नेपाली भाषाको उद्गमभूमि कर्णालीको वैभव (शक्ति) कुनै समय नेपाल भाषाको उद्गमभूमि काठमाडौं उपत्यका (त्यतिबेला काठमाडौंलाई नेपाल पनि भनिन्थ्यो) अर्थात नेपालसम्म फैलिएको थियो भनिन्छ।
हो, नेपाल भाषाको उद्गमभूमि काठमाडौंमै जन्मिए हुर्कीएकी मलाई नेपाली भाषाको उद्गमभूमि कर्णाली एक पटक पुग्ने, त्यहाँको माटो टेक्ने, त्यहाँको सभ्यता र संस्कृतिबारे बुझ्ने, त्यहाँका धार्मिक तथा पर्यटकीय स्थल, जङ्गल, जडीबुटी अनि पानी र खानीका अथाह सम्भावनाबारे अध्ययन गर्ने रहरहरू पटक–पटक जागृत भएर आउँथे तर त्यहाँ पुग्ने, त्यहाँको माटो टेक्ने अवसर भने कहिल्यै जुरेको थिएन।
जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने कर्णालीको बुलबुले ताल, सुर्खेत उपत्यकाको सानो पहाडको थुम्कोमा अवस्थित काँक्रे विहार, ‘स्वर्गकी रानी’ को उपमाले चिनिने रारा ताल, जाजरकोटको सदरमुकाममा अवस्थित ऐतिहासिक महत्व बोकेको जाजरकोट दरबार, कान्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल, एक रुपैयाँको नोटमा अंकित चंखेली हिमाल, जुम्लाको चन्दननाथ बाबाको मन्दिर, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषण गरिरहेको दैलेखको जलजलेलगायतका दर्जनौँ स्थानबारे केही सुनेकी र अध्ययन गरेकी मलाई ती ठाउँमा पुग्ने, भ्रमण गर्ने रहर भने अहिलेसम्म अधुरो–अधुरो बन्दै आएका थिए।
मानव सभ्यता र संस्कृतिसँग जोडिएको कर्णाली प्रदेशसँग कुनै न कुनै हिसाबले जोडिने मेरो चाहनालाई पूरा गर्न मैले म राजदूत नियुक्त भएसँगै केही योजनाहरू पनि बनाएकी थिएँ।
नेपाल र अझ त्यसमा पनि कर्णालीलाई केन्द्रित गरेर कृषि र खानेपानीका आयोजनाहरूमा इजरालयी सरकारसँग मिलेर काम गर्ने योजना अनुसार राजदूत भएर इजरायल जानुअघि नेपालका लागि इजरायली राजदूत बेनी ओमरसहितको टोलीसँग कर्णाली जाने योजना पनि बनाएकी थिएँ। तर, ओहदाको प्रमाणपत्र बुझाउनु पर्ने भएकाले त्यो बेला पनि कर्णाली पुग्ने मेरो चाहना पूरा हुन पाएको थिएन।
काठमाडौं रहँदा मात्रै होइन म राजदूत भएर इजरायल पुग्दा पनि कर्णाली मेरो मानसपटलबाट हट्न सकेको थिएन। त्यसैले म इजरायलमै रहेका बेला सन् २०२० मा इजरायलका तत्कालिन परराष्ट्रमन्त्री गावी आस्केनाजीसँग नेपालमा कर्णालीसँगै सातै प्रदेशलाई केन्द्रित गरेर कृषि अनुसन्धान, कृषक तथा प्राविधिक तालिम र प्रविधि हस्तान्तरणका लागि ‘एग्रिकल्चर सेन्टर अफ एक्सीलेन्स’ स्थापनाका लागि सम्झौता गरेकी थिएँ।
त्यसपछि इजरायलको अन्तर्राष्ट्रिय विकास सहायता एजेन्सी (मसाभ)का प्रमुख गिल हास्केलसहितको टोली समेत नेपाल आएको थियो। त्यतिबेला सुरूवात गरेको त्यो योजना राजनीतिक फेरवदलसँगै अहिलेसम्म पनि लागु हुन सकेको छैन।
२०७८ सालको जनगणना अनुसार १६ लाख ८८ हजार ४ सय १२ जनसंख्या र ३ लाख ६६ हजार २ सय ५५ परिवार रहेको कर्णाली प्रदेशमा त्यो कार्यक्रम लागु गर्न सकिने हो भने रोजगारीसँगै आय–आर्जनमा पनि टेवा पुग्न सक्थ्यो भन्ने मलाई लागिरहेको थियो र अहिले पनि त्यो योजनालाई लागु गर्नुपर्छ भन्ने छ।
