पश्चिम युरोपमा कानूनी राज छ भन्ने गहिरो छाप थियो ममा। आम्स्टरडामका प्रहरीले त्यो भंग गरिदिए।
एक मित्रको साइकल हराएको थियो, र ऊ प्रहरी कार्यालय पुगेर उजुरी दाखिला गर्यो। ऊ स्तब्ध भयो त्यतिखेर जब प्रहरी अफिसरले उजुरी लिन आनाकानी गरे।
उल्टै उसले सुझायो- ‘यहाँ साइकल चोरीको उजुरी गर्न आउने होइन, बरू तिमी पनि अरू कसैको साइकल लिएर टाप कस।’
आम्स्टरडामलाई साइकलको सहर पनि भनिन्छ। जति लामो गाडी कुद्ने रोड छ, त्यो भन्दा कम छैन साइकल लेन। जहाँ जनसंख्याभन्दा साइकलको संख्या धेरै छ। साइकल भनेपछि हामीलाई आफ्नो देशमा देखिइरहने साइकलको मात्र झल्को लाग्छ। तर डचहरूले ‘बाकफित्स्’ (बाक्सा समेत भएको साइकल) पनि धेरै प्रयोग गर्छन् जसमा बच्चा राखेर सुरक्षित यात्रा गर्न सकिन्छ, वा सरसामान ओसार्न सजिलै मिल्छ।
नम्बर प्लेट नहुने भएकाले साइकल चोरिनु आम्स्टरडाममा सामान्य रहेछ। त्यसैले साइकल नयाँ नकिन्नु, पुरानैले काम चलाउनु भन्दा रहेछन्। त्यो दिन पनि प्रहरी अफिसरले त्यही फर्मायो।
२५ वर्षअघि म पहिलो पल्ट आम्स्टरडाम पुगेको थिएँ। परार साल वैशाख महिनामा (३ मे २०२३) आम्स्टरडाम पछिल्लो चोटि पुग्दा होटल-मालिकलाई मैले यही प्रश्न अनायस सोध्न पुगेछु- स्थिति सुधारियो कि नाइँ?
आम्स्टरडामको हबिगत अझै उस्तै रहेछ।
उसले भन्यो- यहाँ चलाउने भनेकै हजुरआमाको साइकल हो। फ्यान्सी साइकल चलाउनेले साइकलभन्दा महंगो ताल्चा किने बेश!
यसपल्ट हामी बसेको होटल उत्तरी आम्स्टरडाममा थियो, नदीपारि। सिटी सेन्टर जानलाई ‘फेरी’ चढ्नु पर्ने! फेरी चाहिँ निःशुल्क। फेरीका अनेक रूट रैछन्। तर त्यति व्यस्त ठाउँमा किन पुल वा टनेल बनाएनन्? त्यो चाहिँ मैले बुझिनँ। बजेटको समस्याले पक्कै होइन। हजार पुलहरूले जोडिएको आम्स्टरडामको त्यो व्यस्त ठाउँमा चाहिँ पुल छैन!
फेरीबाट सेन्ट्रल स्टेसननेर उत्रेपछि पटक्कैपिच्छे बाटो फेर्दै हामी ‘लेइद्सप्लेइन’ अर्थात् सिटी-सेन्टरतिर लाग्थ्यौं। काठमाडौंमा जस्तो चोक-चोकमा ट्राफिक प्रहरी थिएनन्।
ट्राफिक बत्तीले सबैतिर नै ट्राफिक प्रहरीको काम गरिरहेका थिए। बाटोमा कुनै ट्राफिक बत्ती नभए पैदल यात्रीलाई सबैले बाटो छाड्दा रहेछन्। पैदल यात्रीपछि साइकल यात्रीले प्राथमिकता पाउँदा रहेछन्। र, सबैलाई बाटो छोड्दै पर्खंदै ल्याङल्याङ तरिकाले अघि बढ्नु पर्दो रहेछ सवारी चालकले। हामीकहाँ भने ठ्याक्क उल्टो छ। गाडी आए उसलाई छोडी दिनुपर्ने, साइकल वा मोटर साइकल आए त्यसैलाई छाड्नुपर्ने। पैदल यात्री भनेका प्युसा जस्ता! ज्यान जोगाएर हिँड्नुपर्ने!
