एक अस्वेत पुरूषको हत्याको विरोधमा भएको प्रदर्शनको समाचारको प्रत्यक्ष प्रसारण गरिरहँदा मिनियापोलिसमा पक्राउ परेका अमेरिकी टेलिभिजन सिएनएनका संवाददाता रिहा भएका छन्।
ओमार जेमिनेज नाम गरेका ती संवाददातालाई प्रहरीले प्रत्यक्ष प्रसारणका लागि लाइभ रिपोर्टिङ गरिरहेका बखत नै नियन्त्रणमा लिएको थियो।
सो क्रममा उनलाई प्रहरीले हत्कडी लगाएको थियो। उनीसँगै क्यामराम्यान र कार्यक्रम निर्मातालाई समेत नियन्त्रणमा लिइएको थियो।
समाचारको रिपोर्टिङ् गरिरहेको स्थानबाट हट्न भनेको नमानेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई कुनै कसूर नलगाइ रिहा गरिएको बिबिसीले जनाएको छ।
मिनिसोटा राज्यका गभर्नर टिम वाल्जले घटनाका लागि माफी माग्दै प्रहरीको सो हर्कतलाई अस्वाकार्य भएको बताएका छन्।
सिएनएनले सो गिरफ्तारीलाई संविधानको उलघंन भएको जनाएको छ।
मंगलबार एक भिडिओ सार्वजनिक भएको थियो।
भिडिओमा जर्ज फ्लोड नामक एक अश्वेत पुरूषलाई एक पुलिस अफिसरले घुँडाले घाँटीमा अठ्याएँको देखाइएको थियो।
जर्जले सास फेर्न गार्हो भएको भन्दा समेत ती पुलिस अफिसरले उनलाई छाडेनन्। अन्ततः उनले त्यही ज्यान गुमाए।
घटनापछि मिनियापोलिसमा अहिले निकै चर्को विरोध भइरहेको छ। शुक्रबार पनि विरोध जारी थियो। सोही प्रदर्शनको प्रत्यक्ष प्रसारणमा सिएनएनका पत्रकार थिए।
सिएनएनका उमर जिमेनेज र उनका क्यामरामा रहेका केही पत्रकारहरुलाई त्यसै समय पक्राउ गरिएको थियो।