यद्यपि, अझै मलाई कर्णाली प्रदेशसम्म पुग्ने अवसर भने मिलेको थिएन। संयोग नै भन्नुपर्छ राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आ–आफ्नो प्रदेशमा गएर प्रदेश अन्र्तरगतका प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँगको समन्वय बैठक तथा अन्तरक्रिया गर्ने राष्ट्रिय सभाको निर्देशन अनुसार सातै प्रदेश मध्ये कर्णाली प्रदेशको सुर्खेतमा पनि उक्त कार्यक्रम गर्ने तय भयो।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीय सांसदहरूसहित २०८२ जेठ ११ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक तथा अन्तरक्रिया कार्यक्रम र २०८२ जेठ १२ गते राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्यहरूसहितको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने तय भयो।
राष्ट्रपतिबाट मनोनीत सांसद भएका हिसावले पनि मेरो दायित्व यहि भूगोलसँग भन्ने नभएकाले मैले उक्त कार्यक्रममा मेरो भावनासँग पनि बढी जोडिएको कर्णाली रोजेँ ।
कर्णालीको उक्त कार्यक्रममा राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माननीय मायाप्रसाद शर्माको नेतृत्वमा मसहित माननीयहरू कृष्णबहादुर रोकाय, सुमित्रा विसी, सावित्री मल्ल, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर वोहोरा, विष्णुबहादुर विश्वकर्मा जाने तयारी भयो।
हाम्रो टोलीमा उपसचिव सञ्जय दाहाल, नासु, प्रविणकुमार राय र कार्यालय सहयोगी पूर्णसिंह गुरुङ पनि हुनुहुन्थ्यो।
माननीयहरू कृष्ण रोकाय र सुमित्रा विसी बाहेक हामी बाँकी बुद्ध एयरको जहाजबाट जेठ १० गते करीब दिउँसोको पाँच बजेतिर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज हुँदै सुर्खेतको यात्राका लागि तयार भयौँ। जहाजले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग छाडेर पश्चिम दिशा समात्दै गर्दा मेरो मनमा पनि पूरै कर्णाली नघुमे पनि सुर्खेत, दैलेखलगायत पुगेर भित्री कर्णालीको अवस्था बुझ्ने र त्यहीँको आँखिझ्यालबाट कर्णाली चियाउने रहर जहाजसँगसँगै माथिमाथि उडिरहेको थियो।
मौसमको फेरवदलसँगै जहाज नउड्ने हो कि? उडे पनि समयमा नपुग्लाकी भन्ने जस्ता कुराहरु मनमा खेलिरहेका थिए। जब बुद्ध एयरले नेपालगञ्जको जमिन टेक्यो म पनि अब कर्णाली पुग्ने मेरो रहर पूरा हुने भयो भनेर आशावादी भएँ।
नेपालगञ्जसम्म पहिला पनि पुगेकी थिएँ तर कर्णालीको यात्रा भने मेरा लागि पहिलो थियो। त्यसकारण पनि म उत्साहित थिएँ।
नेपालगञ्ज पुगेपछि सावित्री माननीयले यहाँ आएका बेला आमासँग भेटघाट गर्ने र साँझको खाना पनि त्यही खाने अनि आरामले सुर्खेत लाग्ने भनेपछि उहाँको आग्रहलाई स्वीकार गर्यौं।
माननीय सावित्रीकी आमा लक्ष्मीदेवी शाही औधी खुसी हुनुभयो। आमा लक्ष्मीदेवीको न्यानो आथित्यतालाई स्वीकार गर्दै आमाले पकाउनु भएको मिठो खानाको स्वाद लिइयो।