‘यहाँका बाटा त संरचनागत रूपमै पैदलयात्री र साइकलयात्रीलाई केन्द्रित गरेर बनाइएका हुँदा रहेछन्’ भाइ मोहनमणिले भन्यो।
यसपालि म भाइ मोहनमणिको अघोषित टुर गाइड भएर आएको थिएँ।
बेल्जियमको लुभेनबाट छुटेको हाम्रो कार होचा देशहरूको फाँटैफाँट हुँदै साढे तीन घण्टामा सुइय्य आइपुग्दा बोर्डर कटेको पत्तै भएन।
दुई देशको अन्तर पाउन पनि धौधौ भयो। सडकका केहीथरी मार्किङ र सुन्तला रङको ज्याद्री प्रयोग नै त थिए हामी अर्कै देशमा कुदिरहेका छौं भनेर अन्दाज गर्ने संकेतहरू।
३०/४० किलोमिटर पार गर्ने बित्तिकै मधेस, पहाड, उपत्यका, टार र भन्ज्याङहरू भेट्ने हामी नेपाली नजरलाई समरूप र सजातीय जस्ता लाग्छन् यी देशहरू।
उता काठमाडौंमा वैशाखको उखरमाउलो गर्मी थियो। तराईतिरको मौसम सम्झे अचाक्ली तातो हावा। यता आम्स्टरडामको मौसम अचम्मको थियो, हल्का चिसो र मन्द हावा। यो मौसममा आम्स्टरडामको अपनत्व थियो! तातो पाउनलाई पहिले चिसो महसुस गर्नुपर्छ। अनि बल्ल तातोपनको मज्जा आउँछ। गरम बोध हुनलाई पहिले नरम हुनुपर्छ। यहाँको मन्द हावामा रमाइलो अनुभूति र मनोरञ्जनको रौनक घुलिएको छ।
आम्स्टरडाम समुद्र सतहभन्दा सरदर दुई मिटर होचो भूभागमा छ। सहरको महत्त्वपूर्ण हिस्सा समुद्र सतहभन्दा ६ मिटरसम्म तल रहेको छ। यही तथ्यलाई उजागर गर्दै सर्वत्र ‘टुरिस्ट इन्फो’ मा लेखिएका पाइन्छन्- ‘समुद्रबाट दाबी गरिएको जमिन हो आम्स्टरडाम।’
तर यो सूचनालाई मेरो भू-परिवेष्ठित दिमागले टिप्न सकेन। बुझ्न सकेन। समुद्र सतहभन्दा तल भए किन ह्वारह्वार्ती पानी पस्दैन?
नहरहरू, बाँध र पानी तान्ने पम्पहरूको एकीकृत इन्जिनियरिङ सिस्टमले यो सब चलेको हुन्छ रे। १३ औं शताब्दीमै विन्डमिल (हावाबाट चल्ने) को स्थापना गरेका डचहरूले १५ औं शताब्दीदेखि नै ‘पोल्डर मिल्स’ (पानी खिँचेर जमीन सुख्खा बनाउने) को विकास गरेका रहेछन्। र, समुद्रबाट दाबी गर्दै देशको क्षेत्रफल बढाइरहेका रहेछन्। अहिले भने अन्य प्रविधिको विकासले पोल्डर मिल्स पुरातात्विक प्रविधिका वस्तु बनेका छन्।
भौगोलिक विकटताले देशको विकास गर्न सकेनौं भन्ने मेरो विद्वतामा आम्स्टरडामको इतिहास गतिलो पाठ बनेर जगजाहेर थियो त्यहाँ।
आम्स्टरडाम धेरै चरम चिजहरूको लागि परिचित छ। त्यसैले आम्स्टरडाम- कुतकुती र गुदगुदी लाग्ने सहर हो। कसैको नजरमा यो अति आधुनिक र अद्भुत सहर हो भने कतिपय अनुदारवादीहरूले विचित्र मानेर नाक खुम्च्याउन पनि सक्छन्।
