२०७४ सालको स्थानीय तहको पहिलो निर्वाचित स्थानीय सरकारले तय गरेको नारा हो 'क्लिन, ग्रीन र अर्गानिक जिरी'।
नारा तय गरेजस्तै लाग्छ जिरी पुग्दा। दोलखाको जिरी नगरपालिका जिरीमा नपुगेका सायद कमै होलान्। नपुगे पनि नाम नसुनेका सम्भवत कमै होलान्। वर्षायाममा होस् या हिउँमा जिरी क्लिन नै देखिन्छ। सानो उपत्यका जहाँ हरियो वनजंगल र पहराले घेरिएको छ।
चरिकोट सदरमुकामबाट ५५ किलोमिटर दूरीमा रहेको जिरी अहिले भौतिक संरचनाले भरिएको छ।
२०७२ सालको भूकम्पपछि नयाँ नयाँ पक्की घर, होटल निर्माण भएका छन्। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली सबैले भरिपूर्ण मानिन्छ जिरी। पहिला पहिला दोलखा आएपछि घुम्ने थलो या दोलखा भनेकै जिरी मात्र हो जस्तो लाग्थ्यो। हुन त स्वीसले समेत मन पराएका ठाउँ जिरी नेपालीले त मन नपराउने कुरै भएन।
जिरी हरेक हिसाबले सम्पन्नता मानिन्छ। जिरीमा नपाइने वस्तु केही छैन याक चीज विश्वभर प्रसिद्ध मानिन्छ। जिरीमा उत्पादन गरेका चिया विदेशमा निर्यात हुन्छ। जिरी सगरमाथाको गेटवे मात्र होइन, अहिले पनि जिरीबाट दोलखाको अधिकांश भूभागमा जान सकिन्छ। पुरानो विमानस्थललाई अहिले कृत्रिम तालको रूपमा विकास गर्न थालेका छन् । स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्नको लागि स्टोनपार्क, गुराँसपार्कलगायत एक वडा एक पार्क निर्माण गरेका छन्। अहिले जिरी पुगेपछि जोकोही एक रात बसेर प्रशस्तै पर्यटकीय स्थलहरू घुम्न पाइन्छ।