नेपालगञ्ज झरेपछि सुर्खेत पुग्नु अघि १२ दशमलब २ किलोमिटर लामो सुरुङ्गमार्फत भेरी नदीबाट ४० घनमिटर प्रति सेकेण्ड पानी बबई नदीमा खसाली बर्दिया र बाँके जिल्लाका करीव ५१,००० हेक्टर भुमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६ दशमलब ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्ने रहर थियो। तर, समय अभावका कारण त्यो भने यो पटकलाई संभव भएन।
हामी गोधूलि साँझ पनि घर्किसकेपछि नेपालगञ्जबाट गाडीको यात्रामा सुर्खेततिर उकालो लाग्यौँ। नेपालगञ्जको प्रचण्ड गर्मीलाई तलतल पार्दै हामी जति–जति उकालो लाग्थ्यौँ त्यतित्यति त्यहाँका प्राकृतिक सौन्दर्यका दृष्यहरूले गोधूलि घर्किंदा पनि लोभ्याउँथे।
करिब तीन घण्टाको यात्रापछि हामी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्यौँ। त्यहाँ पनि हामीलाई न्यानो आथित्यतासहित स्वागत गरियो। काठमाडौंदेखिको लामो यात्राका कारण शरीर केही थाकेको थियो भने रात हुर्किसकेको थियो। भोलिपल्ट कार्यक्रमको तयारी पनि भएकाले सुर्खेत पुगेको पहिलो दिन घुमफिरको अवसर मिलेन।
भोलिपल्ट बिहानै कार्यक्रम स्थल नजिकै रहेको चर्चित काँक्रे बिहारको अवलोकन भ्रमणका लागि माननीयहरू सावित्री मल्ल, दुर्गा गुरुङसहित निस्क्यिौँ। हामीलाई सुर्खेतका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणका लागि रत्न न्यौपानेले पनि निकै सहयोग गर्नुभयो।
सुर्खेत पुगेको दोस्रो दिन सबैभन्दा पहिला सुर्खेतकै उच्च भागमा शान्त वातावरणमा रहेको काँक्रे बिहार पुगियो। त्यहाँ पुग्दा मलाई अलौकिक आनन्दको अनुभूति भयो।
बडेमानका ढुङ्गामा कुदिएका कलाआकृति अनि विभिन्न बुट्टाहरू देखेपछि यस्तो थुम्कोमा यी ढुङ्गाहरु कहाँदेखि ल्याइयो होला? कति धेरै मेहनत खर्च भयो होला ? कसरी यी ढुङ्गामा कलाआकृति कोरियो होला ? भनेर म केहीबेर शान्त बने।
बिहानको झुक्लेघाँमसँगै काँक्रे विहारको अवलोकन भ्रमण गर्दा मनमा पनि एक प्रकारको ऊर्जा पैदा भएको अनुभूति भैरहेको थियो। काँक्रे बिहार अवलोकन गर्दै गर्दा मनमा कर्णालीको गरिबी, अभाव, भोकमरीका कथा मात्रै सुनाउने होइन कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल, जङ्गल, जडीबुटी अनि अथाह पानी र खानीका संभावनाको प्रचार गर्ने हो भने ‘उज्यालो कर्णाली’ टेक्न, अनुभव गर्न, हेर्न घुम्न लाखौँ पर्यटकलाई एकै पटक यहाँ ल्याउन सकिन्छ भन्ने लाग्यो। काँक्रे बिहार पुगेपछि कर्णालीका यस्ता सुन्दर, शान्त र रमणीय धार्मिक पर्यटकीय स्थलमा एशिया प्यासिपिक क्षेत्रलगायत युरोपेली पर्यटकलाई उपयुक्त गन्तव्य बनाउन सकिन्छ भन्ने पनि लाग्यो।
१२ औं, १३ औँ शताब्दीतिर निर्माण भएको अनुमान गरिएको त्यो बिहार काँक्राको बीउजस्तो आकारको भएकाले काँक्रे बिहार नाम रहन गएको रहेछ। विहारमा पुग्दा एक जना नेपाली महिला ध्यानमा लीन भएको देखेँ। शान्त वातावरणमा उहाँ त्यसरी लीन भएको देख्दा ध्यानमा आस्था राख्ने मलाई पनि आहा! भन्ने भयो। यहाँ ध्यानकेन्द्र बनाउने हो भने पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ भन्ने लाग्यो।
