घुमिफिरी दसैं आइपुगेको छ। यो चाडसँगै लामो बिदा पनि सुरू हुन्छ। बर्खे झरी रोकिएर घमाइला दिन सुरू हुन्छन्। साथीभाइ चाडपर्व मनाउन प्रायः घर फर्किन्छन्।
यही लामो बिदाको मौका पारेर घुमघाममा निस्कने सोच पनि धेरैले बनाएका हुन्छन्।
दसैंको शुभकामना!
यो दसैंमा तपाईंहरूलाई मैले पाँच ठाउँ सुझाएको छु जुन सुन्दर हुनुका साथै एकै हप्ताभित्र भ्रमण गर्न सकिन्छ।
१. खुमै डाँडा, कास्की
पोखराबाट हेम्जा हुँदै सुन्दर घाचोक गाउँबाट सुरू हुने खुमै डाँडाको यात्रा विभिन्न कारणले विशेष छ। पहिलो दिनको यात्रामा गुरूङ सत्कारको आनन्द लिएर भोलिपल्टदेखि पदयात्रा सुरू गर्न सकिन्छ।
उकालो लाग्दै गर्दा देखिने गाउँघरको दृश्य, मार्दी खोला र डाँडाकाँडाको मनोरम दृश्यले थकानको आभाष नै हुँदैन।
माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाहरूलाई यात्रैभरि देख्न सकिन्छ। हिलेखर्कपछिको जंगलको यात्रामा अर्कै रोमाञ्च महसुस हुन्छ। स्थानिय पर्यटनकर्मीले ठाउँठाउँमा खाने बस्ने राम्रो व्यवस्था गरेकाले आफ्नो हिँडाइअनुसार ढुक्कले यात्रा गर्न सक्नुहुन्छ।
ग्रेट माछापुच्छ्रे पदमार्गको एक खण्ड खुमै पहिलोचोटी पदयात्रा या ट्रेकिङको अनुभव लिन चाहनेका लागि पनि उपयुक्त छ। डाँडामा पुगेपछि देखिने दृश्यले सबै थकान भुलाउँछ।
यो समय मौसम खुल्ने भएकाले पोखरा, लेखनाथ र परपरका गाउँबस्ती छर्ल्ग देखिन्छ। विशाल हिमशृंखलाहरूसँगै सूर्योदय र सूर्यास्त दुवैको आनन्द लिन पाइन्छ।
२. पिके पिक, सोलुखुम्बु
विश्वको सर्वोच्च शिखर सगरमाथा प्रत्यक्ष नियाल्ने धोको भएकाहरूलाई सबैभन्दा सजिलो र उत्तम गन्तव्य हो पिके पिक। नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला ८ मध्ये धवलागिरिबाहेक अन्य सबै शिखरहरू पिकेको शिरबाट देख्न पाइन्छ।
काठमाडौंबाट सहज सडकयात्रामा धाप अथवा पत्ताले पुगिसकेपछि नै सगरमाथा र नुम्बुर कारेलुङको दृश्यले मन लोभ्याउँछ। त्यहाँबाट पदमार्गका लागि विभिन्र विकल्प उपलब्ध छन्। विदेशी पर्यटकमाझ पहिले नै लोकप्रिय भइसकेकाले यो पदमार्गमा राम्रो सुविधाको व्यवस्था छ।
यो पदमार्गको अर्को विशेषता भनेको यसको सहजता हो। अन्य पदमार्गको तुलनामा यहाँ ठाडो उकालो निकै कम पर्छ। पदमार्गहरू चौडा छन्। संकेत पाटी र ठाउँठाउँमा होटलहरू भएकाले हराउने डर हुँदैन।
पिके शिरमा निकै जोडले हावा चल्ने भएकाले टाउको छोप्ने न्यानो टोपी र ज्याकेट चाहिँ अनिवार्य लग्नुस् है! पिके पिकको यात्रामा हिमाल-पहाडसँगै स्थानीय शेर्पा संस्कृतिलाई पनि नजिकबाट देख्न पाइन्छ।
३. पाँचपोखरी, सिन्धुपाल्चोक
काठमाडौंबाट निकै नजिक पर्ने पाँचपोखरी छोटो समयमा धेरै कुराको अनुभव लिन सकिने गन्तव्य हो। गाडीबाट भोताङ गाउँ ओर्लिएसँगै तामाङ र ह्योल्मो समुदायसँग हेलमेल हुन्छ। पदमार्ग चौडा र व्यवस्थित छन्। ठाउँठाउँमा झरना र खोल्सा खोल्सी भेटिन्छन्।
ताङ्कु डाँडासम्म लगभग जंगलकै बाटो भएकाले शीतल छहारिमा हिँड्न पाइन्छ। छोटो दुरी भए पनि निरन्तर उकालो बाटो हिँड्नुपर्ने भएकाले उचाइ पनि निकै छिटो बढ्छ। त्यसैकारण थोरै सावधानी अपनाउन जरूरी छ।