कहिलेकाहीँ यो सनकीहरूको सहर हो कि जस्तो पनि लाग्छ। पश्चिमाहरूकै लागि आम्स्टरडाम अजीबको सहर हो। खासगरी, यहाँको वैधानिक रेड लाइट एरिया र गाँजा प्रयोजनमा उदार कानूनले लाखौंलाई विचित्र भावमा निम्त्याइरहेको हुन्छ। त्यसमाथि संसारमा थुप्रै कुराहरू छन्, नेदरल्याण्डसले वैधानिक रूपमा पहिलोचोटि आत्मसात गरेको। जस्तो कि- संसारमा समलिंगी विवाहलाई मान्यता लिने पहिलो देश नेदरल्याण्डस् हो। त्यस्तै युथनेजिया (सिकिस्त बिरामीलाई थप पीडाबाट बच्नको लागि डाक्टरी टिमको निर्णयमा मरण-वरण गराउने क्रिया) लाई २००२ मा कानूनी मान्यता दिएर यस्तो खाले प्रावधान हुने पहिलो देश बनेको थियो, नेदरल्याण्डस्। यस्तो अति प्रगतिशील लाग्ने देशको प्रमुख सहर आम्स्टरडामले गाँजा, सेक्स र समलिंगीमैत्री राजधानीका रूपमा मात्र दुनियाँलाई आकर्षित गर्ने होइन कि यहाँको चिज चाख्न र त्युलिप (फूल) तथा विन्डमिल हेर्न पनि बर्सेनि लाखौं पर्यटक आउँछन् यहाँ।
१० लाख जनसंख्या भएको आम्स्टरडाम सहरमा सन् २०२३ मा ९५ लाख पर्यटकले कम्तीमा एक रात बस्ने गरी भ्रमण गरेको तथ्यांक दिइएको छ। त्यो भीडमा हामी पनि गनिएका थियौं। यता हाम्रो पर्यटकीय भनिएका देश नेपालमा गत वर्ष ११ लाख विदेशी पर्यटक आएका थिए।
सन् २००० मा ब्रसेल्सबाट आम्स्टरडाम आउँदा म ट्रेन चढेर आएको थिएँ। ट्रेन स्टेसनबाट फुत्त निस्केर पैसा साट्ने सटही काउन्टरमा लाम लाग्नु परेको थियो। त्यतिखेर नेदरल्याण्डसको मुद्रालाई गिल्डर भन्थे।
खल्तीमा नोकियाको एन्टेनावाला मोबाइल फोन थियो। त्यतिखेरसम्म नेपालमा मोबाइल फोनको सेवा नै थिएन। त्यसैले त्यो एन्टेनावाला मोबाइल फोन बोक्दा ठूलै सुविधा र विशेषाधिकार पाए जस्तो लाग्थ्यो। अहिले कति फरक भयो चमेली! युरोपमा जताततै युरो चल्छ। त्यही युरोका नोट पनि प्रयोग गर्नुपर्दैन। जता गयो बैंक कार्ड जोत्यो। के जोत्नु भन्नु र? बैंक कार्ड सुँघायो। वा मोबाइलको क्युआर कोड छ्वास्स पढायो। कहिलेकाहीँ महिना दिन बित्दा पनि खल्तीको नोट जस्ताको तस्तै रहिरहेको हुन्छ। धेरै नगद पैसा चलायो भने आँखा तरेर हेर्छन्। कालो पैसा त हैन? भनेर।
लो-ल्याण्ड भनेर नाम कमाएको नेदरल्याण्डसबारे एकखालको अजीव जिज्ञासा थियो मेरो मनमा। सगरमाथाको भेदमा हुर्केको ज्यान बोकेर म समुद्र सतहभन्दा तल रहेको राजधानी सहर आम्स्टरडाम पुगेको थिएँ। संसारको सबभन्दा अग्लो देशको मान्छे म, पुगेको थिएँ संसारका सबभन्दा अग्ला मान्छेहरू बस्ने देशमा। (डच पुरूषको औसत उचाइ १८३.८ सेन्टिमिटर छ, जसले नेदरल्याण्डलाई विश्वको सबभन्दा अग्लाहरूको देश बनाउँछ।)