ऐतिहासिक दस्तावेज अनुसार काँक्रे बिहार सिन्जा राज्य (वर्तमान जुम्ला क्षेत्र) का राजा अशोक चालियाको शासनकालमा लगभग सन् १२६८ मा निर्माण भएको रहेछ । राजा अशोक चालियाले सन् १२५५–१२७८ सम्म सिन्जा राज्यमा शासन गरेका रहेछन्।
राजा अशोक महायान बुद्धिजमका अनुयायी भएको र यो विहार उनको भगवान बुद्धप्रति आस्थाको प्रतीक हो भन्ने पनि रहेछ।
काँक्रे बिहार अवलोकनकै क्रममा केही स्थानीयसँग पनि भेट भयो। उहाँहरूको भनाइ अनुसार त्यहाँ राख्नका लागि भनेर बनाएको बुद्धको ठूलो प्रतिमालाई जन्जिरले बाँधेर सुरक्षा निकायले आफ्नो परिसरमा राखेको रहेछ। यदि उहाँहरूको भनाइ अनुसार भगवान बुद्धको प्रतिमालाई जञ्जिरले बाँधेर राखिएको सत्य हो भने काँक्रे बिहारमा ल्याएर राख्न स्थानीय र प्रशासन दुबैबाट सकारात्मक पहल हुनुपर्छ भन्ने लाग्यो।
म्यान्मार, थाइल्याण्ड, कोरिया जस्ता देशको भ्रमण गर्दा त्यहाँ पनि ठूला–ठूला बुद्धका प्रतिमाहरू राखेर पर्यटकलाई आकर्षित गरेको देखेकी मलाई त्यहाँ पनि गौतमबुद्धको विशाल प्रतिमा राखेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने लाग्यो।
त्यही दिन बिहान काँक्रेविहारसँगै देउतीबज्यै मन्दिरको पनि अवलोकन भ्रमणको अवसर मिल्यो। देउती बज्यै भन्ने वित्तिकै मलाई अनौठो लाग्यो।
मन्दिरै मन्दिरको जिल्लाको परिचय बनाएको काठमाडौंकी बासिन्दा मैले धेरै पटक ‘भगती माता’ भनेर सुने पनि ‘देउती बज्यै’ भनेर कर्णाली पुगेपछि पहिलो पटक सुनेकी थिएँ। देउती माताकी पनि माता भएर देउती बज्यै भएको होला भन्ने लाग्यो। नभन्दै मैले कर्णालीकै माननीय र स्थानीयसँग पनि जिज्ञासा राखेँ। उहाँहरूका अनुसार देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गर्ने पुरानो राजी जातिसँग जोडिएको भन्ने भनाइ रहेछ। देउती बज्यैको मन्दिर पुगेपछि मलाई लाग्यो। धार्मिक र पर्यटकीय स्थलका रूपमा चर्चित यो मन्दिरमा विदेशीहरूलाई ‘हजुरआमा देउता’ भनेर दर्शनका लागि आकर्षित गर्न सकिन्छ।
वीरेन्द्रनगर उपत्यका भित्रै २०–३० मिनेटको फरकमा रहेका यी स्थानहरुको अवलोकन भ्रमण गर्दा र काठमाडौंको भीडभाडबाट असामीप्य रहेका यी सुन्दर प्रकृतिसँग साइनो गाँस्न पाउँदा थप रमाइलो अनुभूति भयो।
गायन मेरो रूचिको क्षेत्र पनि हो। अझ सम्पदा संस्कृतिसँग जोडिएका शब्दहरुले मलाई बढी तान्छ। मैले ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’, ‘सुर्खेत बुलबुल ताल, माया मै सानी हुनाले छुट्यो मायाजाल’ जस्ता बुलबुले तालसँग जोडिएका केही गीत सुनेकी थिएँ। साँच्चिकै ती गीतसँग जोडिएको कर्णालीकै प्रख्यात मानिने बुलबुले ताल पुग्दा म थप उत्साहित भएँ।
२०२९ सालभन्दा अघिसम्म पनि यो ताल त्यहाँका केही क्षेत्रको सिंचाइका लागि प्रख्यात रहेछ। स्थानीयहरूका अनुसार २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको रहेछ। संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै जान थालेको रहेछ।
