अमेरिकाका ३६ औँ राष्ट्रपति लिंन्डन बी जोन्सोनले करिब ५५ वर्ष अघि भनेका थिए - "हिजो सुधार्नका लागि हाम्रो हैन, तर भविष्यको जित या हार भने हाम्रो हो।"
नोभेम्बर २२, १९६३ का दिन अमेरिकाका ३५ औँ राष्ट्रपति जोन अफ केनेडीको टेक्ससको डालसमा हत्या भए पछि राष्ट्रपतिको कार्यभार सम्हालेका जोन्सोनले, ठिक ६ दिन पछि, आफ्ना नागरिकहरूलाई 'थ्यांक्स गिभिंग' पर्वको अवसरमा ,नोभेम्बर २८ १९६३ का दिन , दिएको सन्देशमा हिजोको पिडा बिर्सेर अघि बढ्नु नै अमेरिकनको एक मात्र विकल्प रहेको र भविष्य जोगाउने हो भने अतीतले निर्देशित हुनु हुँदैन भन्ने आशयका साथ उक्त भनाई राखेका थिए।
जनतामाझ अत्यन्त लोकप्रिय राष्ट्रपति केनेडीको हत्याले अमेरिका आतङ्कित थियो, क्रोधी थियो। अशान्त मनलाई शान्ति दिन राष्ट्रपति जोन्सोनको भनाइले सहयोग मिल्यो ।
करिब करिब त्यस्तै त्यस्तै भावना बोकेर अमेरिकामा झुल्किएका छन् 'बदलिएका बाबुराम'। अमेरिकाका विभिन्न सहरहरूमा कार्यक्रम गर्दै उनी भन्दै हिँडेका छन् " इतिहासको एक कालखण्डमा भएका घटना- दुर्घटनालाई सम्झेर बस्नु भन्दा देश बनाउने अभियानमा पुराना तिक्तता बिर्सेर हामी सब मिलेर लाग्नु पर्छ। "
युद्धका घाउहरूले बल्झिएका मनहरूलाई उनले जोड्न त अझै केही समय लाग्ला , तर उनका गतिविधिमा लचकता, बोलीमा परिवर्तन र अमेरिका भ्रमणको उद्देश्य सुन्दा लाग्थ्यो - उनी बदलिए, वा त्यो क्रममा छन्।
माओवादी विद्रोहमा भएको धन-जनको क्षति प्रति निश्चित पनि उनलाई दुख छ, यधपी उनको 'पछुतो' का केही शब्दहरूले जनमानसको पिडा कम गर्ने छैन, नत उनीहरूले गुमाएका आफन्तहरू नै फर्केर आउने छन्। उनका शब्दले घाउ भर्ने छैन, तर, त्यो घाउ कोट्याउनुको पनि फाइदा नभएको बुझाई बोकेका छन् बाबुरामले।
हुन पनि हो-- जब सम्म हामी अतीतलाई छोड्दैनौ, जब सम्म अतीतलाई माफ गर्दैनौ , जब सम्म हामीलाई महसुस हुँदैन कि आज समय फेरिएको छ र हामी नयाँ दिनमा छौ - तब सम्म अघि बढ्ने कुनै सम्भावना छैन। प्रसङ्ग या व्यक्तिगत होस् वा राजनीतिक -- पिडा बिर्सन सजिलो छैन। तर, मार्टिन लुथर किङ्गले भने जस्तै -अँध्यारोले अँध्यारोलाई कहिले पनि काट्न सक्दैन। प्रतिसोध र घृणा कदापि सृजनशील हुन सक्दैनन्। क्षमा र प्रेम मात्र भविष्यका संवाहक हुन्।
सायद यही सन्देश बोकेर डायस्पोराको भ्रमणमा छन् डाक्टर बाबुराम भट्टराई।
पूर्व लडाकु 'लाल ध्वज' बाट रूपान्तरण हुँदै लोकतान्त्रिक नेपालको प्रधामन्त्री पद समेत भोग गरेका डाक्टर बाबुराम भट्टराईको अमेरिका भ्रमण, खास गरी टेक्ससको डालस, ले भने आवश्यकता भन्दा बढी चर्चा (?) पायो। आफ्नै आँगनमा आएका नेपालका पूर्व प्रधामन्त्रीलाई स्थानीय केहीले 'लालध्वज' प्रतिको प्रतिशोध देखाए। अमेरिकाले दिएको मौलिक स्वतन्त्रता प्रयोग गर्दै उनीहरूले आफ्नो आक्रोश देखाउनु स्वाभाविक थियो, यधपी, विरोधको तरिकामा भने असहमति जनाउने धेरै छन्।