आम्स्टरडामको प्रमुख आकर्षण यहाँका नहरहरू पनि हुन्। नहरहरूका लागि नाम कमाएको इटालीको भेनिसमा भन्दा आम्स्टरडाममा धेरै नहरहरू छन्। बोट वा क्रुज चढेर नहरहरूबाटै आम्स्टरडाम सहर घुम्न सकिन्छ। अझ भनौं विख्यात क्यानल टुर नगरिकन आम्स्टरडामको यात्रा पूरा हुँदैन। जता गयो उतै सुन्तला रङ देखिन्छ यहाँ। झण्डैझण्डै देवघाटतिर देखिने जोगीहरूको गेरू रङ जस्तो। यो उनीहरूको राष्ट्रिय रङ हो। क्यानल टुरमा प्रयोग हुने थुप्रै क्रुजहरूमा पनि यस्तै रोगन देखिन्छन्।
क्यानलमा तैरिएका बोटहरू इंगित गर्दै भाइ मोहनमणिले भन्यो- ‘आफै क्याप्टेन बनेर पेडल-बोटमा टहलिने हो कि त दाइ?’ प्रहरी अधिकृत भएर पनि होला उसमा साहसी एडभेन्चरको हुटहुटी छ।
म भने आम्स्टरडामको फुटपाथ नाप्दा नाप्दा बोटको पेडल खियाउने सामर्थ्य हराएर तर्कन्छु। अनि हामीले उजेली अपराह्नमा सुन्तला रङको क्रुज चढेर स्याँठको हावामा कावा खाँदै आम्स्टरडामलाई नियाल्यौं, सहरको मनमोहक जलमार्गको प्रशंसा गर्दै।
घरीघरी मेरो मन यति बहकिएको थियो कि क्रुजबाट डाइभ मारेर पौडिऊँ। किशोरवयमा नारायणी वारपार गरेको यादले मलाई घच्घचाइरहेको थियो। किनारमा बस्नेहरूको हंस उड्ने गरी म भेलमा डुबुल्की मार्ने गर्थे। तर यहाँको क्यानलको पानी नारायणीको जस्तो क्रिस्टल क्लिन कहाँ छ र? त्यसमाथि स्याँठले तुसारिएको यो पानी भित्रभित्रै कठ्याङ्ग्रिएर जकडिएको थियो। नारायणीको जस्तो वेग र दिलखुस पार्ने तापक्रम आम्स्टरडामको आम्तेलसँग नारिएका क्यानलहरूमा थिएन। बरू यिनीहरूले जस्तै क्रुज र पेडल बोटिङको व्यवस्था गर्न सके पर्यटकीय आकर्षण थपिन्थ्यो नि, हाम्रातिर।
नहरका छेउछाउमा पानीजहाजकै घर बनाएर तैरिएर बस्नेहरू पनि प्रशस्त देखिन्छन् यहाँ।
नेपालका राजमार्ग छेउछाउमा छाप्रो खडा गरेर भट्टी र चिया पसल थाप्नेहरूकै झ-झल्को दिने गरी आम्स्टरडाममा नहर किनारमा पानीजहाजमै पसल थाप्ने र रेस्टुरेण्ट चलाउनेहरू पनि भेटिन्छन्। नहर किनारमा बसेर बियरको चुस्की लगाउनु डचहरूको शौख नै हो। ‘हेइनेकन’ यहाँको सबभन्दा लोकप्रिय बियर हो, जुन एक चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड समेत हो।
आम्स्टरडामको जन्म १२ औं शताब्दीमा माझीहरूको गाउँका रूपमा भएको थियो। आम्स्टर नदी छेउको डेल्टालाई ड्याम (बाँध) बाँधेर माझीहरूले संरक्षण गर्दै बस्ती गुल्जार बनाएकाले यसको नाम नै ‘आम्स्टर र-डाम’ बन्न पुग्यो। माझीहरूको बस्तीबाट विकास भई सहरीकरण भएको आम्स्टरडाम कलाको लागि पनि संसारकै केन्द्रहरूमध्ये मानिन्छ। चाइनिज, इजिप्सियन र पिकासोका मास्टरपिसहरूदेखि भान गोखको मुख्य म्युजियम यहीँ छ। उसो त आम्स्टरडाममा अनेक थरीका म्युजियमहरू छन्। जस्तो कि, गाँजा म्युजियम, सेक्स म्युजियम, बियर म्युजियम, चिज म्युजियम, त्युलिप म्युजियम आदि।