बुलबुले तालमा मोटर वोटमा पानीका छालहरूसँगै आनन्दसँग तैरिदैँ गर्दा लबालब पानीसहितका काठमाडौंका कमल पोखरी र रानीपोखरीहरू मेरो मानसपटलमा नाचिरहेका थिए।
केही वर्ष अघि मात्रै पुननिर्माण भएका हाम्रा अमूल्य निधि ती पोखरीहरूमा राजहाँस तैरिरहेका, माछाहरूलाई पर्यटकले आहारा खुवाइरहेका अनि सेल्फी खिच्दै रमाइलो गरिरहेका दृष्यहरू बेजोडसँग नाचिरहेका थिए। बुलबुले तालमा मोटर वोटमा तैरिँदै गर्दा कतै हामीले हाम्रा ठाउँका निधिहरू उपयोग त गर्न सकिरहेका छैनौँ? भन्ने प्रश्न पनि मनमा मोटर वोट बेजोडसँग हुँइकिदा परपरसम्म पुगेका पानीका छालहरु जसरी नै तरङ्गित भैरहेका थिए।
जमीन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क अनि तालमा मोटरबोट चढ्दा मलाई कर्णालीको सुगन्धले मोहित बनाइरहेको थियो।
त्यहाँको हरियाली अनि मनोरम दृष्यहरुको दृष्यावलोकन गर्दै पैदल यात्रा पुग्दा चर्चित बुलबुले तालको संरक्षणमा भने स्थानीय र प्रदेश सरकारको ध्यान अझै पुग्न नसकेको हो कि भन्ने अनुभूति भयो।
त्यति धेरै चर्चित बुलबुले ताल केही फोहोर देखिन्थ्यो भने भित्ताहरू पनि भग्नावशेष जस्ता देखिन्थे। धारा र पार्कहरूमा पनि फोहोर देखिन्थ्यो। आन्तरिक र बाह्य पर्यटकहरुको समेत मुख्य रोजाइमा परेको यो तालको थप संरक्षण गर्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने लाग्यो।
फुर्सदको समयको सदुपयोग गर्दै केही ठाउँको अवलोकन भ्रमणपछि कार्यक्रम स्थलमा पुगियो। २०८१ जेठ ११ गते राष्ट्रिय सभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षहरूबीचको समन्वय बैठकको तालिका थियो।
विकट कर्णालीबाट पनि कार्यक्रममा सहभागी हुन आएका अधिकांश जनप्रतिनिधिहरूसँगको छलफलमा सहभागी हुँदा र उहाँहरुका कुरा सुन्दा मलाई थप कर्णालीका कथा बुझ्ने अवसर प्राप्त भएको अनुभूति भयो।
जनप्रतिनिधि भएपछि जनताका लागि काम गर्नुपर्छ भन्ने उहाँहरूको हुटहुटीले म प्रभावित भएँ। जनताका लागि काम गर्दा बेरूजु देखिने, प्रमुख प्रशासकीय अधिकृतहरू बढी सदरमुकाम केन्द्रित हुने, जनताले सानातिना कामका लागि पनि ३–४ दिनसम्म होटलमा बस्नुपर्ने अबस्था रहेको, बैठकका लागि भनेर सुर्खेतसम्म आउँदा हजारौँ खर्च हुने जस्ता दजनौँ पीडा उहाँहरूले सुनाउनुभयो। हामीले उहाँहरूका सबै गुनासा र सुझावलाई संकलन गरेका छौँ।
हुम्लाका जनप्रतिनिधिले कार्यक्रमा भनेको एउटा कुरा भने अहिले पनि मेरो मानसपटलमा गुञ्जिरहेको छ। उहाँले निकै भाबुक हुँदै एउटा कार्यक्रममा हुम्लादेखि सुर्खेतसम्म आएर फर्किँदा ५० हजार भन्दा बढी खर्च हुने भन्दै कार्यक्रम परिणामुखी भएनन् भने खर्च मात्रै हुने भएकाले परिणामुखी कार्यक्रम गर्न सुझाव दिनुभएको थियो।

उहाँको त्यो सुझाव उहाँ एक्लैको मात्रै नभएर दुर्गम कर्णालीका जनप्रतिनिधिको साझा सुझाव हो भन्ने लाग्यो। मलाई उहाँका ती सुझाव ‘जहाँ बढी पीडा हुन्छ त्यहाँ परिपक्क आवाज आउँछ’ भन्ने एउटा प्रतिनिधि भनाइ हो भन्ने पनि लाग्यो। कर्णालीका यस्ता परिपक्क आवाज सिंहदरबारले सुन्यो भने समृद्धिका लागि त्यो कोशेढुंगा हुन्छ भन्ने लाग्यो।
सबै माननीयहरू कर्णालीकै भएको र म चाहिँ काठमाडौंबासी भएकाले पनि मलाई त्यहाँ मेरो केही अनुभव सेयर गर्ने र उहाँहरूका अनुभव सुन्ने अवसर मिल्यो। उहाँहरूले काठमाडौंदेखि माननीय आएर कर्णालीका कथा सुन्नुभयो उहाँका अनुभव सुनाउनुभयो भन्दै खुसी व्यक्त गर्दा मलाई कर्णाली रोजेर ठिक गरेछु भन्ने लाग्यो।
पहिलो दिनको कार्यक्रम सकेपछि माननीय मायाप्रसादको नेतृत्वमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमाता विके, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, अनेम संघकी दिदी शान्ता खड्कासहित हामी साँझ घण्टाघर, शहीद पार्कलगायतका स्थानहरुको अवलोकन भ्रमणमा निस्कियौँ।
शहीद पार्क प्रदेश संरचनापछि बनेको पार्क रहेछ। त्यो पार्कको अवलोकन भ्रमणपछि मलाई प्रदेशको उपादेयता छैन भन्ने भाष्य निर्माण गर्ने प्रयास भैरहेका बेला यस्ता संरचनाहरु प्रदेश संरचना बनेपछिका उपलब्धि हुन भन्ने लाग्यो। प्रदेश र स्थानीय तहमा बनेका यस्ता संरचनाले एकतिर रोजगारीको अवसर सिर्जना गरेको र अर्कोतर्फ पर्यटकीय हिसावले पनि उत्तम संरचना हुन भन्ने लाग्यो।
त्यो साँझ माननीय मायाप्रसादले समीक्षा बैठक राख्नुभयो। हामीले पहिलो दिनको समीक्षा गर्दै भोलिपल्टको कार्यक्रमलाई थप व्यवस्थित बनाउनेबारे पनि छलफल गर्यौं। बिहानदेखिको दौडधूपले होला शरीर धेरै थाकेको थियो। बेलुकाको खाना खाएपछि मस्तसँग निदाइएछ।
हामीले भोलिपल्ट अर्थात २०८१ जेठ १२ गते कर्णाली प्रदेशका सांसदहरू, मुख्यमन्त्री मन्त्री र पूर्वमुख्यमन्त्रीहरूसँग छलफल तथा अन्तरक्रिया गर्यौं।
त्यहाँ मुख्य गरेर विधायकी अन्तर सम्बन्ध र संघीयता कार्यान्वय, वित्तीय संघीयताका विविध पक्ष, सार्वजनिक सेवा र विकास वित्तीय व्यवस्थापनलगायतसँग बढी केन्द्रित भएर छलफल भयो।
कार्यक्रममा मुख्यमन्त्री यमलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, मन्त्री, सांसदहरुलगायतको उपस्थितिले पनि कार्यक्रम थप गहकिलो भयो भन्ने अनुभूति भयो । उहाँहरूबाट पनि सुझाव संकलन गर्ने काम भयो ।
भोलिपल्ट पनि मैले आफू राजदूत हुँदादेखि नै कर्णालीको मायालाई मनमा राखेको भन्दै यो पटक कर्णालीको माटो टेख्न र देख्न पाउँदा खुशी लागेको अनुभव सुनाएँ। उहाँहरूले खुसी व्यक्त गर्नुभयो।
सुर्खेत बसाइकै सिलसिलामा माननीय सुमित्रा विसीले यहाँ आएका बेला आफ्नो घर देखाउने र आफन्तहरूसँग पनि भेटघाट गराउने भन्नुभयो। उहाँको त्यो आग्रहलाई हामीले खुसी साथ स्वीकार गर्दै उहाँको घरसम्म पुग्यौँ। माननीय सुमित्राकी ९५ वर्षीया फूपु भगवती खत्री विरामी अवस्थामा हुनुहुँदो रहेछ। हामी पुग्दा उहाँ पनि खुसी हुनुभयो । माननीय सुमित्राकी अर्की फूपु ८४ वर्षीया रामकुमारी खड्कासँग पनि भेट भयो।
भूमिगत कालमा कम्युनिष्ट नेताहरूलाई सेल्टर दिने सेल्टरदाता ८४ वर्षीय शम्भु दयालु पन्तसँग पनि भेट भयो। यसरी भेटघाट गर्दा कर्णालीको लबज मात्रै होइन मलाई त्यहाँका मानिसको सरल व्यवहार र जीवनशैलीले अझै बढी तान्यो।