यो विरोधलाई पनि डा. भट्टराईले सहर्ष स्विकारे। एनआरएन- टेक्सस च्याप्टरले आयोजना गरेको अन्तरक्रियामा सहभागी हुन आउने क्रममा कार्यक्रम स्थलमा केही प्रदसनकारिहरुले गरेको विरोधलाई उनले सम्मान प्रकट गर्दै भने " क्रान्तिको नियम नै बलिदान हो। तर, मुलुकमा राष्ट्रिय एकता कायम गर्न पुराना घाउ बिर्सन पर्छ। युद्धका कारण पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत मिल्नु
पर्छ "
नेपालीहरूको बाक्लो बस्ती रहेको अर्भिंग सहर स्थित नेपाली मन्दिर परिसरमा भएको अन्तरक्रियामा उठाइएका 'एक से एक' कडा तर भावनात्मक प्रश्नहरूको जबाफ दिने इमानदार कोसिस गरे पनि सुन्न खोजेको कुरा नसुने पछि प्रश्नकर्ताहरु धेर-थोर खिन्न देखिन्थे। तर पनि, 'चकलेट नदेखाईकन पनि ' डा. भट्टराईले आफ्नो प्रतिबद्धता दोहोर्याय।
रमाइलो त के भने - दशक अघि मन्दिरहरू तोड्दै हिँड्ने बाबुराम, अमेरिकामा समेत नेपालीहरूले आफ्नै मन्दिर जोडेकोमा गौरव मान्दै थिए। उनले मन्दिरको अवलोकन मात्र गरेनन् -पत्नी हिसिला यमीका साथ भगवान शिव र बुद्धका साथै अन्य देवी देवताको दर्शन पनि गरे। मन्दिरका मूल पुरोहित शेखर पण्डितबाट टिका र प्रसाद पनि ग्रहण गरे। यो थियो उनको बदलिएको तस्बिर।
हिजो 'अमेरिकी साम्रज्यबाद' को विरुद्धमा चर्किने बाबुरामले हाल त्यही अमेरिका बाट केही सिक्न अमेरिकाको भ्रमणमा आएको बताएका छन् । " विश्वको नम्बर १ अर्थतन्त्र भएको मुलुक अमेरिकाबाट केही सिक्न र तपाइहरूका कुरा सुन्न अमेरिका आएको छु ' नेपाल अमेरिका पत्रकार सङ्घले डालसमा गत साता गरेको एक कार्यक्रममा भने। मैले उनलाई थप सोधेँ " हिजो त्यही देशको सके जति विरोध, आज त्यही देशलाई मोडल मानेर सिक्न आउने'? उनले स्पष्टीकरण दिए - "समय परिवर्तनशील छ, हिजो हामी राज्य व्यवस्था परिवर्तनका लागी लडेका थियौँ, आज मुलुक बनाउनका लागी लागेका छौ।"
'हिजोको लडाई सामन्ती प्रणालीका आधार बनेको संरचनालाई' भत्काउने' भएको उल्लेख गर्दै आजको आवश्यकता भनेको आर्थिक विकास र संवृद्ध नेपालको निर्माण भएको बताए।
नेपालको वर्तमान राजनैतिक अवस्था र उनको आफ्नो दलको हैसियतको राम्ररी आकलन गरेका छन् डाक्टर भट्टराईले। संसद्मा जम्मा दुई सिट रहेको दलको नेतृत्व गर्ने नेताले ठुला सपना देख्न र देखाउन मिल्ला र ? प्रश्न गर्ने ठाउँ धेरै छन्। तर पनि, विगतबाट सिक्दै भविष्यको सपना देख्ने बदलिएका बाबुरामको नियतमा शङ्का गर्ने ठाउँ तत्काललाई देखिन्न।
आशा र भरोसाको अर्को नाम हो बाबुराम भट्टराई। पिडा र आक्रोशको केन्द्रको नाम हो बाबुराम। एउटा ठुलो समूहलाई सहज छैन , चटक्क पुरानो कुरा भुलेर नयाँ तरिकाले सुरुवात गर्न। तर पनि अर्को विकल्प छैन भन्ने यथार्थ सँग हामी सबै नजिक हुनु छ।
महात्मा गान्धीले भनेका छन् -" कमजोरले कहिले पनि क्षमा दिन सक्दैनन् , क्षमा त मजबुतहरूको गुण हो। " सायद नेपालीहरू पनि युद्धले दिएको पिडालाई बिर्सेर पुराना गल्तीलाई क्षमा देलान भन्ने अपेक्षा छ बदलिएका बाबुरामको।