यस्ता म्युजियमहरू र आम्स्टरडामको मुक्त शैलीले पर्यटकहरूलाई आकर्षित गरेको हुन्छ। पहिले मलाई लाग्थ्यो, सायद नेदरल्याण्डस् का मान्छेहरूमा गाँजाको सेवन ब्यापक होला। गाँजालाई वर्षौंदेखि कानूनी मान्यता जो छ। तर, त्यस्तो नहुँदो रहेछ। हाम्रो दिमागमा के छ भने यदि गाँजालाई कानूनी मान्यता दिने हो भने हरेक मान्छे दिनभरी फिलिली भएर बस्छ। तर डचहरूसँग गफ र संगत गर्दा यी सब मिथ्या साबित भए। जीवनमा एकाध पटक रमाइलोका लागि धूमपान गरेको केहीले बताए, प्राय: यसको दुर्व्यसनबाट टाढै देखिए।
यदि तपाईं आम्स्टरडाम पुग्नुभयो र कफी सप छिर्नुभयो भने, कफी मात्र होइन अनेक थोक पाइन्छ। उसो त तपाईंको नाकको पोथ्राले ह्वास्स थाहा पाइहाल्छ। सिधै भनिहालुँ, कफी सप भनेको गाँजा तान्ने अखडा हो। कफीसँग यसको गोरू बेचेको मात्र साइनो छ। आम्स्टरडाममा १८ वर्ष पुगेको जोकोहीले कफी सपमा छिरेर पाँच ग्रामसम्म गाँजा किन्न र सेवन गर्न सक्दो रहेछ। हुन त फरक फरक कफीसपमा ५/५ ग्राम सेवन गर्दै डुल्न पनि सकिएला। तै पनि, यसको लागि परिचय-पत्र देखाउनु पर्ने हुन्छ। तर मेरो अनुभवमा आम्स्टरडामका प्रायः कफी सपहरू पर्यटकहरूबाटै चले जस्तो लाग्यो। कतिपय पर्यटकहरू गाँजा संस्कृतिको अखडा कफी सपमा रमाउनै भनेर आम्स्टरडामको भ्रमण गर्छन्।
यस्तै एउटा कफी सपमा मैले पनि आफूलाई ग्राहकका रूपमा उभ्याएँ। कुनै अनुभवी व्यसनी जस्तो एउटो ठिटोले मलाई कुन देशको भनी सोधी हाल्यो। मैलै आफ्नो देश बताएँ। उसले प्वाक्क भन्यो- ‘यु नो ह्वाट्? बेस्ट क्वालिटी नेपाल र अफगानिस्तानकै हुन्छ।’
मैले चाल पाइहालेँ हामी केमा प्रसिद्ध रहेछौं। मैले टाउको हल्लाएर उसका कुरा अनुमोदन गरेँ। ठिटो उमेरमा शिवरात्रीको अनुभव छँदै थियो मसँग पनि। त्यस दिन आम्स्टरडामको अनुभव पनि थपिएको थियो।
त्यस ठिटोले मलाई गाँजा-पुराण नै सुनाएर झन् गिजोल्न थाल्यो। उसको ध्यान मोड्न मैले उसैलाई सोधेँ- ‘साँझमा ‘रेड लाइट एरिया’ घुम्न कत्तिको सुरक्षित हुन्छ महाशय?’
उसले निर्धक्क भन्यो- ‘आम्स्टरडाममा सबभन्दा सुरक्षित क्षेत्र भनेकै रेडलाइट एरिया हो।’
मैले नपत्याए जस्तो गरेँ। तर पत्याउन करै लाग्यो।
त्यो किनभने त्यस क्षेत्रमा सर्वत्र भिडिओ क्यामेरा लगाइएका हुन्छन् र त्यसको मोनिटोरिङ पनि हुँदो रहेछ।
आम्स्टरडामको सबभन्दा नामूद रेडलाइट डिस्ट्रिकको नाम ‘द वालन’ हो। आम्स्टरडामको रूप, बैँस र यौवन यहाँ अल्ली उत्ताउलो भएर पोखिइरहेको हुन्छ।
चिटिक्क परेका स–साना सीसाका घरमा श्याम-श्वेत सबैखाले सुन्दरीहरू अनेक भावभंगीमा खिरिलो भित्री कपडामा मस्त देखिन्छन्। तिनीहरूको नग्नताको तामझाम र त्यही नग्नतामै सिँगारिएको देख्दा, लाग्छ– यो संसार कति विचित्रको छ!