भोलिपल्ट हामी सावित्री माननीयले उपहार दिनुभएको दैलेख घुम्ने ठाउँसहितको पर्यटकीय स्थलको नक्शा बोकेर उहाँसहित माननीयहरू मायाप्रसाद, सुमित्रा, विष्णु, कर्मचारी र म दैलेखतिर लाग्यौँ। करिब तीन घण्टाको यात्रामा सुर्खेतबाट दैलेखतिर लाग्दै गर्दा मलाई त्यहाँका डाडाँपाखाले लोभ्याइरहेका थिए।
घरी काफलका रूखहरू नियाल्दै त घरी बाटामा लटरम्म फलेका आरुबखडा बोटबाट पिपेर खाँदै यात्रा गर्दा मलाई काठमाडौं नजिकैका चम्पादेवी, चन्द्रागिरी, फूल्चोकी, शिवपुरी, जामाचो, साँखु, तेलकोट, नगरकोट, नमोबुद्ध, बल्थलीका डाँडाहरुको यात्रामा रमाइरहेको जस्तो अनुभूति भैरहेको थियो। बाटाभरी फलेका आरु र मौसम अनुसारका फलफूलको बजारीकरण गर्ने हो भने आयवृद्धिमा टेवा पुग्ने थियो भन्ने मलाई लाग्यो।
हामी करीब तीन घण्टाको यात्रापछि दैलेख पुग्दा दैलेखको सदरमुकाममा अवस्थित नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही अनेम संघको जिल्ला अध्यक्ष समेत रहनु भएकी नारायण नगरपालिकाकी उपप्रमुख तप्ता थापा, अनेम संघ दैलेखकी सचिव सीता शाहीसहित जनप्रतिनिधि र अनेम संघका साथीहरुले गरेको सत्कारले उत्साहित बनायो।
हामी त्यो दिन नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापासहित दैलेखको मध्यपहाडी राजमार्गसँगै जोडिएको भैरवी गाउँपालिका–१ जलजलेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको अवलोकन भ्रमणमा पनि पुग्यौँ।
त्यहाँ भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभयो। दैलेखमा जेष्ठ नागरिकहरुसँग पनि भेटको अवसर मिल्यो।
मलाई त्यहाँ पुग्दा नेकपा (एमाले) ले गत वर्ष मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा तत्कालिन पार्टी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरु समेत मध्ये पहाडी लोकमार्गकै छेउमा रहेको यहाँ आएर अवलोकन गर्नुभएको बेलाको याद ताजा बन्यो।

उपप्रमुख थापाले दैलेखमा शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका चर्चित धार्मिक क्षेत्रहरु रहेको भन्दै समय भए ती ठाउँको पनि अवलोकन भ्रमण गर्न पाए हुने भन्ने जिज्ञासा राख्नुभयो। ती स्थानहरूमा अहिले पनि अखण्ड दीपहरु बल्ने भएकाले स्थानीयहरूले दैवी शक्तिको चमत्कार मान्ने र पुज्ने चलन रहेछ। यद्यपि, ती दीपहरू कुनै दैवी चमत्कार नभएर प्राकृतिक ग्यास रहेको पुष्टिसँगै पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको अवलोकन अन्तिम चरणमा पुगेको छ।
दैलेख बसाइँका क्रममा हामीले शिरस्थानको चाहिँ अवलोकन भ्रमण गर्यौ।
उपप्रमुख थापा दैलेखका केही स्थानको भ्रमणमा हामीसँगै हिँड्नुभयो। उहाँको उत्साह देखेर हामी पनि उत्साहित भयौँ। अवलोकन भ्रमणपछि उपप्रमुख थापाको आग्रहसँगै माननीय सुमित्रा विसी र म त्यो रात उहाँकै घरमा बास बस्यौँ। उहाँको परिवार र आफन्तसँग गफगाफ गरियो। त्यहाँको पालिकामा जनप्रतिनिधिले गरेका काम अनि योजनाहरुका बारेमा धेरै कुराकानीहरु भए। अहिले नेता र जनप्रतिनिधिमा जिल्ला पुग्दा सहरमा होटल खोजेर बस्ने चलन छ। तर, जनताको मन र भावना बुझ्ने हो भने नेता वा जनप्रतिनिधिले होटल होइन जनताको घरमा बास बस्नुपर्छ वोध मलाई दैलेखमा उपप्रमुख थापाको निवासको बसाइबाट प्राप्त भयो।
