काठमाडौंको वसन्तपुर दरबार क्षेत्र।
साँझको अँध्यारो पसारिँदै जाँदा मन्दिरमा दियोको उज्यालो टल्किन थाल्छ। तिहारको झिलिमिली र फूलको सुगन्धबीच पानको मीठो बास्ना फैलिन्छ।
वसन्तपुरको यही मन्दिरको सिँढीमा वर्षौंदेखि दोहोरिँदै आएको एउटा दृश्य आज पनि उस्तै छ।
सर्लाहीका वीरकुमार साह हरेक वर्ष तिहारका पाँच दिन यही ठाउँमा पान बेच्न आउँछन्। यो काम उनी ३७ वर्षदेखि निरन्तर गरिरहेका छन्।
'अरू बेला म कबाड व्यापार गर्छु,' वीरकुमारले मुस्कुराउँदै भने, 'तिहारका पाँच दिन भने म यहाँ पान बेच्न आउँछु। यो मेरो तिहारको कर्म हो।'
वीरकुमार सर्लाहीका बासिन्दा हुन्। उनका छोरा श्रीकृष्ण साह सर्लाहीमै पान व्यापार गर्छन्। तिहार बेला उनी पनि काठमाडौं आउँछन् र बाबुछोरा वसन्तपुरको सिँढीमा बसेर सँगसँगै पान बेच्छन्।
पाँच दिन बस्दा करिब १५ हजार रूपैयाँसम्म कमाइ हुने वीरकुमार बताउँछन्।
'पैसाभन्दा ठूलो कुरा मलाई काठमाडौंमा हुने तिहारको रमाइलोले तान्छ,' उनले भने, 'हरेक वर्ष उनै ग्राहक आउँछन्, पुराना ग्राहकसँग भेट्दा मलाई खुसी लाग्छ।'
'यो क्षण मेरो निम्ति तिहारको बोनस जस्तै हो,' उनले भने।
वसन्तपुरबाट हिँड्ने जो–कोही वीरकुमारको पान पसलमा एकछिन रोकिन्छन्। उनका एक पुराना ग्राहकले भने, 'दाइको पानको स्वाद फरक छ, मनमै बस्ने! म त हरेक वर्ष भाइटीकाका लागि वीरकुमार दाइकै पसलबाट पान किन्छु। अरू ठाउँको चित्तै बुझ्दैन।'
तिहारको भीडभाड, बत्तीको झिलिमिली र पानको सुगन्ध एकसाथ मिसिँदा वसन्तपुरको यो ठाउँ आफैमा 'पोस्टकार्ड' जस्तो लाग्छ।
र, यो पोस्टकार्डको केन्द्रमा हुन्छन् वीरकुमार र उनका छोरा श्रीकृष्ण।
तिहारमा पान र सुपारीलाई पवित्र र मंगलको प्रतीक मानिन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र सुखको कामना गर्दै पान र सुपारी दिने परम्परा छ। पान खानु स्वास्थ्य दृष्टिले पनि लाभदायक मानिन्छ। यसले पाचन प्रणाली सुधार गर्नुका साथै मुखको गन्ध हटाउँछ र शरीर तातो राख्छ।
त्यसैले होला, तिहारमा काठमाडौंका गल्ली–गल्लीमा पानको सुगन्धको लहर फैलिएको हुन्छ।
त्यही लहरमा आफ्नो पनि पानको बास्ना छर्न यी बाबुछोरा तिहारझैं हरेक वर्ष वसन्तपुर दरबार क्षेत्रमा आउँछन्।
र, पान सँगसँगै खुसी र सुगन्ध बाँड्छन्।
***
-1761194878.jpg)
-1761194879.jpg)
-1761194879.jpg)
-1761194879.jpg)
-1761194878.jpg)
-1761194878.jpg)
-1761194878.jpg)
-1761194878.jpg)
-1761194877.jpg)
-1761194877.jpg)
-1761194877.jpg)
-1761194877.jpg)
-1761194876.jpg)
-1761194876.jpg)
-1761194876.jpg)