सुनकोसी तथा भोटेकोसी क्षेत्रका पर्यटन व्यवसायीले बढ्दो नदी दोहनका कारण व्यवसाय धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
अत्यधिक दोहनले सुनकोशी तथा भोटेकोशीमा हुँदै आएको र्याफ्टिङ व्यवसाय संकटमा पर्न थालेको र यसले पर्यटक आगमनमा कमी आएको उनीहरूको भनाइ छ।
सुनकोसी किनारमा बिहीबार आयोजित अन्तर्क्रियाका सहभागीहरूले नदी दोहन रोकेर पर्यटन व्यवसाय जोगाउनुपर्नेमा जोड दिए।
सिन्धु पर्यटन व्यवसायी संघका अनुसार भोटेकोसी नदीमा वार्षिक ६५ हजार स्वदेशी र २० हजार विदेशी पर्यटक पुग्ने गर्छन्। यसबाट करिब ११ सय जनाले रोजगारी पाइरहेको संघको भनाइ छ।
‘पहिले भोटेकोसी नदीमा ४० किलोमिटर दुरीमा र्याफ्टिङ गराइन्थ्यो भने अहिले १५ किलोमिटरमा खुम्चिएको छ’ संघका अध्यक्ष नारायण श्रेष्ठले भने,‘यही अवस्था रहे व्यवसाय धराशयी हुनेछ। नदीको अस्तित्व पनि संकटमा पर्नेछ।ु
साहसिक जलयात्राका लागि भोटेकोसी विश्वकै सातौं स्थानमा रहेको नदी हो। यही कारणले यो स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहँदै आएको छ। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने सरकारको लक्ष्य छ।
‘भोटेकोसी तथा सुनकोसी नदीमा जलयात्रा गर्नेहरूको भिड हुन्थ्यो। पछिल्लो समय नदी प्रदूषणले पर्यटक संख्या घट्दो छ’श्रेष्ठले भने।
नेपाल पर्यटन बोर्डका निर्देशक लिला बानियाँ वातावरणमैत्री पर्यटन व्यवसाय नै आजको आवश्यकता रहेको बताउँछन्।
‘विकास चाहिन्छ, तर वातावरण संरक्षण गर्न सकिएन वा विनास गर्न थालियो भने पर्यटक आगमनमा कमी आउनेछ। हाम्रा प्राकृतिक मनोरम दृश्यमा रमाउन भनेरै पर्यटक आउने हुन्। यसलाई मासेर पर्यटन प्रवर्द्धन हुँदैन,’उनले भने,‘भोटेकोसी तथा सुनकोसी नदीमा हुने साहसिक जलयात्रा प्रवर्द्धन गर्न र यस क्षेत्रको पर्यटन व्यवसाय उकास्न नदी दोहन रोक्नुपर्छ।’
नदी संरक्षण अभियन्ता मेघ आले पर्यटक भित्र्याउने लक्ष्य राखे पनि त्यसको बेवास्ता गरेर नदी दोहनको अधिकार दिइएको बताउँछन्।
‘नेपालमा पर्यटन विकासबाट आर्थिक लाभका प्रशस्त सम्भावना छन्। प्राकृतिक स्रोतको दोहन बढ्दै जाने हो भने पर्यटक घट्न सक्छन्। समयमै सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने।