जिरी नामै कति मिठो लाग्छ। शितल हावापानी, हरियाली जंगलले भरिएका, नागबेली आकारमा बग्ने खोला–नालाको संगीत, अनि आफ्नोपनले भरिएको त्यो ठाउँ – जिरी मेरा लागि केबल गन्तव्य मात्र होइन, आत्मीयता बोकेको एक संवेदना हो।
वर्षमा तीन–चारपल्ट पुगिहाल्छु, कुनै न कुनै बहाना बनाएर। चरिकोटबाट झन्डै ५५ किलोमिटरको दूरी पार गर्दा, जिरी पुगिसकेपछि लाग्छ, मानौँ धेरै पुरानो सम्बन्ध चिनजान हो जिरीसँग।
हरेक पटक म केही नयाँ देख्छु, हेर्छु, र नयाँ लेख्छु। रिपोर्टिङ मात्र होइन, यहाँको माटोमा लुकेको कथा र काखमा हुर्केका सपनाहरू समेट्न चाहन्छु। यी दिनहरूमा मेरो ध्यान खिचिरहेको छ – जिरीको गाई फर्म, अर्थात् गाई आनुवांशिक स्रोत केन्द्र, जिरी। धेरैले गाई फार्म भनेर चिन्ने यो स्थान, ‘काउ फर्म’ ले अहिले धेरैको चासो बढेको छ। २०१४ सालदेखि सञ्चालनमा छ काउ फार्म। स्वीस सरकारको सहयोगमा जिरी प्राविधिक शिक्षालयमा अध्ययन गर्न र काउ फर्म अवलोकन, भ्रमणको लागि, अहिले देशभरिबाट विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।
कुनै बेला गाई चर्दा जिरीका चौरहरू पहेँलपुर हुने गर्थे। अहिले गाईको संख्या घटेर १२६ मा सीमित भए पनि फर्मको संरचना र व्यवस्थापन भने अत्यन्त व्यवस्थित छ। जर्सी, होलिस्टिन र भुलुजस्ता स्थानीय जातका गाईहरू यहीँ हुर्किएका छन्।
केही गाईहरू चितवन, मनाङ र कोरिया लगायतका स्थानबाट ल्याइएका छन्। वर्षायामको सिजन चलिरहेको छ। यस बेला हरियो घाँसले ढाकिएको चौरमा गाईहरू चर्न निस्कँदा, त्यो दृश्य हेरेर घण्टौं बितेको पत्तै हुँदैन। अहिले दैनिक ३६० लिटर दूध उत्पादन भइरहेको छ, जुन गाईको स्वास्थ्य, व्यवस्थापन र प्राकृतिक वातावरणको प्रतिफल हो।
काउ फर्मले समय–समयमा गाई बिक्री पनि गर्दै आएको छ। यहाँ अध्ययन गर्ने कृषि प्राविधिक विद्यार्थीहरू हजारौंको संख्यामा देशभरि फैलिइसकेका छन्। पर्यटकहरूका लागि काउ फर्म एक रमाइलो र आकर्षक गन्तव्य बनेको छ। लिंकन बजारबाट एक डेढ किलोमिटर तल, पुरानो एयरपोर्टतिर झरेपछि त्यहाँ हरियो चौरमा चरेका गाईहरूको झुण्ड, हावामा नाच्ने तिनका पुच्छर, अनि बास्नायुक्त दूधको सम्भावना बोकेको त्यो ठाउँले तपाईंलाई पनि एकछिन समय बिर्सिन बाध्य बनाउँछ। वर्षायाममा झन् विशेष देखिन्छ यो ठाउँ।
कुहिरोसँगै चौरमा हराएको गाईको झल्को, टाढाबाट बजेको घण्टीको टुनुक्क आवाजले जिरीको काउ फर्मलाई केबल एउटा पशु फार्म होइन, एउटा अनुभूतिको थलो बनाइदिन्छ। जिरी पुग्दा गन्तव्य मात्र नहेरौं, त्यहाँको प्रकृति, पसिना र सपनालाई पनि महसुस गरौं। किनकि जिरी केवल ठाउँ मात्र होइन – त्यो त मनभित्रको हरियाली हो।
-1751375441.jpg)
-1751375440.jpg)
-1751375440.jpg)
-1751375438.jpg)
-1751375438.jpg)
-1751375439.jpg)
-1751375439.jpg)
-1751375437.jpg)
-1751375437.jpg)
-1751375436.jpg)
-1751375436.jpg)
-1751375441.jpg)