राष्ट्रपति चुनावमा उनको प्रतिपर्धा डेमोक्रेट उम्मेदवार जोइ बाइडनसँग हुँदैछ।
यस्तै सर्वेक्षणमा ५५ प्रतिशत अमेरिकीहरूले प्रदर्शन नियन्त्रणमा ट्रम्पले अपनाएको कार्यशैलीलाई अस्वीकार गरेका छन्।
एक तिहाई सहभागीहरूले भने समग्रमा ट्रम्पको कदमको समर्थन गरेका छन्।
यसैगरी राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै रोयटर्सले गरेको अर्को एक सर्वेक्षणमा मतदातामाझ बाइडनको लोकप्रियता ट्रम्पको दाँजोमा १० प्रतिशतले बढेको देखाएको छ।
यो अन्तर अप्रिलमा बाइडन राष्ट्रपतिका लागि डेमोक्रेटतर्फको उम्मेदवार बन्ने तयभएपछि देखिएको सर्वाधिक अन्तर हो।
झण्डै दोब्बर बढी स्वतन्त्र मतदाताले जारी प्रदर्शनमा ट्रम्पको प्रतिक्रिया अस्वीकार्य भएको बताएका छन्।
रिपब्लिक मतदातामध्ये ६७ प्रतिशतले मात्र ट्रम्पको कार्यशैलीप्रति सहमति व्यक्त गरेका छन्।
यसअघि ८७ प्रतिशतले ट्रम्पको समग्र कार्यशैलीमा समर्थन जनाएका थिए।