पहिलो दिनको बास नोश्यामपाटीमा पार्दा सहज हुनुका साथै लेक लाग्ने सम्भावना निकै कम हुन्छ। भोलिपल्ट ३-४ घण्टाको आरामदायी हिँडाइमा पाँचपोखरी पुग्न सकिन्छ। धार्मिक गन्तव्य पनि भएकाले बाटैभरि छोर्तेन, देउराली र रोमान्चक किम्वदन्ती भएका छाता अड्किने ठाउँ, लौरीबिना जस्ता स्थानहरू पर्छन्।
सिमसार क्षेत्रमा सूचीकृत पाँचपोखरीमा पुगेपछि पाँच विभिन्न आकारका पोखरी र तीनको सङ्लो पानीले छुट्टै आनन्द र ऊर्जा दिन्छ। आधा घण्टा माथिको भ्यू-प्वाइन्टबाट पाँचै कुण्ड लगायत उत्तरपट्टिका लाक्पा दोर्जे, फुर्वी छ्याछु, जुगल हिमाल शृंखलाका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
४. देउढुंगा (आबाच्युकुलुङ), दोलखा
पहिलोपटक देउढुंगा प्रत्यक्ष वा तस्बिरमा देख्दा सबैले आश्चर्य मान्छन्। हुन पनि बडेमानको पहरा बीच ठडिएको यो आकृति अनौठो र अप्राकृतिक नै छ। त्यही भएर देउढुंगालाई देखेका हाम्रा पिता पुर्खाले यसलाई दैवी शक्तिको स्वरूप मान्रु स्वभाविक थियो।
दोलखा जिल्लाको बिगु गाउँपालिका हुँदै पुगिने यो गन्तव्य सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्छ। पदयात्रा सुरू हुने सिङ्टी गाउँ तह-तहमा बसेको सुन्दर बस्ती हो। गाउँको सिरानमा पर्ने बिगु गुम्बा जिल्लाकै ठूलो गुम्बा मानिन्छ।
बाटो उकालै-उकालो भए पनि कम दुरी र समय लाग्ने भएकाले यहाँ पुग्न सहज छ। धार्मिक रूपले पनि उत्तिकै महत्वपूर्ण देउढुंगा हिन्दु र बौद्ध धर्मावलम्बी दुवैका लागि पूजनीय छ। यहाँबाट १५-२० मिनेट माथि उक्लिएपछि पुगिने डाँडाबाट पर-परका डाँडापाखा, लाङटाङ, गौरीशकंर, गणेश, जुगल हिमाल शृंखला सँगसँगै तिब्बतको सिसापांगा हिमालसम्म देख्न सकिन्छ।
सूर्यास्तका बेला तलतिर बादलको ताल र गौरीशंकर हिमालका शृंखलामा सुनौला किरण पोखिन्छन्। यो लेखमा समेटिएका गन्तव्यहरूमध्ये देउढुंगा सबैभन्दा सहज र छोटो समयमा घुम्न सकिने गन्तव्य हो।
५. रामारोशन, अछाम
सुदूरपश्चिम भन्रेबित्तिकै हामी धेरैले दुर्गम, टाढा र धेरै पिछडिएको ठाउँको कल्पना गर्छौं।
हामीमध्ये कतिलाई यस क्षेत्रबारे निकै कम थाहा होला। भौगोलिक दुरीका कारण विकासमा केही पछि परेको अवश्य छ सुदूरपश्चिम। प्राकृतिक सुन्दरताको हिसाबमा भने यो धेरै धनी प्रदेश हो।
यिनैमध्ये पुग्न सहज र अत्यन्तै सुन्दर एउटा स्थान हो, अछाम जिल्लामा पर्ने रामारोशन क्षेत्र। १२ बण्ड र १८ बण्डको क्षेत्र भनेर चिनिने रामारोशनमा सुन्दर तालतलैया, छहरा खोला प्रशस्त छन्। हरिया वनजंगल, वनस्पति र ठूला सुन्दर पाटनहरू छन्।
प्रवेश बिन्दुसम्मै सडक यात्राको पँहुच भएकाले हरेक उमेर समूहका व्यक्तिलाई यहाँ पुग्न कठिनाइ पर्दैन। दसैंमा स-परिवार कुनै ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यो जत्तिको उपयुक्त गन्तव्य अरू नहोला।
रामे बजारमा होटल र खाने बस्ने व्यवस्था राम्रो भएकाले यसैलाई केन्द्र बनाएर तल्लो धौले, माथ्लो धौले, बाटुल्ला ताल, जिंगले ताल घुम्न सकिन्छ। फराकिला किन्नीमिन्नी, रामे मैदानमा घुमिरहँदा दिन बितेको पत्तो हुँदैन।
चाडवाडको बेला भएकाले सुदूरपश्चिम खस समुदायको चालचलन र संस्कृति, लोकसंगीत प्रत्यक्ष अनुभव गर्न पाइन्छ।