तेस्रो दिन हाम्रो टोली कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ कि.मि.को दुरीमा रहेको गुँरास गाउँपालिका पुग्यो। व्यावसायिक आलु तथा तरकारी उत्पादनसँगै गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका कारण पर्यटकलाई लोभ्याउने गुँरास गाउँपालिकाको अपाङ्गमैत्री र चिरिच्याट्ट परेका भवनहरुले थप मोहित बनायो।
गाउँपालिकाका अध्यक्ष टोपबहादुर जिसी र उहाँको टीमको न्यानो स्वागतलाई ग्रहण गर्दै हामीले त्यहाँ केही घण्टा वितायौँ। पालिका परिसरमा पालिका झल्किने भू–बनोट, पुस्तकालयको व्यवस्था, स्तनपान कक्ष, वातावरण र महिलामैत्री पालिका देख्दा मलाई जनप्रतिनिधिको इच्छा शक्ति हुने हो भने ७ सय ५३ वटै पालिकालाई यस्तै सुन्दर र नमूनायोग्य बनाउन सकिन्छ भन्ने लाग्यो।
त्यो दिन हामी दैलेखबाट सुर्खेत फर्कियौँ। सुर्खेतको कोसेली घर छिरेर त्यहाँका केही उत्पादित वस्तुहरू खरिद गरियो।

कर्णालीका दुई जिल्लाका केही ठाउँ घुम्दा मलाई मनमनै कर्णालीसँग जोडेर उपेक्षा र बहिष्करणको सुस्केरा हाल्ने मात्रै होइन यहाँको भाषा, साहित्य, संस्कृतिक अनि धार्मिक तथा पर्यटकीय स्थल, जङ्गल, जडीबुटी पानी र खानीका अथाह संभावनाका कथाहरु पनि कोरिनुपर्छ भन्ने लाग्यो।
कर्णालीका २५ नगरपालिका र ५४ गाउँपालिका अर्थात ७९ पालिका अनि ७ सय १८ वटै वडामा पुग्न नसके पनि यो पटक सुर्खेत र दैलेख जिल्ला र ती जिल्लाका केही पालिकाको माटो टेकेर त्यहि माटोबाट अर्थात त्यहाँको आँखिझ्यालबाट कर्णाली चियाउने रहर पूरा गरेँ।
अर्को पटक फेरि कर्णालीका रूकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोटसम्म पुग्ने र ती जिल्लाका पालिका टेक्ने, नयाँ अनुभव बटुल्ने धोको मनभरी सम्हाल्दै अन्तिममा कर्णालीको चिनो स्वरुप सुर्खेतको कोशेली घरबाट केही कोशेलीहरु किनेर जहाजबाट सुन्दर कर्णालीका केही भागहरु नियाल्दै काठमाडौँ फर्किएँ।
काठमाडौं फकिँदै गर्दा पनि मेरो मनमा कर्णालीका आवाजहरु गुञ्जिरहेका थिए भने उत्तरमा तिब्बत, पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम र दक्षिणमा लुम्बिनी प्रदेशसँग जोडिएको कर्णालीका सुन्दर डाँडा–पाखाहरुले फेरि फर्केर आउनु है भन्दै निम्तो दिइरहेको जस्तो अनुभूति भैरहेको थियो।
सुर्खेतबाट काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिंदै गर्दा मात्रै होइन यो स्मरण कोर्दै गर्दा पनि कर्णालीसँग भावना मात्रै जोडिएकी म यो पटक कर्णालीको माटो टेकेर, त्यहाँको जीवन देखेर अनि केही अनुभव बटुलेर फर्किएकी छु।
त्यसैले संसदमा कर्णालीबारे मलाई बोल्न त्यहाँको स्थलगत अनुभवले थप बलियो बनाएको छ भन्ने अनुभूति भैरहेको छ। कर्णालीका आवाजबारे त्यहाँका जनप्रतिनिधिसँगै अब म पनि बोल्छु र बोलिरहेको छु।