बीस-पच्चिस वर्ष अघिको तुलनामा यो एरिया भने सुक्दै गएको झैं लाग्यो। म झुक्किएको कि द वालन खुम्चिएको? युरोपमा २० वर्षअघि घुमेका ठाउँहरूमा अर्को चोटि जाँदा धेरै ठाउँमा मेरो अपेक्षा र प्रतीक्षा रूजु गर्दा ठ्याक्क नमिलेका घटना थुप्रै छन्।
२० वर्षअघि घुम्दा भब्य लागेका कैयन् ठाउँहरू मेरो मनमस्तिष्कमा शानदार चित्रहरू सजाएर बसेका हुन्छन् । तर फर्केर जाँदा कतिपय ठाउँहरू मैले बढाइचढाइ गरेर सोचेको पो रैछु जस्ता लागेका अनेक अनुभव र अनुभूति छन्।
मैले केही स्थानीयहरूसँग बुझ्दा वास्तव मै हो रहेछ, द वालन सुक्दै गएको। महानगरपालिकाको पछिल्ला नेतृत्वहरूले रेडलाइट डिस्ट्रिकको संकुचन गर्ने उद्देश्य राखेपछि वाद-प्रतिवाद चलिरहेको रहेछ। आम्स्टरडामको एउटा तनाव पर्यटक आगमन क्षमताभन्दा धेरै भयो भन्ने पनि रहेछ।
आम्स्टरडाम आउने पर्यटकहरूको निम्ति एक प्रमुख आकर्षणमा गणना हुने, र सबै ‘सेक्स-वर्कर’ हरूले अन्य पेशाका जागिरेले झैं कर तिर्ने भएकोले महानगरपालिकाले पनि जबरजस्ती गर्ने स्थिति छैन। पहिले जस्तै रौनक नभए पनि सीसाका घरमा थरीथरी आकृति र साइजका सेक्स-वर्करहरू आफ्नो ज्यान बेचिरहेकै छन्। ट्याक्स अधिकारीहरूको भाषामा भन्दा सेवा प्रदान गरिरहेकै छन्। यस्ता सेवक/सेविकाहरूमा महिलाहरू मात्र होइनन्, पुरूष र तेस्रोलिंगी पनि हुँदा रहेछन्।
आम्स्टरडामको अर्को एउटा विशेषता यहाँका घरहरू साना देखिन्छन्। धनी सहरमा साना घर, कति नसुहाएको! कुनै जमानामा आम्स्टरडामका घरधनीहरूले मोहडा अनुसार कर तिर्नु पर्थ्यो रे। अनि कर कम तिर्नका लागि साना मोहडाका घर बनाइँदा रहेछन्। पिछाड जतिसुकै लामो होस्, तर मोहडा चाहिँ घरधनीले सानै राख्दो रहेछ। अहिले त त्यो नियम छैन, तर घर भन्ने कुरो कानून फेरिने बित्तिकै फेरिने कुरा भएन। पुराना घर मर्मत-संभार वा पुनर्निर्माण गर्दा मोहडाको ढाँचाकाँचा उस्तै कायम गर्नुपर्ने रहेछ। त्यसैले पुनर्निर्माण गर्दा अगाडिको मोहडा नभत्काइकन पछाडि चाहिँ आधुनिक पाराले थपथाप र जोडजाड गरिँदो रहेछ।
भोलिपल्ट जान्स-सान्स जाने कार्यक्रम थियो हाम्रो। जहाँ ऐतिहासिक विन्डमिलहरूको मेला नै छ। आम्स्टरडाम सहरको ठिक्क बाहिरको यो खुला विन्डमिल पार्कमा पुग्न कारमा २०/२५ मिनेट लाग्यो हामीलाई। जान्स-सान्स उत्तिकै व्यस्त रहेछ। पारिलो घामको न्यानोमा मज्जा मान्दै र पैदल यात्रीहरूको व्यस्त गुनगुन आवाजलाई पछ्याउँदै हामी अघि बढ्छौं। प्रविधिको क्रमागत उन्नतिमा डचहरूले गरेको विन्डमिलको विकासको आफ्नै ऐतिहासिक महत्त्व छ। त्यो ऐतिहासिक महत्त्व हेर्न पर्यटकहरूको लस्कर हुन्छ यहाँ। फोटोको क्लिकमा सबैजना खुसी र खुसामद मै देखिन्थे। हामीसँग फोटो र मिठो स्मृति मात्र थिएन, जीवनभरको निम्ति गहिरो छाप बोकेर हामीले आम्स्टरडामलाई यस पटकको निम्ति बिदाई गर्यौं।